प्यान नम्बर लिनेको संख्या ६७ प्रतिशतले घट्यो, ४ महिनामा २ लाख थप नेपाली करको दायरामा
काठमाडौं । चालु आर्थिक वर्षको पहिलो ४ महिनामा सवा २ लाख नेपाली करको दायरामा थपिएका छन् । गत असार मसान्तदेखि काक्तिक मसान्तसम्म स्थायी लेखा नम्बर लिने २ लाख २५ हजार ५ सय ८३ जनाले बढेका हुन् ।
यद्दपि, कोभिड-१९ को प्रभावको कारण नागरिकको आवागमन सहज नहुँदा र नयाँ व्यवसाय तथा रोजगारी सिर्जनामा कमी आएकोले गत आवको पहिलो चौमासको तुलनामा सो अवधिमा स्थायी लेखा नम्बर लिने करदाता ६८ प्रतिशतले घटको अर्थ मन्त्रालयले उल्लेख गरेको छ ।
अर्थमन्त्रालयका अनुसार काक्तिक मसान्तसम्म ३५ लाख ७९ हजार ४ सय ७७ जनाले स्थायी लेखा नम्बर लिएका छन् । जुन गत आर्थिक वर्षको असार मसान्तको तुलना ६.७२ प्रतिशतले बढी हो । गत असार मसान्तसम्म ३३ लाख ५३ हजार ८ सय ९४ जनाले स्थायी लेखा नम्बर लिएका थिए ।
काक्तिक मसान्तसम्म दर्ता भएर करदातामा १४ लाख ३६ हजार ५ सय ५५ व्यवसायीक करदाता रहेका छन् । भने २१ लाख ३६ हजार ५ सय ८६ जनाले व्यक्तिगत स्थायी लेखा नम्बर लिएको मन्त्रालयले जानकारी दिएको छ ।
यसैगरी, मूल्यअभिवृद्धि करमा दर्ता भएका करदातामा २ लाख ६९ हजार २ सय ७८ र अन्तशुल्कमा दर्ता हुने १ लाख १ हजार १ सय ९७ जना करदाता पुगेका छन् ।