१३० व्यवसायीलाई ७ दिनभित्र उपस्थित हुन राजस्व अनुसन्धान विभागको निर्देशन
काठमाडौं । राजस्व अनुसन्धान विभागले राजस्व चुहावट गर्ने र नक्कली मूल्य अभिवृद्धि कर (भ्याट) तिर्न अटेर गर्ने १३० व्यवसायिक फार्म तथा कम्पनीलाई ७ दिनभित्र उपस्थित हुन जानकारी गराएको छ ।
विभागले बिहीबार एक सार्वजनिक सूचना प्रकाशित गरी उक्त जानकारी गराएको हो । विभागले यसअघि घर ठेगानामा पत्राचार गर्दा समेत उपस्थित हुन नआएपछि सार्वजनिक सूचनामार्फत् ७ दिनभित्र विभागमा उपस्थित हुन भनेको हो ।
अन्तशुल्क, भ्याट तिर्न अटेर गरिरहेका व्यवसायिक फार्म तथा कम्पनीमाथि नियमित अनुसन्धान गर्दै आएको विभागले पछिल्लो डेढ वर्षमा मात्रै १५ अर्ब रुपैयाँ बराबर दुरुपयोग गरेको अभियोगमा मुद्दा दायर गरिसकेको छ ।
विभागले ३०० भन्दाबढी व्यवसायिक फार्म तथा व्यापारिक संस्थाहरुको नियमित अनुगमन तथा अध्ययन गरिरहेको छ । सोही क्रममा बिहीबार सार्वजनिक सूचनामार्फत् १३० व्यवसायिलाई ७ दिनभित्र सम्पर्कमा आउन भनेको हो ।