१८ वर्षमा १२ हजार बीमा पोलिसी बिक्री गरेकी अभिकर्ता प्रभा, अहिले टिकटकबाटै बेच्छिन्



काठमाडौं । सन् २००३ तिर प्रभा ज्ञवाली एक विवाह कार्यक्रममा गएकी थिइन । त्यहाँ एकजना व्यक्तिसँग भेट भयो । ती व्यक्तिले बीमा एजेन्टबारेमा धेरै कुरा सुनाए ।

प्रभाले त्यो बेला कति कुरा बुझिन, कति बुझिनन् ।

उनलाई पछि थाहा भयो ती पुरुष बीमा कम्पनीका एजेन्सी म्यानेजर रहेछ । जसले प्रभालाई बीमा अभिकर्ता बनाउन चाहन्थे ।

ती व्यक्तिका कुरा उनको मनमा बसिरहेको थियो । उनी पनि समाजको खुला वातावरणमा पुगेर केही गर्न चाहन्थिन ।

प्रभाले बीमाबारेमा पहिलो पटक सुनेको १८ वर्ष पुगेछ । यस अवधिमा देशमा धेरै उतारचढाव भए । उनी पनि यही लहरमा बग्दै एउटा उचाइमा पुगेकी छन् ।

प्रभा अब बीमाबारेमा आमसर्वसाधरणलाई बुझाउने मुलुककै अग्रस्थानकी बीमा अभिकर्ता भइसकेकी छन् ।

आज उनी एलआईसी नेपालको सिनियर एजेन्सी म्यानेजर पदमा छन् । टिकटकमा उनलाई ३३ हजारभन्दा बढीले पछ्याएका छन् ।

प्रभाले बीमा अभिकर्ता पेशामा आवद्ध भएर १९ वर्ष लाग्दै गर्दा १२ हजारभन्दा धेरैलाई बीमा पोलिसी बिक्री गरिसकेकी छन् । उनीसँग ३ सयभन्दा धेरै अभिकर्ता छन् ।

एलआइसीमा काम शुरु गरेपछि बीमा अभिकर्तामा पहिलो नम्बर भइरहिन । अहिलेसम्म उनको त्यो स्थान कायमै छ । एमडीआरटीमा १४ पटक छनौट, कम्पनीले दिने बीमा सम्राट, टिओटी तथा सिओटीको उपाधि प्राप्त गरिन । कम्पनीले दिने धेरै पुरस्कार हात पारिन ।

यही पेशाबाट उनको जीवनले कोल्टे फेरेको छ । मनग्य आम्दानी सफल उद्यमी बनेकी छन् । आर्थिक वर्ष २०७७÷७८ मा राज्यलाई ९ लाख ४० हजार कर तिरको उनले सुनाइन ।

‘यस्ता उपलब्धी पाउने आफू पहिलो महिला हुन पाएकोमा धेरै खुसी लाग्छ,’ क्लिमाण्डूसँगको कुराकानीमा प्रभाले भनिन्, ‘लगातारको मेहनतले म यहाँ छु ।’

त्यो संघर्ष
त्योबेला नेपालमा बीमाबारे बुझ्ने थोरै थिए, जतिबेला प्रभा बीमा क्षेत्रमा केही गर्छु भन्दै होमिएकी थिइन् । बरु त्योबेला नेटवर्किङ व्यवसायले मान्छेको दिमाग भुटिरहेका थियो ।

‘त्यो समयमा जीवन बीमा भन्ने लगभग थिएन । एकदुई नेटवर्किङ व्यवसायले मान्छेलाई तानिरहेका थिए,’ प्रभाले सुनाइन, ‘मान्छेसँग पैसा लिएर माग्ने प्रवृत्ति उनीहरुसँग थियो ।’

सन् २००३ को डिसेम्बर ६ तारिखदेखि ८ तारिखसम्म बीमा समितिले बीमा अभिकर्ताको तालिम दिँदै थियो । त्यसमा सहभागी भएर बीमा अभिकर्ताको लाइसेन्स दिल १२ सय रुपैयाँ लाग्थ्यो । त्यही १२ सय रुपैयाँ पनि उनको लागि ठूलो कुरा थियो ।

‘मलाई १२ सय दिनुस् न, केही काम गर्छु,’ उनले श्रीमानसँग अनुरोध गरिन ।

‘कस्तो काम हो ?,’ श्रीमानले सोधे ।

‘बीमाको ग्राहक बनाउने कामका लागि लाइसेन्स लिन,’ प्रभाले भनिन् ।

श्रीमानलाई कन्भिन्स गर्न पनि गाह्रो भयो । उनीहरुको पुस्तक पसल थियो । त्यसको लगानी र हरहिसाबको चाप पनि थियो ।

‘सापटी लिएर भए पनि १२ सय फिर्ता गरौंला,’ प्रभाले अलिकति नमिठो मन बनाइन ।

जनतन १२ सय पाएपछि तालिममा सहभागी भइन । ३ दिने तालिमपछि प्रभावको हातमा आयो– बीमा अभिकर्ताको लाइसेन्स ।

