बैंकहरुमा कर्जाको माग बढ्न थाल्योः महिना दिनमा ४५ अर्बले निक्षेप, ४९ अर्ब कर्जा



काठमाडौं । बैंकहरुमा निक्षेप संकलनको तुलनामा कर्जा प्रवाह बढेको छ । संचालनमा रहेका २७ वाणिज्य बैंकले १ महिनामा ४५ अर्ब रुपैयाँ निक्षेप संकलन गर्दा ४९ अर्ब रुपैयाँ कर्जा प्रवाह गरेका हुन् ।

नेपाल बैंकर्स संघद्वारा प्राप्त तथ्यांकअनुसार काक्तिक अन्तिम सातासम्म वाणिज्य बैंकहरुले ३६ खर्ब ४८ अर्ब रुपैयाँ निक्षेप संकलन गरेका थिए । जुन मंसिरको अन्तिम साता ४५ अर्ब रुपैयाँले बढेर ३६ खर्ब ९४ अर्ब रुपैयाँ पुगेको छ ।

यता कर्जा प्रवाहतर्फ भने कात्तिक अन्तिम ३० खर्ब ५२ अर्ब रुपैयाँ प्रवाह गरेकोमा मंसिरको अन्तिम साता ४९ अर्ब रुपैयाँले बढेर ३१ खर्ब १ अर्ब रुपैयाँ पुगेको छ ।

यस्तै, बैंकहरुले मंसिरको पहिलो साता ३० खर्ब ५० अर्ब रुपैयाँ, दोस्रो साता ३० खर्ब ६६ अर्ब रुपैयाँ र तेस्रो साता ३० खर्ब ८४ अर्ब रुपैयाँ कर्जा प्रवाह गरेका थिए ।

तर काक्तिक मसान्तबाट मंसिरको पहिलो साता बैंकहरुमा कर्जा प्रवाह २ अर्ब रुपैयाँले घटेको देखिन्छ भने मंसिरको दोस्रो साता नै १६ अर्ब र तेस्रो साता १७ अर्ब रुपैयाँले कर्जा प्रवाह बढेको छ ।

कोरोना भाइरसको प्रभावले लामो समयसम्म सुस्ताएको कर्जा माग पछिल्लो समय अर्थतन्त्र चलायमान हुँदै जाँदा बैंकहरुमा माग बढ्न थालेको हो ।

‘मंसिर लागेपछि बैंकमा कर्जाको माग बढ्न थालेको छ,’ माछापुच्छ्रे बैंकका प्रमुख कार्यकारी अधिकृत सन्तोष कोइरालाले क्लिकमाण्डूसँग भने, ‘निर्माणाधीन आयोजनाहरुसँग नयाँ आयोजनाहरु पनि ऋण माग्न थालेका छन् । अर्थतन्त्रका लागि यो सुखद संकेत हो ।’


पुष्प दुलाल