युवराज खतिवडाको दोस्रो ‘इनिङ’, गल्ती सच्याउने अबसर



काठमाडौं । राष्ट्रियसभाको सांसदमा आफ्नो विषयलाई लिएर नेकपाभित्र विवाद चुलिएपछि अर्थमन्त्रालयका केही निकटस्त कर्मचारीहरुसँग अर्थमन्त्री डा. युवराज खतिवडाले ६ महिनाको लागि मात्र आफू मन्त्री नबन्ने सुनाएका थिए ।

यद्यपि राष्ट्रियसभाको सदस्य नभए पनि उनी बुधबार मन्त्रीपदमा नियुक्त भएका छन् । र, हिँजोसम्म सम्हाल्दै आएको अर्थ र सञ्चारमन्त्रीको जिम्मेवारी सम्हाल्ने भएका छन् ।

मन्त्री नियुक्त भएको गैरसांसद पद तथा गोपनीयताको सपथ लिएको ६ महिनाभित्र संघीय संसद्को सदस्य हुनुपर्ने संबैधानिक व्यवस्था छ ।

राष्ट्रियसभामा मंगलबार कार्यकाल सकिएपछि अर्थ र संचारमन्त्रीबाट डा युवराज खतिवडाले राजीनामा दिए । उनको राजीनामा मंगलबार नै स्वीकृत भयो । र, बुधबार पुनः प्रधामन्त्रीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले मन्त्री पदमा नियुक्त गर्दै उनलाई अर्थ र संचारमन्त्रालयको जिम्मेवारी दिएकी छन् ।

बुधबारदेखि खतिवडाको मन्त्री पदमा दोस्रो इनिङको सुरुवात हुँदैछ । एउटै सरकारमा अघिल्लो दिन राजीनामा दिने र अर्को दिन सोही पदमा नियुक्ति पाउने रेकर्ड समेत खतिवडाको नाममा नै बनेको छ ।

राष्ट्र बैंकमा क्याडर खतिवडा २ वर्षअघि अर्थात् २०७४ फागुन १४ गते पहिलो पटक अर्थमन्त्री बन्दा जुन उत्साह आर्थिक क्षेत्रसँग सरोकार राख्नेमा थियो । त्यो उत्साह यो पटक छैन । समग्रमा भन्नुपर्दा अर्थमन्त्री खतिवडाले २ वर्षको समय खेर नै फालेका छन् । किनभने शक्तिशाली सरकारको विज्ञ अर्थमन्त्री भएर पनि उनले अर्थतन्त्रमा सुधार गरेर देखाउन सकेनन् ।

प्रधानमन्त्री केपी शर्मा ओलीले अगाडि सारेको ‘सम्बृद्ध नेपाल, सुखी नेपाली’को प्रमुख सारथीको रुपमा आएका खतिवडाले कार्यकालको सुरुवात नै नकारात्मक सन्देश फैलाउने तरिकाबाट गरे ।

अर्थमन्त्री भएपछि अर्थतन्त्रको तस्बिर देखाउनको लागि जारी गरेको श्वेतपत्रमा विगतमा भएको उपलब्धीलाई अस्विकार गर्दै अर्थतन्त्र खराब रहेको देखाउने प्रयास खतिवडाले गरेका थिए ।

पार्टीमा निर्वाचित नभएको र राष्ट्रियसभामा मनोनित भएको हुँदा पार्टीका कार्यकर्ता र निर्वाचन क्षेत्रको लागि चित्त बुझाउनु पर्ने अवस्था खतिवडालाई थिएन । प्रधानमन्त्री ओली बाहेक उनले अन्य मन्त्री र पार्टीकै बरिष्ठ नेताको समेत कुनै कुरा सुनेका थिएनन् ।

खतिवडाले २ वर्षको कार्यकालमा सबै कुरा आफुमा केन्द्रीत गर्न खोजे । ३० वर्ष राष्ट्र बैंकमा बिताएर गभर्नर बनेर अवकास पाएका खतिवडाले टिमवर्कले काम हुन्छ भन्ने कुरा नै हेक्का राखेनन् । जसको कारण अर्थमन्त्रालयमा अर्थमन्त्रीसँग कर्मचारीहरुको औपचारिक बाहेक अनौपचारिक कुराकानी नै हुन छाड्यो ।

अर्काको कुरा सुन्न नै नचाहने र व्यवसायीलाई गाली मात्र गर्ने स्वभावको कारण व्यवसायीहरुले प्रधानमन्त्रीलाई गुहार्न पुगे । सबै कुरा आफुले मात्र जानेको दम्भ खतिवडामा २ वर्षको कार्यकालमा देखियो ।

२ वर्षको कार्यकालमा खतिवडाले अर्थतन्त्रमा सुधार नै नगरेको भने होइन । तर, नीतिहरु एकैपटक ल्याउँदा व्यवसायीको मनोबल नै खस्कियो ।

तलबमा गरिएको अनिवार्य प्यान, भिसिटिएस, बैंक र करमा बुझाउने विवरण एउटै हुनुपर्ने र तिरेको भ्याट रकमको १० प्रतिशत उपभोक्तालाई फिर्ता दिने निर्णय अर्थतन्त्रमा सुधार ल्याउनको लागि आवश्यक नीतिगत सुधार नै थिए ।

