कांग्रेसले सभामुखमाथि महाभियोग लगाए हामी साथ दिन्छौं, एमसीसी पास हुनुपर्छः टोपबहादुर रायमाझी



काठमाडौं, २० माघ । प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) का सचिव तथा पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझीले नेपाली कांग्रेसले सभामुख अग्निप्रसाद सापकोटामाथि महाभियोगको प्रस्ताव ल्याए आफूहरुले साथ दिने स्पष्ट पारेका छन् ।

बिहीबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै नेता रायमाझीले आफूहरु सभामुख हटाउनुपर्ने पक्षमा रहेको पनि खुलाए । उनले भने, ‘यदि कांग्रेसले सभामुखमाथि महाभियोग लगायो भने हामी साथ दिन्छौं । उहाँ विधिसम्मत् रुपमा चल्नुभएन ।’

यद्यपि आफूहरुले नै अग्रसर भएर सभामुखमाथि महाभियोग लगाउनेबारे भने नसोचेको उनको स्पष्टोक्ति थियो ।

‘हामीले सभामुखमाथि महाभियोग लगाउनेबारे सोचेका छैनौं । सरकारसँग बहुमत छ । एमसीसी फेल वा पास गर्न पनि उहाँहरुसँग बहुमत छ । सभामुखमाथि महाभियोग लगाउन पनि हामीसँग बहुमत छैन् । तर, सभामुखलाई हटाउँदा राम्रो हुन्छ । कांग्रेसले महाभियोगको प्रस्ताव ल्यायो भने हामी साथ दिन्छौं,’ उनले भने ।

रायमाझीले आगामी निर्वाचनमा आफ्नो पार्टीले कसैसँगपनि गठबन्धन नगर्ने स्पष्ट पारेका छन् ।

‘एमाले आफ्ना एजेण्डा लिएर जनताको बीचमा जान्छ । त्यसकारण एमालेलाई तत्काल कुनै पार्टीको साथ र सहारा चाहिँदैन् । नेपाली जनताको समर्थन र सहारा चाहिएको छ । जनताको माहोल अहिले एमालेतिर छ । एमाले ईतिहासमा चाहे त्यो राजाविरोधी आन्दोलन होस वा पञ्चायतविरोधी, बुहदल ल्याउन होस वा गणतन्त्र ल्याउन निर्णायक भूमिका खेलेको पार्टी हो,’ उनले भने ।

उनले एमालेलाई पत्तासाफ गर्छु भनेर प्रचण्डले भनेको हो भने पहिले चुनाव गराउन सुझाव दिए ।

‘यदि प्रचण्डले एमालेलाई चुनावमा पत्तासाफ गर्छु भनेको हो भने पहिले चुनाव गराएर हेर्नुहोस्, अनि को हुन्छ पत्तासाफ ? प्रचण्डको कुरा हावादारी कुरा हो । २०७४ सालको चुनावमा एमालेसँग नमिलेको भए माओवादीको हालत के हुन्थ्यो ? प्रचण्ड उकालो लाग्ने भए उहाँले किन गठबन्धनतिर लाग्नुपर्दथ्यो र ?,’ उनले भने ।

उनले आफूहरुले पाँच दलीय गठबन्धन तोड्न नखोजेको पनि स्पष्ट पारे ।

‘हामीले पाँच दलीय गठबन्धन तोड्नुपर्छ भनेको छैन् । हामीलाई चाहिएको छ–चुनाव । हामी चुनाव चाहन्छौं,’ उनले भने ।

उनले एमसीसीको सवालमा पहिले सरकार तात्नुपर्ने बताए ।

‘पहिले तावा तात्नुपर्छ, अनि रोटी पाक्छ, बिँड तात्यो भने हात पोल्छ । एमसीसीबारे पहिले सरकारले आफ्नो धारणा ल्याओस,’ उनले भने ।
रायमाझीले नेपालमा जतिसक्दो छिटो ट्रान्समिसन लाईन आवश्यक रहेको सुनाए ।

‘नेपालमा हाईड्रोपावरको प्रोजेक्ट दिनप्रतिदिन सम्पन्न हुँदैछन् । अब चाहिनेभन्दा बढि उर्जा आउँदैछ । निर्यात गर्नुपर्छ भनेका छौं । भारत, पाकिस्तान, बंगलादेशसँग बजार खोज्ने हो । यसका लागि ट्रान्समिसन लाईन चाहिन्छ । यो बनाएनौं भने नेपालमा उत्पादित विजुली खपत हुँदैन् । यो लस हुन्छ । ट्रान्समिसन लाइन छिटो बन्नुपर्छ । एमसीसी सहमति गरेर पास गराउनुपर्छ,’ उनले भने ।


क्लिकमान्डु