ज्ञानमा होइन, व्यापार र नाफा हेरेर पुस्तकमा कर लगाइएको होः अर्थमन्त्री खतिवडा



काठमाडौं । अर्थ तथा सञ्चारमन्त्री डा. युवराज खतिवडाले पुस्तकमा कर लगाउने सरकारी नीतिको बचाउ गरेका छन् । पुस्तकमा कर लगाएको भन्दै सरकारको ब्यापक आलोचना भइरहेका बेला खतिवडाले यसको बचाउ गरे ।

सञ्चारमन्त्रीका रुपमा बिहीबार सरकारका निर्णय सुनाउन गरिएको पत्रकार सम्मेलनमा पुस्तकमा करको विषयमा प्रश्न उठेको थियो ।

‘पुस्तकको कर राम्रो कुरा उठाउनु भयो, पुस्तकको बिक्रीमा धेरै मुलुकहरुले कर लगाउँछ, तर त्यमसा १८ प्रतिशतसम्म छ, धेरै मुलुकमा ५/१० प्रतिशत छ,’ खतिवडाले भने ।

किन कर लगाइयो त्यो बुझ्नुपर्ने उनले सुझाए । मुलुकमा अर्बौ लगानीमा प्रेस स्थापना भएको र उनीहरुले बैंकबाट ऋण लिएको बताउँदै खतिवडाले स्वदेशी उद्योगलाई सरकारले संरक्षण गर्नेे प्रष्ट पारे ।

‘प्रेसले छापेर बिक्री गर्ने पुस्तकमा कर तिनुपर्छ, कागज आयात गर्दा १५ प्रतिशत कर तिर्नुपर्छ, उनले प्रश्न गरे, ‘कर नै नतिरी ल्याउने पुस्तकसँग कसरी टिक्ने ?’

राजस्व लाग्ने विषय होइन भनेर अन्डरमाइन गरिएको उनले जानकारी दिए ।

‘पुस्तकको व्यापार पनि व्यापार हो, ज्ञान व्यापार होइन, पुस्तक बेचेर कमाएको नाफामा कर लाग्छ, यसमा दिग्भ्रमित नहुनुहोस्,’ उनले भने, ‘एउटा पुस्तकबाट ३० देखि ४० प्रतिशत कमिसन लिनुहुन्छ अनि १० प्रतिशत तिर्दा समस्या किन ? पक्राउ भयो भने ज्ञान पक्राउ गरियो भन्न मिल्दैन, चोरी गरिएको ज्ञान पक्राउ गरिन्छ, साइबर ज्ञान पनि हुन्छ ।’

यो विषयमा आफू खुल्ला बहस गर्न तयार रहेको खतिवडाले बताए ।


पुष्प दुलाल