तर, प्यान चरणबद्ध रुपमा सुरु गर्दा व्यवसायीको मनोबल बढ्ने थियो । एकैपटक सामाजिक सुरक्षा कोषदेखि प्यानसम्मको व्यवस्था कार्यान्वयनमा आउँदा अन्यौलतामा बढ्यो ।

यद्यपी खतिवडाले कार्यकालको अन्तिममा भने व्यवसायी बैंकरसँग खुलेर नै बहस गरे । सार्वजनिक कार्यक्रममा समेत आलोचना गर्ने काम गरेनन् ।

तर, राष्ट्र बैंकको गभर्नर भइसकेका खतिवडाले नियामक निकायलाई बलियो बनाउने भन्दा पनि कमजोर बनाउनेतर्फ अगाडि बढे । राष्ट्र बैंकको गभर्नर र डेपुटी गभर्नरले गर्नुपर्ने छलफल आफैं मन्त्रालयमा गरे भने कतिसम्म भने एउटा वाणिज्य बैंकको सीइओ नियुक्तीमा समेत खतिवडाले हस्तक्षेप गरेको आरोप लाग्यो । यसको अर्थ खतिवडा माइक्रोम्यानेजमेन्टमा लागे ।

२ वर्षे कार्यकालमा खतिवडाले गरेको अर्को गल्ती ज्वाँइमोह नै हो । राष्ट्र बैंकमा कार्यरत खतिवडाका छोरीज्वाँई डा. रामशरण खरेललाई पद बहालीको दिननै अर्थमन्त्रालयमा भित्र्याए ।

यसअघि राष्ट्र बैंकमा गभर्नर हुँदा निर्देशन जाने प्रचलन विपरित उपनिर्देशक तहका खरेललाई उनले आकर्षक सुविधा हुने अन्तर्राष्ट्रिय मुद्रा कोषमा पठाए । डेढवर्षसम्म अर्थमन्त्रालयमा बसेका खरेललले त्यहीबाट नै राष्ट्र बैंकमा निर्देशन दिने काम गरे । बरियतामा पछाडि भएपनि उपनिर्देशकबाट निर्देशक बन्न समेत खरेल यही बेला सफल भए ।

खतिवडाको नाममा नै अहिले नेकपामा विवाद देखिएको छ । यद्यपी प्रधानमन्त्री केपी शर्मा ओलीको मृगौला प्रत्यारोपणको कारण झगडा शान्त देखिएपनि त्यो पुनः उठ्ने छ ।

नेकपाको सचिवालयले राष्ट्रियसभामा खतिवडाको ठाउँमा बामदेव गौतमलाई लैजाने निर्णय गर्यो । तर, प्रधानमन्त्रीले त्यो प्रस्ताव नमान्ने बताए । प्रधानमन्त्री अस्पतालबाट नफर्कदासम्मको लागि राष्ट्रियसभामा को जाने भन्ने कुरा थाती रहेको छ ।

अघिल्लो पटकभन्दा थप चुनौती अहिले अर्थतन्त्रमा देखिएको छ । त्यो बेला व्यवसायीमा जुन उत्साह थियो त्यो उत्साह अहिले छैन । यसके मूख्य कारणको रुपमा खतिवडा आफैं हुन् ।

सुरुको वर्ष ८ प्रतिशत र चालु वर्षमा साढे ८ प्रतिशतको लक्ष्यका साथ ल्याइएको बजेट कार्यान्वयन अस्थिर सरकारजस्तै देखियो । जसमा खतिवडा २ वर्ष चुके । अब जेठ १५ मा बजेट ल्याउनुपर्ने काम खतिवडाको छ । जुन नेकपाको बलियो सरकार र खतिवडाले ल्याउने तेस्रो बजेट हो ।

अहिले देखिएको प्रमुख समस्या भनेको चीनबाट फैलिएको कोरोना भाइरसको प्रभाव हो । नेपालमा यो भाइरस अहिलेसम्म फेला नपरे पनि नेपाली अर्थतन्त्रलाई भने यसले प्रभाव पार्ने स्पष्ट देखाएको छ ।

पर्यटक संख्यामा कमी आएपछि होटलहरु खाली भएका छन् भने चीनबाट आउने सामान नआएको कारण यहा सामानको अभाव छ । विकास आयोजनाको समय पछाडि धकेलिने पक्का छ । यो चुनौतीलाई चिर्नु खतिवडाको अबको कार्यकालको पहिलो काम  हो ।

२ वर्षको अवधिमा खतिवडाको ठूलो उपलब्धि भनेको नेकपाको विश्वास गुमाए पनि प्रधानमन्त्री ओलीलाई विश्वासमा लिन सक्नु हो ।

अहिलेसम्मको प्रफर्मेन्सलाई हेर्दा खतिवडाले आगामी दिनमा यी समस्या चिरेर सफल अर्थमन्त्री बन्ने संभावना अलि कम नै देखिन्छ । तर, पछिल्लो समय उनले सुधारेको बोलि र व्यवहारबाट भने केही सुधार हुन्छ कि भन्ने अपेक्षा भने गर्ने थोरबहुत ठाउँ बाँकी नै छ ।


पुष्प दुलाल