राजनीतिक अस्थिरताका बीच नेप्से २७.४७ अंकले बढ्यो, ४ कम्पनीको सेयरमा सकारात्मक सर्किट



काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वासको मत गुमाउने भोलिपल्ट सेयर बजारमा हरियाली देखिएको छ । आइतबार घटेको नेप्से परिसूचक सोमबार र मंगलबार दुबै दिन बढेको छ ।

मंगलबार नेप्से परिसूचक २७.४७ अंकले बढेर २६७३.२३ अंकमा पुगेको छ । यो दिन सबै उपसमूहमा हरियाली छाएको छ । यो दिन १ करोड ८ लाख १९ हजार ५३५ कित्ता सेयर ५ अर्ब ८१ करोड ६ लाख ७३ हजार ७१ रुपैयाँमा कारोबार भएको छ । यो दिनको कारोबारमा १५८ वटा कम्पनीको सेयर मूल्य बढ्दा ३२ वटा कम्पनीको सेयर मूल्य घटेको छ भने ३० वटा कम्पनीको सेयर मूल्य स्थिर छ ।

यो दिन ४ वटा कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । जसमा बोटलर्स नेपाल तराईको सेयर १० प्रतिशतले बढेर प्रतिकित्ता १० हजार ६५ रुपैयाँ पुगेको छ । कम्पनीले आज सार्वजनिक गरेको पछिल्लो वित्तीय विवरण अनुसार कम्पनीको नाफा अध्यधिक बढेको छ ।

त्यसैगरी रुरु जलविद्युत् परियोजनाको सेयर मूल्य ९.९७ प्रतिशत, युनाइटेड मोदी हाइड्रोपावरको सेयरमा ९.९१ प्रतिशत, गुहेश्वरी मर्चेन्ट बैंक एन्ड फाइनान्सको सेयर ९.८८ प्रतिशत र समता घरेलू लघुवित्तको सेयर ९.०५ प्रतिशतले बढेको छ ।

त्यसैगरी आजको कारोबारमा गुमाउने कम्पनीमा बिशाल बजार कम्पनीको सेयर मूल्यमा नकारात्मक सर्किट लागेको छ । कम्पनीे सेयर मूल्य १० प्रतिशतले घटेर प्रतिकित्ता ४ हजार ८९७ रुपैयाँमा झरेको छ । त्यसैगरी लिबर्टी इनर्जी, बरुण हाइड्रोपावर, ग्लोवल आइएमई समुन्न योजना–१ र पाँचथर पावरको सेयर मूल्य ओरालो लागेको छ ।


क्लिकमान्डु