सेयर बजारमा नयाँ रेकर्ड साढे १९ अर्बको कारोबार



काठमाडौं । साताको पहिलो दिन आइतबारको कारोबारमा सेयर बजारमा हरियाली आएको छ । लगानीकर्ताको उत्साह बढ्दा कारोबार रकम हालसम्म कै उच्च साढे १९ अर्ब रुपैयाँ पुगेको छ ।

यो दिन नेप्से परिसूचक ३८.३२ अंकले बढेर २९८३.३२ विन्दुमा पुगेको छ । ३ करोड ७० लाख ७६ हजार ४३९ कित्ता सेयर १९ अर्ब ५५ करोड १ लाख ६६ हजार ६३६ रुपैयाँमा कारोबार भएको छ ।

यो दिनको कारोबारमा १२७ वटा कम्पनीको सेयर मूल्य बढ्दा ८८ वटा कम्पनीको सेयर मूल्य घटेको छ भने ५ वटा कम्पनीको सेयर मूल्य स्थिर छ ।

उपसमूहतर्फ विकास बैंक ८.२४ प्रतिशत, फाइनान्स ७.१४ प्रतिशत, जलविद्युत् ६.१० प्रतिशत, होटल एन्ड टुरिजम इन्डेक्स ४.७३ प्रतिशत र लगानी समूह २.३८ प्रतिशतले इन्डेक्स बढेको छ ।

यो दिन श्री इन्भेष्टमेन्ट कम्पनी, समृद्धि फाइनान्स कम्पनी, आइसीएफसी फाइनानस, कर्णाली डेभलपमेन्ट बैंक र सिन्धु विकास बैंकको सेयर मूल्यमा १० प्रतिशतको सकारातमक सर्किट लागेको छ । त्यसैगरी रिलायन्स फाइनान्स, मितेरी डेभलपमेन्ट बैंक, हिमालयन पावर पार्टनर, पञ्चकन्या माइ हाइड्रोपावर, घलेम्दी हाइड्रो, सीइडीबी हाइड्रोपावर, नेशनल हाइड्रोपावर, लुम्बिनी विकास बैंक, माउन्टेन इनर्जी नेपाल जोशी हाइड्रोपावर , शिवश्री हाइड्रोपावर, ओरियन्टल होटल्स, सोल्टी होटल्स, प्रोग्रेसिभ फाइनान्स, गुहेश्वरी मर्चेन्ट बैंक एन्ड फाइनान्सलगायतका कम्पनीको सेयर मूल्य ९.९० प्रतिशतभन्दा बढीले बढेको छ ।

त्यसैगरी नेपाल इन्स्योरेन्स, युनाइटेड इदी मार्दी आरबी हाइड्रोपावर, साधना लघुवित्त, नारायणी डेभलपमेन्ट बैंक र समिट लभुवित्तको सेयर मूल्यमा भने गिरावट देखिएको छ ।


क्लिकमान्डु