एमसिसीविरुद्ध नियोजित रुपमा भ्रम फैलाउने काम भयोः प्रवक्ता डा. महत



काठमाडौं । नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसिसी)का विषयमा भ्रम सिर्जना गर्ने कोसिस भइरहेको बताएका छन् ।

शारदानगर जेसिजको २२औंँ पदस्थापन तथा पदग्रहण एवं सम्मान कार्यक्रमलाई शनिबार साँझ सम्बोधन गर्दै उनले एमसिसीका बारेमा प्रायोजितरूपमा फैलाइएको भ्रम चिर्न आवश्यक भएको बताए ।

एमसिसी अनुदान सहयोग नेपालमा आएको अहिलेसम्मकै ठूलो सहयोग रहेको जनाउँदै उनले काम गर्दा नेपालले आफ्नै हिसाबले गर्न पाउने बताए ।

एमसिसी नेपालले नै माग गरेको आयोजना भएकाले यो नेपालको हितमा रहेको पनि उनले बताए । उनले विगतका सरकारहरुले पनि यस परियोजनाको सहमति तथा सम्झौताका विभिन्न चरणमा निरन्तरता दिँदै आएका प्रसंग उल्लेख अहिले आएर उनीहरुले नै त्यसलाई गिजोल्ने काम गरेको बताए ।

उनले नेपालले भारत, चीन र अमेरिकासँग सन्तुलित विदेश नीति कायम गरेर एउटै मापदण्डअनुसार सम्बन्ध कायम गर्ने बताए ।

फरक प्रसङ्गमा उनले कांग्रेससँग बहुमत नभएकै कारण देशले विकास पाउन नसकेको जनाउँदै आगामी स्थानीय, प्रदेश र सङ्घीय निर्वाचनमा कांग्रेसलाई बहुमत दिलाउन आग्रह समेत गरे ।


क्लिकमान्डु