नकेटवर्किङ व्यवसायले आममानिसलाई नकारात्मक प्रभाव पारिरहेको थियो । यसले बीमा कम्पनीमा काम गर्ने व्यक्तिलाई पनि असर गरिरहेको थियो । नेटवर्किङमा जस्तै पैसा खाएर भाग्ने हुनकी भन्ने डर भइरहेको बेला प्रभाले बीमा अभिकर्ताको लाइन्सेन्स लिइन ।

अनुमतिपत्र त लिइन तर बीमा बेच्न निकै गाह्रो थियो ।

‘एउटै कम्पनीमा १५/२० वर्षसम्म पैसा राख्नै विश्वास थिएन मान्छेमा,’ उनले भनिन्, ‘नयाँ कुरामा कन्भिन्स गर्न गाह्रो थियो ।’

महिलाका लागि बाहिर घुमेर काम गर्नु झन सकस थियो । एक त बीमाको बारेमा ज्ञानको अभाव अर्को महिलाका लागि असहज वातावरण । अन्य कामको तुलनामा बीमा बेच्ने काम अझ चुनौतीपूर्ण थियो ।

‘दुःख छँदै थियो । घरबाट निस्केर फिल्डमा काम गर्न सहज थिएन । अझै जवान महिला,,’ प्रभाले भनिन्, ‘दैनिक फरक–फरक मान्छेसँग भेट गर्नुपर्ने उनीहरुलाई फकाउनु पर्ने ।’

यसैमा लागेपछि केही त गर्नै पर्यो । उनले तरिका अपनाइन, आफ्नै परिवार, नातागोताबाट बीमा बेच्ने ।

प्रभाले नवलपरासीमा एउटै घरमा बस्ने चिनजानका व्यक्तीलाई बीमा गर्न आग्रह गरिन् । चिनजानका भएर होला उनले सहमति जनाए ।

‘उहाँले मेरो सानो आग्रहमै बीमा गर्नु भयो । मेरो बुझाउने क्षमता पनि थिएन,’ प्रभाले पहिलो बीमा बेचेको अनुभव सुनाइन्, ‘एक लाख रुपैयाँ बराबरको बीमालेख बिक्री गरेँ । पहिलो प्रिमियम आठ हजार रुपैयाँ थियो ।’

उनले त्यसपछि अन्य आफन्तलाई बीमा बेच्न थालिन, जसलाई उनले विश्वासमा लिन सक्थिन ।

यसले उनमा आत्मविश्वास बढायो । जसले उनलाई परिवारबाट बाहिर निस्केर बीमालेख बिक्री गर्न सहयोगी बन्यो । अलि पैसा भएका, आयस्रोत धेरै भएकाहरुले बीमा राउन सजिलो थियो । उनीहरु पनि ५० हजारभन्दा माथिको बीमा गर्दैनथे ।

‘मैले बीमाको प्रिमियम १२–१३ सय रुपैयाँ लिन्थें,’ प्रभा भन्छिन्, ‘समयनै त्यस्तै थियो, बीमा कम्पनीको वार्षिक व्यवसाय करोडमा हुन्थ्यो ।

लाइसेन्स लिएकै डिसेम्बर महिनामा प्रभाको खातामा ७० हजार रुपैयाँ जम्मा भयो । आफ्नै मेहनतको ७० हजार रुपैयाँ खातामा आएपछि उनी उत्साही बनिन् ।

‘मेहनत गरेर मान्छेहरुसँग बोल्न सक्यो भने गर्न सकिने रहेछ भन्ने लाग्यो,’ प्रभाले भनिन्, ‘फरक सोँच, फरक व्यवसाय भएका व्यक्तिहरुसँग दैनिक भेट हुँदा म आफैमा आत्मविश्वास बढ्दै गयो ।’

तालिममा सिकाएअनुसार नयाँ नयाँ मान्छे भेट्न थालिन । ती व्यक्तिले दोहोर्याएर भेटिन । नाइ र हुँदैन भन्ने व्यक्तिलाई पनि हाँसीखुसीसाथ भेटिरहिन ।

एक न एक दिन बीमालेख किन्छ भन्ने उनको विश्वास थियो । त्यो विश्वासले काम पनि गर्दै गयो ।

त्यो बेला एलआइसी नेपालको पश्चिमाञ्चल विकास क्षेत्रको लागि बुटवलमा मात्रै शाखा थियो । त्यही शाखाबाट दाङ, अर्घाखाँची, प्युठान, बुटवल, भैरहवा र रुपन्देहीभर काम काम गर्थिन् ।

बिस्तारै बीमालाई बुझ्ने र हेर्ने नजर परिवर्तन हुँदै गयो । बीमा कम्पनीले पैसा लिनेमात्रै होइन, दाबी भुक्तानी गर्छ भन्ने छाप सर्वसाधारणमा परेको छ ।

