आम्दानी घट्दा पनि टेलिकमको सेयरमा बढ्दो आकर्षण, दोस्रो बजारका लगानीकर्ता जोखिममा



काठमाडौं । सामान्यतया कुनै पनि कम्पनीको वित्तीय विवरणका आधारमा त्यो कम्पनीको सेयरमूल्य तलमाथि हुनेगर्छ ।

सिद्दान्तत वित्तीय विवरणमा कम्पनीको नाफा घट्दा सेयर मूल्य पनि घट्नुपर्ने र बढ्दा मूल्य पनि बढ्नुपर्ने हो । तर, सरकारी लगानीको नेपाल टेलिकममा भने त्यस्तो देखिएन । ठीक उल्टो देखियो ।

नेपाल टेलिकमको सेयर मूल्य ६ महिनामा सतप्रतिशतभन्दा बढीले बढेको छ । टेलिकमले बोनस सेयर दिने हल्लाको आधारमा सेयर मूल्य बढेको सहजै अनुमान गर्न सकिन्छ ।

६ महिनाअघि प्रतिकित्ता ६६५ रुपैयाँमा कारोबार भएको टेलिकमको सेयर मूल्य आइतबार बजार बन्द हुँदा प्रतिकित्ता १३५८ रुपैयाँ पुगेको छ । आइतबार नै कारोबार समयमा टेलिकमको प्रतिकित्ता सेयर मूल्य १४५१ सम्म पुगेको थियो ।

टेलिकमले पुस मसान्तमा ३३ प्रतिशतले नाफा घटेको वित्तीय विवरण सार्वजनिक गरेको छ । ०७७ पुस मसान्तसम्ममा टेलिकमको नाफा ३ अर्ब ३२ करोड छ । ०७६ पुस मसान्तसम्ममा ४ अर्ब ९३ करोड थियो ।

भ्वाइसबाट आक्रामकरुपमा नाफा कमाएको टेलिकमले इन्टरनेट सेवा विस्तारका कारण हरेक वर्ष नाफा घटाउँदै लगेको छ । अहिले आम सर्वसाधारणले म्यासेन्जर, भाइबर, ह्वाटसएप लगायतलाई सम्पर्कको माध्यम बनाउन थालेका छन् । जुन ५ वर्षअघिसम्म सम्भव थिएन ।

इन्टरनेट सेवा प्रदायक कम्पनीको संख्या र विश्वमा सामाजिक संन्जालका विभिन्न माध्यमको विकाससँगै टेलिकमले भ्वाइसबाट हुने आम्दानी गुमाउन थाल्यो । जसको असर टेलिकमको नाफामा परेको हो ।

नेपाल टेलिकमको ८ वर्षको वित्तीय विवरणलाई मूल्यांकन गर्ने हो भने आर्थिक वर्ष २०७४/७५ मा सबैभन्दा बढी १७ अर्ब ४८ करोड रुपैयाँ नाफा कमाएको थियो । आर्थिक वर्ष २०६९/७० मा ११ अर्ब २९ करोड टेलिकमले नाफा कमाएको थियो ।

आर्थिक वर्ष २०७४/७५ मा टेलिकमको नाफा १७ अर्ब ४८ करोडसम्म पुगेपनि यसको बृद्धिदर दीगो देखिएन । अर्को वर्ष नै टेलिकमको नाफा ह्वातै घट्यो । आर्थिक वर्ष २०७५/७६ मा टेलिकमले १० अर्ब नाफा गर्यो ।

गत आर्थिक वर्षमा ९ अर्ब रुपैयाँ नाफा कमाएको विवरण टेलिकमले सार्वजनिक गरेको छ । गत आर्थिक वर्ष २०७६/७७ को भने टेलिकमको लेखापरिक्षण भएको छैन । यो पूर्णरुपमा लेखापरिक्षण हुनु अगाडिको नाफा हो ।
लेखापरिक्षण भएपछि यसको नाफा थपघट हुनसक्छ ।

टेलिकमको नाफा घटेपछि यसले दिने लाभांशमासमेत असर पर्ने ७ वर्षको लाभांशको इतिहासबाट देखिन्छ । आर्थिक वर्ष २०७५/७६ मा १० अर्ब नाफा गर्दा टेलिकमले ४५ प्रतिशत नगद लाभांश दिएको थियो । जुन पछिल्लो ७ वर्षकै कमी हो ।

टेलिकमले पछिल्लो दशममा सबैभन्दा बढी लाभांश दिएको २ वर्षमा मात्र दिएको छ । आर्थिक वर्ष २०७३/७४ र आर्थिक वर्ष २०७४/७५ मा टेलिकमले ५५ प्रतिशत नगद लाभांश दिएको थियो ।

टेलिकमले २०६९/७० मा ४६ प्रतिशत नगद लाभांश, २०७०/७१ मा ४७ प्रतिशत,२०७१/७२ मा ५० प्रतिशत, २०७२/७३ मा ५१ प्रतिशत नगद लाभांश दिएको छ ।

टेलिकमले बोनस सेयर दिन्छ ?

नेपाल टेलिकमले सर्वसाधारणलाई सेयर जारी गरेपछि बोनस सेयर दिएको छैन ।

जुनबेला टेलिकमले ५५ प्रतिशतसम्म नगद लाभांश दिएको थियो त्यो बेला यसको मूल्य १००० भन्दा कम थियो । अहिले आम्दानी घटेको बेला सेयर मूल्य १३५८ मा आएको छ ।

१५ अर्ब चुक्ता पूँजी भएपनि टेलिकममा सर्वसाधारणको सेयर स्वामित्व कम छ । जसकारण केही ठूला लगानीकर्ताले टेलिकमको सेयर कर्नरिङ गर्दा मूल्य बढेको हो । यसबाहेक बैंक तथा वित्तीय संस्थाले समेत पछिल्लो ६ महिनामा टेलिकमको सेयर दोस्रो बजारमा ठूलो मात्रामा उठाए । जसले गर्दा टेलिकमको सेयर मूल्य बढ्यो ।

टेलिकम कम्पनीले बोनस सेयर दिन्छ भन्ने आशमा रहेका साधारण लगानीकर्ताहरु गरेको लगानी जोखिममा परेको देखिन्छ ।

१५ अर्ब चुक्ता पूँजी रहेको नेपाल टेलिकममा सर्वसाधारणको सेयर हिस्सा बढाउने कुरा विगतदेखि नै उठेको हो । यो पटकको वार्षिकउत्सवमा संचारमन्त्री पार्वत गुरुङले जनताको स्वामित्व बढाइने बताका छन् । यस्तै कुरा अघिल्ला वार्षिक उत्सवमा त्यो गुरुङ अघिका संचारमन्त्रीले बताएका थिए ।

कम्पनीको शेयर संरचनाअनुसार ९१.५२ प्रतिशत संस्थापक शेयर अर्थात् नेपाल सरकारको रहेको छ भने ८.४८ प्रतिशत शेयर आमसर्वसाधारण र कर्मचारीको रहेको छ । सरकारसँग ६६ प्रतिशत सेयर स्वामित्व राखेर बाँकी सेयर निष्कासन गर्ने भाषण संचारमन्त्रीहरुले गरे पनि यो कार्यान्वयन हुने भने सकेन ।

सेयर संरचनामा सर्वसाधारण सेयरधनीसँग ४.४४ प्रतिशत, कर्मचारीको ४.०४ प्रतिशत तथा नागरिक लगानी कोषको ०.०३ प्रतिशत शेयर स्वामित्व टेलिकममा छ ।


क्लिकमान्डु