पुँजीबजारः ५ महिनामा लगानीकर्ताको सम्पत्ति सवा ४ खर्बले बढ्यो



काठमाडौं । पुँजी बजारका लगानीकर्ताको सम्पत्ति ५ महिनामा करिब सवा ४ खर्ब रुपैयाँले बढेको छ ।

कोरोना नियन्त्रणका लागि चैतमा लकडाउन शुरु भएसँगै बन्द भएको बजार ९८ दिनपछि खुलेको थियो । त्यसयता बढ्न थालेको बजार पुँजीकरण हाल २० खर्ब बढी पुगेको छ ।

लकडाउन शुरु हुनुभन्दा अघि चैत ९ गते सेयर बजारमा बजार पुँजीकरण १६ खर्ब १९ करोड ७ लाख २८ हजार रुपैयाँ थियो । त्यसपछि बन्द भएको बजार बैशाख ३० र ३१ गते बीचमा २ दिन मात्रै खुल्यो ।

बैशाख ३० गते बजारमा गिरावट आउँदा बजार पुँजीकरण पनि १६ खर्ब ६७ अर्ब ८५ करोड ३ लाख २५ हजारमा सीमित भएको थियो ।

बैशाख ३१ गते बजार झनै घट्दा बजार पुँजीकरण पनि १५ अर्ब ३६ अर्ब ४२ करोड १ लाख ५३ हजार रुपैयाँमा झरेको थियो ।

त्यसपछि बजार असार १५ गते ९८ दिनपछि खुल्यो र त्यसयता करेक्सन हुँदै उकालो लागिरहेको छ । बजार पुँजीकरणमा पनि सुधार आउन थाल्यो ।

वैशाख ३१ गते १५ अर्ब ३६ अर्ब रहेको बजार पुँजीकरण असार १५ गते १५ खर्ब ५९ अर्ब ४ करोड ७४ हजार रुपैयाँ पुग्यो । असार ३१ गतेसम्म आईपुग्दा बजार पुँजीकरणमा निकै सुधार देखिएको छ ।

यो बेलासम्म लगानीकर्ताको सम्पत्ति बढेर १७ खर्ब ९२ अर्ब ७६ करोड २ लाख ६८ हजार रुपैयाँमा पुग्यो । त्यसपछि बजार पुँजीकरण बढेर साउन १ गते १८ खर्ब ३५ अर्ब ४२ करोड ८ लाख २९ हजार रुपैयाँ रहेकोमा साउन अन्तिम अर्थात साउन ३२ गतेसम्म आइपुग्दा १८ खर्ब ३६ अर्ब ७९ करोड ४ लाख ३५ हजारमा पुगेको थियो ।

बिहीबार अर्थात भदौ २५ गतेसम्म आइपुग्दा लगानीकर्ताको सम्पत्ति निरन्तर बढेर २० खर्ब २१ अर्ब ७४ करोड ९ लाख ९५ हजार रुपैयाँ पुगेको छ ।

लकडाउन हुनु अघिल्लो दिन नेप्से सूचक १२५१.४५ बिन्दुमा रहेको थियो । ५ महिनाको अवधिमा नेप्से सूचक २६९.२४ अंकले बढेर १५२०.६९ बिन्दुमा पुगेको छ ।

लकडाउनको समयमा कारोबार नहुने र त्यसपछि खुलेको बजारमा पनि समय समयमा अस्वभाविक रुपमा घटबढ हुनुले लगानीकर्तामा निकै निराश बढेको थियो ।

पछिल्लो समयमा भने बजारमा लगानीकर्ताको मनोबल बढेसँगै लगानीकर्ताको सम्पति पनि निरन्तर बढी रहेको छ । जसको कारण ५ महिनामा बजार पुँजीकरण ४ खर्ब २१ अर्ब ५५ करोड २ लाख ६७ हजार रुपैयाँले बढेको छ ।

६ वटा नयाँ कम्पनीको मात्रै सवा १ खर्ब
नेप्सेका अनुसार यस अवधिमा नयाँ सूचिकृत भएका ६ वटा कम्पनीको बजार पुँजीकरण मात्र १ खर्ब २० अर्ब ९८ करोड ९० लाख ६४ हजार ५६९ रुपैयाँ छ ।

जसमा नेपाल पुनर्बीमा कम्पनीको ८९ अर्ब ५० करोड रुपैयाँ, एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेन्ट लिमिटेडको ४ अर्ब ४० करोड ६१ लाख ३३ लाख ३६९ रुपैयाँ बजार पुँजीकरण छ ।

यता रिलायन्स लाइफ इन्स्योरेन्सको ८ अर्ब ६३ करोड १० लाख रुपैयाँ, अजोड इन्स्योरेन्सको ५ अर्ब २५ करोड, साधना लघुवित्त वित्तीय संस्था १ अर्ब ९६ करोड ८७ लाख ३१ हजार २ सय, एनआईसी एसिया लघुवित्त वित्तीय संस्थाको बजार पुँजीकरण ११ अर्ब २३ करोड ३२ लाख रुपैयाँ छ ।


क्लिकमान्डु