अहिले बीमा पोलिसी बेच्न सहज वातावरण भएको उनले अनुभव गरेकी छिन् ।

‘अहिले त मान्छेहरु आफै सम्पर्कमा आएर बीमा गर्नुपर्यो भन्ने अवस्था भएको छ,’ उनले खुसी हुँदै भनिन् ।

‘पहिला जस्तो बीमा के हो, बीमा गरेपछि पैसा आउँछ भनेर बुझाइराख्नु पर्दैन,’ प्रभा भन्छिन् ।

कोरोना बीमाको पैसा सहज नपाउँदा सर्वसाधरणलाई नकारात्मक छाप गरेको उनको भनाइ छ ।

‘नन लाइफ कम्पनीले ल्याइदिएको त्यो पोलिसीले गर्दा हामी लाइफ इन्स्योरेन्समा काम गर्नेलाई अलिकति समस्या भएको छ,’ उनी भन्छिन् ।

टिकटकबाट भाइरल
विश्वव्यापी फैलिएको कारोना बीमाले काम गर्ने शैली परिवर्तन गरिदिएको छ । त्यो प्रभाव पर्नेमा बीमा कम्पनी पनि छ ।

लकडाउनले प्रभाले मान्छे भेट्न सकिनन् । धेरैले अनलाइन र सोसल मिडियाबाट काम गरिरहेका थिए । जहाँ इच्छा हुन्छ, त्यहाँ उपाय । प्रभाले पनि विभिन्न सामाजिक सञ्जाल प्रयोग गर्न थालिन ।

उनले सबैभन्दा धेरै प्रयोग गरिन टिकटक । बीमा पोलिसी बेच्न टिकटक सबैभन्दा सजिलो माध्यम बन्यो ।

‘फेसबुकभन्दा टिकटक मेरो व्यवसायमा धेरै सहयोगी भएको छ,’ प्रभा भन्छिन्, ‘टिकटकको एउटा भिडियो भाइरल भयो भने धेरै व्यक्ति माझ पुग्न सकिन्छ ।’

टिकटकमा उनी ‘प्रभा ज्ञवाली ११’मा बीमा स्मराट एलआइसीको रुपमा भाइरल छिन् । उनले पोष्ट गरेको भिडियोकै प्रभावले बीमा गर्नुपर्यो भन्दै आउने धेरै छन् ।

प्रभाले टिकटकको माध्यमबाट देशमा मात्रै होइन विदेशमा रहेका नेपालीलाई समेत बीमा गराइरहेकी छन् ।

‘टिकटकमा बीमाको प्रवर्द्धन गरिरहँदा मैले नेपालमा यसको बजार अझ धेरै भएको अनुभव भएको छ,’ प्रभावले भनिन, ‘जुन मान्छेलाई बीमाको आवश्यक छ, त्यहाँ पुग्न सकेकै छैनौं ।’

बजारमा दक्ष बीमा अभिकर्ताको अभावका कारण पनि बीमाको महत्व बुझउन नसकिएको उनको तर्क छ ।

उनको काम देखेर अन्य बीमा कम्पनीहरुले आफ्नो कम्पनी आउन आग्रह आइरहने उनी सुनाउँछिन् ।

आफ्नो काममा रमाउन सक्ने हो भने त्यसमा सफलता पाउन सकिने उनको भनाइ छ ।

‘धैर्यता र निरन्तरता हुने हो भने जो कोही पनि अभिकर्ता पेशामा सफल हुनसक्छन्,’ उनी भन्छन् ।

एउटा दुर्घटनाले फेरिएको जीवनशैली
जीवन सधै सिधा रेखामा दौडिदैन । बक्र रेखा घुम्दै, कहिले दुख, कहिले आँशु पनि भोग्नु पर्छ ।

गुल्मीबाट नवलपरासी झरेर शून्यबाट आफ्नो करिअर शुरु गरेकी प्रभावलाई जीवनको रफ्तार मोडमा नराम्रो घटाना भोग्नु पर्यो ।

श्रीमान ठूलै दुर्घनामा परे । श्रीमान दुर्घटनामा परेपछि सबै जिम्मेवारी उनकै काधमा आयो ।

कर्ममा अझ धेरै महेनत गर्न लेखेको रहेछ । मेहनतलाई अझ बढाइन ।

‘श्रीमानको दुर्घटनापछि परिवारको आर्थिक दायित्व र परिवार सम्हाल्ने ममाथि आयो,’ प्रभाले ती दिन सम्झदै भनिन्, ‘छोरोलाई पढाउने र हुर्काउने जिम्मा ममाथि आयो ।’

उनले आफ्नो व्यवसायमात्र गरेकी छैनन् । सामाजिक काम पनि गर्नुपर्छ भनेर तीन विद्यार्थीको पढाइ, खानेबस्ने जिम्मा लिएकी छन् । विभिन्न संघ संस्थामा आवद्ध भएर काम गरिरहेकी छन् ।


बिजया बास्कोटा