भारतद्वारा थप ४३ चिनियाँ एपमाथि प्रतिबन्ध
काठमाडौं । भारतले मंगलबार अरु ४३ वटा मोबाइल एपलाई प्रतिबन्धित गरेको छ । प्रतिबन्धित एप सीमा विवाद जारी रहेका चीनका एप्सहरु पनि रहेका छन् ।
भारतीय सूचना प्रविधि मन्त्रालयले प्रतिबन्धित एप्सहरुले भारतको सार्वभौमसत्ता र अक्षुण्णतालाई चुनौती दिएको जनाएको छ ।
प्रतिबन्धित एपमा चीनको बहुराष्ट्रिय कम्पनी अलिबाबा ग्रुपसँग सम्बन्धित चारवटा छन् ।
भारतले केही महिनाअघि लोकप्रिय भिडियो सेयरिङ एप टिकटक र मोबाइल खेल पब्जी समेतका चिनियाँ स्वामित्वमा रहेका केही मोबाइल एपमाथि प्रतिबन्ध लगाएको थियो ।
भारत सरकारले चिनियाँ मोबाइल एपले भारतीय प्रयोगकर्ताका गोप्य विवरणहरु संकलन गरी चीन पुर्याएको आरोप लगाएको थियो ।
चीन र भारतबीच सीमावर्ती लद्धाखका विषयलाई लिएर महिनौंदेखि विवाद छ । तर सैनिक र कुटनीतिक तहमा सीमा विवादका विषयमा वार्ताहरु भइरहे पनि तनाव जारी छ । यी वार्तामा अघि सारिएका विषयका बारेमा विवरण सार्वजनिक भइरहेको छैन ।
भारतको एप प्रतिबन्धलाई लिएर भारतीय सत्तारुढ दलले स्वागत गरेको छ । भारतमा हाल चिनियाँ मोबाइल एप तिब्र गतिमा विस्तार र लोकप्रिय भइरहेका छन् । कतिपय चिनियाँ कम्पनीहरुले भारतीय प्रयोगकर्ताका रुचीलाई समेटेर एप निर्माण गरेका छन् ।