१० हजार लगानीमा शुरु भएको एभरेष्ट फेसनः १२ वर्षदेखि नेपालकै ‘नम्बर वान’ निर्यात कम्पनी
काठमाडौं । खुमलटारस्थित एभरेष्ट फेसनको कार्यलयको एक तला उक्लिँदै पुरस्कारले भरिएको दराजमा आँखा पर्यो । पुरस्कार र अवार्ड यति धेरै रहेछन्, एक ठूलो पसल जस्तो लाग्छ ।
यी पुरस्कार र सम्मान पाउन एभरेष्ट फेसनका प्रमुख कार्यकारी अधिकृत महेश्वर श्रेष्ठलाई २७ वर्षको मेहनत लागेको छ ।
बिहान ११ बजे एभरेष्ट फेसनको कार्यालयमा पुग्दा श्रेष्ठ काममा व्यस्त थिए । अर्डर आइरहेको थियो । ग्राहकहरूसँग कुराकानी गर्न भ्याइनभ्याइ थियो ।
यही व्यस्तताले श्रेष्ठलाई हस्तकला क्षेत्रमा ‘नम्बर वान’ व्यवसायी बनाएको छ । सन् २००९ देखि अहिलेसम्म ‘नम्बर वान’ निर्यातकर्ताको रुपमा आफ्नो नाम लेखाउन सफल भएका छन् ।
पाटनको सुन्धारामा जन्मिएका ५१ वर्षे श्रेष्ठ सधै जोश र जाँगरमा देखिन्छ ।
सामान्य परिवारबाट जन्मिएका श्रेष्ठको बाल्यकाल समस्यामै गुज्रियो । परिवारमा उनी जेठा छोरा हुन् । ३ दिदी र एक भाइ छन् । बुबाको प्रिन्टिङ प्रेस थियो । त्यसले परिवार धान्न गाह्र्रो थियो ।
‘म निकै कमजोर परिवारमा हुर्केको हुँ,’ उनले विगत सम्झँदै भने, ‘बुबाको मात्रै कमाईले खाना लगाउन निकै कठिन हुन्थ्यो ।’
दुखमा हुर्किएका श्रेष्ठको पढाई भने राम्रै थियो । बुबाले सिभिल इन्जिनियर पढाए । पढाइ सकेर जागिर शुरु गरेका थिए तर १८ महिनाभन्दा धेरै गरेनन् । इन्जिनियरिङको काम खासै मन परेन ।
मनमा भने व्यवसाय गर्न पाए हुन्थ्यो भन्ने थियो । घरमा दिदी बहिनीले घर खर्च जुटाउन टोपी, पर्स बुन्थे । ती टोपी, पर्स बजारमा बेच्थे । त्यही देखेर पनि व्यवसाय गर्न सकिन्छ भन्ने लागिरहेको थियो ।
‘दिदीहरूले खर्च जुटाउन टोपी, पर्स बुनेर बिक्री गर्नुहुन्थ्यो,’ उनले भने, ‘उक्त कार्य देखेरै नेपालमा उद्योग स्थापना गर्ने सोच आयो ।’
उनले २४ वर्षको उमेरमै (सन् १९९६) मा व्यवसाय शुरु गरे । लगानी १० हजार जति थियो । दिदीले बुनेका र अरुका केही सामान बोकेर ठमेलमा लगेर बेच्न थाले ।
आम्दानी हुन थालेपछि ठमेलको भित्री गल्लीमा एउटा कोठा लिए । सोही क्रममा सन् १९९८ मा एक जापानिजसँग भेट भयो ।
‘एक दिन जापानी नागरिक अकिओ ठमेलका पसलमा आइपुगें,’ उनले भने, ‘उक्त जापानिज नागरिकले एकै पटक १ लाख ५२ हजारको सामान अर्डर गरे ।’
जब कि त्यो बेला दैनिक २–३ हजारको व्यापार हुन्थ्यो ।
‘जापानिज नागरिकले अर्डरसँगै एउटा कार्ड पनि दिएका थिए । ७–८ दिनपछि एउटा पत्र आयो,’ उनले सुनाए, ‘पत्रमा जापानको प्रदर्शनीमा सहभागी हुन निम्तो आएको थियो ।’
जापानबाटै निम्तो आएपछि नजाने कुरै थिएन । यताउता ऋण खोजेर २० लाखको सामान बोकेर जापानको प्रदर्शनीमा भाग लिन गए ।
‘जापानमा विभिन्न ५ स्थानमा ३० दिनको प्रदर्शनी भएको थियो,’ उनी भन्छन्, ‘मैले नेपालबाट धेरै बिक्री हुन्छ भनेर ऋण खोजेर पनि सामान लिएर गएको थिएँ ।’
