चाडपर्वमा जनताले झिकेका नोट दैनिक ५० करोड राष्ट्र बैंकमा फिर्ता हुँदै, झुत्रा नोट २५% मात्र



काठमाडौं । जनताले चार्डपर्वका लागि बैंक तथा वित्त कम्पनीबाट झिकेका नोट दैनिक ५० करोड रुपैयाँले राष्ट्र बैंकमा फर्किन थालेको छ ।

असोजको अन्तिम सातादेखि कात्तिकको पहिलो सातासम्म राष्ट्र बैंकमा स्टकमा रहेको ६ खर्ब ३० अर्ब रुपैयाँ नयाँ तथा सुकिला दरका नोट बजारमा सर्कुलरमा गएको थियो । जसमा २ अर्ब ४० करोड रुपैयाँ सानादरमा ५ देखि १० रुपैयाँसम्मका नोट बजारमा पठाइएको राष्ट्र बैंकले जनाएको छ ।

असोजमादेखि काक्तिकको पहिलो साता बजारमा गएका नोटहरु अहिले दैनिक ५० करोड रुपैयाँका दरले फिर्ता भइरहेको राष्ट्र बैंक बैंकिङ विभागका कार्यकारी निर्देशक नरेश शाक्यले बताए ।

‘अहिले दैनिक ५/६ वटा बैंकले ८/१० करोड रुपैयाँ पैसा राख्न राष्ट्र बैंक ल्याइरहेका छन्,’ शाक्यले क्लिकमाण्डूसँग भने, ‘दशैंका लागि बजारमा गएका नोटहरुमा हजार पाँच सयका प्रायः नयाँ नोट नै थिए, जनताले सो समय लिएका पैसा खर्च गरेर अहिले र्फिता गरिरहेका छन् ।’

फिर्ता भएको मुद्रामा नेपाली र विदेशी मुद्रा दुबै फर्किएको उनले जानकारी दिए ।

‘जनताले बैंकबाट लगेका पैसा खर्च भएपनि बैंकिङ च्यानलमा आउने हो भने खर्च नभएका पैसा पनि च्यानलमा आउँछ,’ उनले थपे, ‘अघिल्ला वर्षहरुमा झैं यस वर्ष पनि सोही परिमाणमा दशैं अघि पैसा गएको र सोही परिमाण अहिले फिर्ता भइरहेको छ ।’

तर यसवर्ष भने राष्ट्र बैंकले सानादरका नोट बजारमा पहिलेको तुलनामा कम पठाएको हुँदा अहिलेसम्म ठूला दरका नोटहरु मात्र फिर्ता भइरहेको उनले जानकारी दिए ।

दशैलक्षित बजारमा गएका नोटहरु फिर्ता हुँदा अघिल्ला पटकमा जस्तो रंग लाग्ने, फोहोर हुने नभएको राष्ट्र बैंक मुद्रा व्यवस्थापन विभागका कार्यकारी निर्देशक रेवतीप्रसाद नेपालले बताए ।

‘दशैंको समय र त्यसभन्दा अघि/पछि बाहिरिएका नोट बैंकिङ विभागबाट करिब १ अर्ब रुपैयाँ मुद्रा व्यवस्थापन विभागमा आइसकेको छ,’ नेपालले क्लिकमाण्डूसँग भने, ‘जसमा बजारमा पुनः पठाउन नमिल्ने झुत्रा नोटहरु धेरै कम छन् ।’

दशैंको समयमा बाहिरीएका नोट राष्ट्र बैंक फिर्ता हुँदा झुत्रा नोट अघिल्ला वर्षको तुलनामा यसपाली २५ प्रतिशतले घटेको उनले जानकारी दिए ।

राष्ट्र बैंकले बजारमा पुनः प्रयोगमा पठाउन नमिल्ने नोटलाई जलाउने हुँदा नोट छपाइमा खर्च बढ्ने हुन्थ्यो ।

यसपाली दशैलक्षित नयाँ नोट वितरण गर्न नोट नछपाएको र बजार पठाइएका नोट समेत धेरै झुत्रा नभएको हुँदा राज्यको खर्च करिब ८५ करोड रुपैयाँ बचत भएको राष्ट्र बैंकका एक अधिकारीले बताए ।

‘विगतका वर्षहरुमा ६/७ अर्ब रुपैयाँ दशैंको समयमा नै नयाँ नोट बजारमा पठाउन नोट छापाउँदा खर्च हुन्थ्यो ती अधिकारीले बताए ।

‘६/७ अर्ब रुपैयाँ साना र ठूला दरका नयाँ नोट छपाइको खर्च ६० करोड रुपैयाँ लाग्छ, जुन अहिले नोट छपाउन नपर्दा बचत भएको छ ।’

विगतमा दशैंको समयमा बजारमा गएका ५० प्रतिशत नयाँ नोट फोहोर अर्थात् पुनः प्रयोग गर्न नमिल्ने अवस्थामा बैंकमा फर्किने हुँदा राष्ट्र बैंकले त्यसलाई जलाउँदा करिब ३० करोड रुपैयाँ क्षति हुने गरेको उनले जानकारी दिए ।

यसपाली बजारमा गएका नोटसमेत न्यून मात्रामा झुत्रिएको हुँदा झुत्रा नोट जलाउँदा करिब ५ करोड रुपैयाँमात्र राज्यको क्षति हुने उनको भनाइ छ ।


पुष्प दुलाल