एकवर्षमा ९० प्रतिशत सेयर मूल्य बढेको नेपाल टेलिकमको नाफा २३ प्रतिशतले घट्यो



काठमाडौं । दोस्रो बजारमा एकवर्षमा ९० प्रतिशतले सेयर मूल्य बढेको नेपाल टेलिकमको नाफा २३ प्रतिशतले घटेको छ । नेपाल टेलिकमले सार्वजनिक गरेको गत आर्थिक वर्षको वित्तीय विवरण अनुसार पछिल्लो एक दशककै कम नाफा गरेको छ ।

नेपाल टेलिकमको नाफा घट्दो क्रममा रहेपनि लगानीकर्ताको भने आकर्षण टेलिकमको सेयरमा देखिन्छ । टेलिकमले सार्वजनिक गरेको वित्तीय विवरण अनुसार गत आर्थिक वर्षमा ७ अर्ब ४५ करोड रुपैयाँ नाफा गरेको छ ।

अघिल्लो वर्ष टेलिकमको नाफा ९ अर्ब ७४ करोड रुपैयाँ थियो ।

१५ अर्ब चुक्ता पूँजी रहेको नेपाल टेलिकमको रिजर्बमा ७४ अर्ब रुपैयाँ रहेको छ । नाफा घट्दै गएपछि सरकारले टेलिकमको सेयर सर्वसाधारणलाई बिक्री गर्ने योजना सार्वजनिक गरेको छ ।

गतवर्ष टेलिकमको आम्दानी सामान्य बढेपनि अन्य आम्दानी घटेको तथा खर्च बढेको कारण नाफा घटेको हो । टेलिकमले पछिल्लो दशकमा सबैभन्दा बढी नाफा गरेको आर्थिक वर्ष २०७४/७५ मा थियो । भ्वाइसबाट आउने आम्दानी घट्दै गएपछि टेलिकमको नाफा घट्दो क्रममा रहेको छ ।

नाफा घटेपनि बजारमा सेयर आपूर्ति कम भएको कारण टेलिकमको सेयर मूल्य पछिल्लो एकवर्षमा ९० प्रतिशतले बढेको छ । एकवर्ष अगाडि प्रतिकित्ता ६९५ रहेको टेलिकमको सेयर मूल्य अहिले १२६९ रुपैयाँ रहेको छ । टेलिकमको सेयर मूल्य १४५० सम्म पुगेको थियो ।


क्लिकमान्डु