जापानको प्रदर्शनीमा खासै धेरै सामान बिक्री भएन । २० लाखको बोकेर गएकोमा ४ लाखको मात्र बिक्री भयो ।
तर, जापानको प्रदर्शनीबाट धेरै कुरा सिके । नयाँ–नयाँ डिजाइन, काम गर्ने शैली, व्यवसायीक क्षेत्रबारे बुझे । जापानबाट फर्केपछि व्यापार थप बिस्तार गरे ।
त्यो बेला निर्यातकर्ता निकै कम थिए । उनले भने सामानको निर्यात गर्न थाले । सन् १९९८ देखि नै करिब २० जनालाई प्रत्यक्ष रोजगारी दिइसकेका थिए । अहिले उक्त रोजगारी २ हजार पुगेको छ ।
श्रेष्ठ हालसम्म विश्वका ९ वटा मुलुकको प्रदर्शनीमा सहभागी भइसकेका छन् । करिब ३६ वटा देश घुमिसकेका छन् ।
‘जापानबाट शुरु भएको यात्रा अहिले म वार्षिक २–३ वटा मुलुकको प्रदर्शनीमा पुग्छु,’ उनले सुनाए ।
एभरेस्ट फेसनको उत्पादन अमेरिका, अस्ट्रेलिया, जापान क्यानडालगायत अन्य २० वटा विकसित मुलुकमा निर्यात हुन्छ ।
‘पहिला निर्यात निकै सजिलो थियो,’ उनी भन्छन्, ‘अहिले निकै प्रतिस्पर्धी बजार छ । चूनौती धेरै छन् ।’
‘हामीले २७ वर्षअघि १ सय रुपैयाँमा किनेको टोपी अहिले पनि १ सय रुपैयाँमा बिक्री गर्दै आएका छौं,’ उनले भने, ‘मूल्य समायोजन हुन नसक्दा निकै चूनौती बनेको छ ।’
भूकम्प र कोरोनामा पनि कुनै असर नपरेको एभरेष्ट फेसनलाई अहिले भने सिपिङ चार्ज महंगो हुँदा निकै दुःख भोग्नु परेको सुनाए । जुनसुकै मुलुकमा वस्तु निर्यात गर्दा चार गुणासम्म सिपिङ चार्ज बढेको छ ।
‘व्यवसाय गरेको २७ वर्षको इतिहासमा सबैभन्दा दुःखको पाटो अहिले सिपिङ चार्जको मूल्य चर्को हुनु हो,’ उनले भने ।
नेपालको एक्लो हस्तकला फेयर ट्रेड सर्टिफाइड कम्पनी
२७ वर्षअगाडि १० हजारबाट शुरु गरेको एभरेष्ट फेसन नेपालको एक्लो हस्तकला फेयर ट्रेड सर्टिपाइड कम्पनी हो । विश्वभरमा ४० वटा मात्र कम्पनी फेयर ट्रेड यूएस सर्टिफाइड छन् । त्यसमध्ये नेपालको एभरेष्ट फेसन पनि २०१५ बाट फेयर ट्रेडमा सूचिकृत भएका छन् ।
विश्वका विभिन्न देशबाट रोजगारी, व्यवस्थापन, काम, वातावरणीय मूल्याङ्कनको प्रभाव, सेवा सुविधाको आधारमा मूल्याङ्कन गरेर मात्रै यूएस सर्टिफाइड हुन्छ । त्यसमा सामाजिक, आर्थिक र वातावरणीय मूल्याङ्कन गरेर सर्टिफाइड हुन्छ वा हुँदैन भन्ने हुन्छ ।
‘एभरेष्ट फेसन सो मूल्याङ्कनभित्र परेकाले २०१५ मा फेर ट्रेडमा सूचिकृत भयो,’ उनले भने । अहिले उनीसँग हस्तकलाकै क्षेत्रमा काम गर्ने ४ कम्पनी खडा गरेका छन् ।
कम्पनीले आफैले ६ सय जनालाई प्रत्यक्ष रोजगारी दिएका छन् । साथै, अन्य २७ वटा उद्योगले एभरेष्ट फसेनकै लागि काम गर्ने गरेको उनले बताए ।
‘एभरेष्ट फेसनले मात्रै उत्पादन गर्न नसक्ने भएपछि २७ वटा उद्योगले यस कम्पनीको लागि मात्रै काम गर्दै आएका छन्,’ उनले भने, ‘उक्त उद्योगमा २ हजारले प्रत्यक्ष रोजगारी पाएका छन् ।’
