फागुन १८ गतेदेखि ‘मार्सी बियर’ बजारमा



काठमाडौं । व्यवसायी दुर्गा प्रसाईंले यही फागुन १८ गतेदेखि मार्सी ब्राण्डको बियर बजारमा ल्याउने भएका छन् ।

प्रसाईंले भैरहवामा रहेको टाइगर बियरको फ्याक्ट्री खरिद गरेर त्यसैमा मार्सी बियर उत्पादन शुरु गरेका हुन् । यसका लागि उनले हालसम्म साढे ४ अर्ब रुपैयाँ लगानी गरिरहेका छन् ।

थप २ अर्ब रुपैयाँ थप लगानी गर्ने योजना बनाएका छन् । हाल कम्पनीमा ५ सयभन्दा बढी कर्मचारी कार्यरत रहेको र आगामी दिनमा २ हजार व्यक्तिले रोजगारी पाउने बताए ।

नेगेटिभिटिमै व्यापारको अवसर देख्ने दुर्गा प्रसाईंः फागुनदेखि मार्सी बियर, माफिया ह्वीस्की छिट्टै

मार्सी बियर भारत निर्यातका लागि ४० लाख बोतलका लागि सम्झौता पनि भइसकेको उनले जानकारी दिए । प्रसाईंका अनुसार उद्योगबाट एक घण्टामा २२ हजार बोतल उत्पादनको क्षमता रहेको बताए ।

तीन वर्षअघि तत्काली नेकपा एमाले र माओवादीका अध्यक्षद्वय केपी शर्मा ओली र प्रचण्डलाई पार्टी एकीकरणका सिलसिलामा मार्सी चामलको भात खुवाएको फोटो सार्वजनिक भएपछि उनको आलोचना भएको थियो ।

त्यसको तीन वर्षपछि त्यही ‘मार्सी’ नामलाई क्याच गरेर त्यसैका नाममा बियर उत्पादन गर्दैछन् । कर्णालीमा उत्पादन हुने मार्सी चामल ३० प्रतिशत र बाँकी ७० प्रतिशत माल्ट प्रयोग गरेर मार्सी नाममा बियर उत्पादन गरिने छ ।

हाल मार्सी बियर प्रिमियम र स्ट्रङ गरी दुई वटा ब्राण्डमा उत्पादन हुनेछ भने भविष्यमा ड्राफ्ट बियर पनि उत्पादन गर्ने कम्पनीले लक्ष्य लिएको छ ।

मार्सी बियर उत्पादन गर्ने क्षेत्र ५ बिगाह छ । यो देशकै राम्रो प्रविधियुक्त कम्पनी हो । एक ठाउँमा जौं र मार्सी हालेपछि मान्छेले केही गर्नु पर्दैन । मेशिनले नै प्रोसेसिङदेखि प्याकेजिङसम्मको काम गर्छ । पूर्णरुपमा स्वचालित हुन्छ । मार्सीको ड्राफ्ट बियर पनि ल्याउने तयारी गरिरहेको प्रसाईंले सुनाए ।

उच्च हिमाली क्षेत्रमा फल्ने मार्सी धानको खुदी हालेर बनाएको बियरको स्वाद पनि फरक हुने उनको भनाइ छ ।

‘मलाई धेरैले माफिया र मार्सी भनेर खेदे, म त नेगेटिभभित्र पोजेटिभ खोज्ने मान्छे हुँ, अब माफिया ह्वीस्की पनि छिट्टै ल्याउँछु, त्यसका लागि जग्गा खोजिरहेको छु, उपयुक्त स्थानमा जग्गा पाउनेवित्तिकै प्लान्ट लगाउँछु,’ उनले भने ।


पुष्प दुलाल