एभरेष्ट फेसनले पुरुषभन्दा बढी महिलालाई रोजगारी दिन सफल छ । कम्पनीले महिलाहरूलाई तालिम दिएर दक्ष बनाएको उनको भनाइ छ ।
‘कम्पनीमा अधिकांश महिलाहरूले रोजगारी पाएका छन्,’ उनले भने । हस्तकला उद्योग भएकाले २१ पुरुषबाहेक सबै महिला कामदार रहेको उनी बताउँछन् ।
कम्पनीमा तीन प्रकारका काम हुन्छन् । निटिङ, स्टिचिङ र फेल्ट । ‘निटिङ कुरुष र कैंचीको काम हो भने स्टिचिङमा सियोको प्रयोग हुन्छ,’ उनले भने, ‘फेल्ट बलको प्रयोग हुन्छ ।’
जसमा नेपाली महिला दिदीबहिनीहरूले सामान घोटेर नै बनाउने गर्ने गरेको उनले बताए ।
कम्पनीले आर्थिक वर्ष २०७७/७८ मा ७.५ मिलियन (आजको दिनमा ८९ करोड १९ लाख रुपैयाँ) डलरको वस्तु निर्यात गरी उत्कृष्ट निर्यातकर्ताको रुपमा पुरस्कार पाएका थिए ।
त्यस्तै, कम्पनीले २००९ देखि अहिलेसम्म हस्तकला क्षेत्रमा सबैभन्दा बढी निर्यात गरी उत्कृष्ट ‘नम्बर १’ निर्यातकर्ताको पुरस्कार हासिल गर्दै आएको छ ।
हस्तकला क्षेत्रबाट निरन्तर नम्बर वान निर्यातकर्ता रहेको श्रेष्ठले सरकारको तर्फबाट २ पटक सीआइबी पुरस्कार पाएका छन् ।
‘हस्तकला क्षेत्रबाट सबैभन्दा बढी निर्यात गरी २००९ देखि अवार्ड हासिल गर्दै आएको छु’ उनले भने, ‘सरकारको तर्फबाट सन् २०१३ र २०१९ मा सीआइबी अवार्ड पाएको छु ।’
उनले धेरै क्षेत्रबाट अवार्ड पाइसकेका छन् । उक्त अवार्डलाई उनले आफ्नो कार्यालयको संग्राहलयको स्वरुप दिएर अवार्डहरू सजाएका छन् ।
कम्पनीको विशेषगरी उत्पादन तथा निर्यात सिजनल हुन्छ । कम्पनीको करिब व्यापार भएकोमध्ये ६० प्रतिशत क्रिसमसको आइटमसँगै सजावटको सामग्रीको हिस्सा रहेको छ । सबैभन्दा बढी क्रिमसको आइटम बढी बिक्री हुने भएकाले उक्त पर्वका लागि विशेष तयारी हुने गर्दछ ।
‘क्रिसमसको लागि फेबु्रअरी, मार्च, अप्रिल, मे, जुन जुलाईसम्म रहन्छ,’ उनले भने, ‘आगामी वर्षको क्रिसमसको लागि अहिलेदेखिनै तयारी गर्नुपर्छ ।’ उक्त वस्तुहरू विश्वका विभिन्न देशमा पुग्ने गरेको उनले जानकारी दिए ।
नेपालको हस्तकलाको सामग्री निकै महंगो वस्तुमा गनिन्छ । त्यसैले, अधिकांश वस्तु निर्यात मात्रै हुन्छ । नेपाली बजारमा अहिले भने निर्यातको करिब ३ प्रतिशत मात्रै आन्तरिक बजारमा खपत हुने गर्दछ ।
नेपालको व्यापारघाटा कम गर्न सहयोग पु¥याँउदै आएको हस्तकला क्षेत्रमा कुनै प्रोत्साहन नभएको उनको गुनासो छ । ‘सरकारले हरेक कार्यक्रममा बोलाउँदा निर्यात व्यवसायीलाई सहयोग गर्ने प्रतिबद्धता जनाउँछ । तर, व्यवहारमा कुनै सहयोग गरेको छैन,’ उनले भने ।
हाल प्रत्यक्ष २ हजारलाई रोजगारी दिँदै आएका कम्पनीले आगामी दिनमा ५ हजारलाई रोजगारी दिने लक्ष्य राखेको छ ।
‘काम छैन भन्ने महिलाहरूलाई तालिम दिएर यही रोजगारी दिँदै आएका छौं,’ उनी भन्छन्, ‘आगामी दिनमा व्यवसाय बढाउँदै ५ हजारलाई रोजगारी दिने उद्योग निर्माण गर्छु ।’
साथै, विश्वका विभिन्न देशमा नेपालको वस्तु चिनाउँदै लैजाने लक्ष्य लिएको छ ।