बैंकर उपेन्द्रः जोगले हुन्छ भेट, मायाँले हुन्छ सम्झना…
काठमाडौं । उपेन्द्र पौडेल अर्थात् पैसा खेलाएर पैसा उत्पादन गर्ने व्यक्ति ।
यत्तिमात्रै भन्यो भने उपेन्द्रलाई अन्याय हुन्छ । र, थप भन्नै पर्छ,- ‘३० वर्षको सक्रिय बैंकिङ छाडेर निष्कलंक छवि बनाउँदै बिदा भएको एउटा सफल र अनुभबी बैंकर ।’
आजदेखि एनएमबि बैंकको प्रमुख कार्यकारी अधिकृत पदबाट बाहिरिएका छन्, उनी ।
अब तपाईँलाई लाग्नसक्छ, ‘एउटा बैंकर जागिरबाट बाहिरिँदा उनीबारे यसरी आलेख नै तयार पारिरहनु पर्छ र ?’
हो, कुनै व्यक्ति जागिरमा आउँछ, जान्छ । त्यो सामान्य प्रक्रिया हो ।
तर, उपेन्द्रको विषय अलि फरक छ । अब उनलाई कहिल्यै पनि हामीले सक्रिय बैंकरको रुपमा देख्न पाउने छैनौं । अर्थात् आजदेखि नेपाली बैंकिङ उद्योगले एउटा सफल, अनुभवी र बिबादरहित कुशल व्यवस्थापकलाई अवकास दिएको छ ।
बैंकिङ क्षेत्रमा रहँदा उनले धेरै सुधारका कामहरु गरे । जुन कामले आगामी पुस्ताका बैंकरलाई मार्गदर्शन गर्नसक्छ ।
यति लामो सयम बैंकिङमा विताएका उपेन्द्र अब कहाँ जालान् ? के गर्लान् ? उनको अनुभव यो उद्योगले थप उपयोग गर्न पाउला कि नपाउला ?
‘सक्रिय भएर त म बैंकिङमा फर्किन्न, तर कहीँ न कहीँ यही उद्योगमा रहनेछु,’ उनले सुनाए ।
‘बिरामीको उपचार सफल हुँदा डाक्टरलाई जति सन्तुष्टि मिल्छ, आफूले ऋण दिएको व्यक्तिले ऋणको सदुपयोग गरी कमाएको देख्दा बैंकरको मन त्योभन्दा बढी सन्तुष्ट हुन्छ,’ पौडेलले भने ।
नीतिगत तहमा बसेर काम गर्ने अबसर पाए यो क्षेत्रको सुधारका लागि दिलोज्यान दिएर काम गर्ने उनको प्रतिवद्धता अझै छ ।
अहिले नै केही गर्ने योजना छैन उनको । तर, पूरै खाली बस्ने सोच पनि छैन ।
‘केही समय त रिटायर्ड लाइफ बिताउँछु, त्यसपछि केही न केही त पक्कै गर्छु,’ उनले क्लिकमाण्डूसँग भने ।
डाक्टर बन्न नसकेपछि बनेका बैंकर
बाल्यकालदेखि नै डाक्टर बन्ने सपना थियो उपेन्द्रको । जब उनले एसएलसी पास गरे, त्यहीबेला शिक्षण अस्पताल महाराजगञ्जमा डाक्टर अध्ययनका लागि ८ जनाको सिट खुलेको थियो । रातदिन नभनी पढेर परीक्षा त दिए उनले । तर फेल भए ।
अनि मोडियो उनको करियरको यात्रा । डाक्टर बढ्ने परीक्षमै फेल भएपछि सरस्वती क्याम्पसमा व्यवस्थापन पढ्न थाले ।
‘डाक्टर बन्न दिएको परीक्षामा फेल भएपछि म्यानेजम्यान्ट पढ्न सुरु गरेँ, त्यसबेलासम्म बैंकर हुन्छु भन्ने त सोचेको पनि थिइँन,’ उनी सम्झन्छन् ।
सपना नबोकी आएको पेसामा पनि सफल बनेर देखाइदिए उनले । यो सफलताको सूत्र हो, बैंकिङ करियर सुरु गरेपछि त्यसैमा रमाउनु ।
‘सोचेजस्तो हुन्न जिबन, जस्तो भोग्यो त्यस्तै हुन्छ, रोजेजस्तो हुन्न जिबन,…’ पौडेलले सुनाए ।
४ सय ६१ देखि ८ लाख २० हजार
सन् १९८० को कुरा हो, मासिक ४ सय ६१ रुपैयाँ तलब बुझ्थे उपेन्द्र । त्यसबेला उनी सोल्टी होटलको फाइनान्स डिपार्टमेन्टमा काम गर्थे ।
पछिल्ला केही वर्षयता उनको मासिक तलब/भत्ता साढे ८ लाख २० हजार रुपैयाँ थियो । र, यो पनि भन्नै पर्छ, एनएमबि बैंकबाट आफूले बुझ्ने तलबको ३५ प्रतिशत अर्थात करिब अढाई लाख रुपैयाँ राज्यलाई कर तिर्थे उनी ।
पौडेलको बैंकिङ करियर सन् १९८६ मा तत्कालीन ग्रिनलेज (हालको स्ट्यान्डर्ड चार्टर्ड) बाट सुरु भएको हो । त्यसबेला उनको तलब महिनाको २८ सय रुपैयाँ पुगिसकेको थियो । उनले ग्रिनलेजमा १४ वर्ष अर्थात् सन् २००० सम्म काम गरे ।
‘म ग्रीनलेजमा आवद्ध भएको महिना दिनपछि पर्शुराम कुँवर, अजय श्रेष्ठ, उदय उपाध्याय र सुदेश खालिङले काम सुरु गरे,’ उनले सुनाए ।
सँगसँगै जस्तो करियर सुरु गरेका कुँवर, श्रेष्ठ, उपाध्याय र खालिङ भिन्ना भिन्नै वाणिज्य बैंकको सिइओ भइसकेका छन् । उपेन्द्र भने एनएमबि बैंकको सिइओ भएर पनि रिटायर्ड भइसकेका छन् ।
यो रिटायर्डमेन्ट पनि उनको आफ्नै निर्णयका कारण हो । उनलाई अरु बाणिज्य बैंकले सिइओकै लागि अफर नगरेका पनि होइनन् । उनी कार्यरत एनएमबिले अर्काे कार्यकालको लागि सिइओ बनाउछु भनेर प्रस्ताब गरेकै थियो ।
ग्रीनलेजमा जागिर सुरु गरेको अर्को वर्षमा आयोजित सेमिनारमा उच्च व्यवस्थापनले उपेन्द्रलाई सोध्यो- तिम्रो सोच के छ ?
उनले फ्याट्ट जवाफ दिए,- पाँच वर्षमा विभागीय प्रमुख र १० देखि १५ वर्षमा सीइओ बन्ने ।
हतारमा कतै गलत जवाफ पो दिएँ कि भन्ने उनको मनको एक कुनामा नलागेको पनि होइन । तर, ‘मनमा जे आयो ‘अनेस्ट्ली’ त्यही भनेको हूँ, जे पर्छ पर्छ भन्ने सोचेर मन दह्रो बनाएँ,’ उनी त्यो क्षण सम्झँदै भन्छन् ।
परिणाम यस्तो भइदियो कि उनले दिएको त्यही जवाफ व्यवस्थापनलाई साह्रै चित्त बुझ्यो । र, उपेन्द्रको करियरको स्टेयरिङ मोडियो । गियर बदलियो । अनि गति तीब्र बन्यो ।
ग्रिनलेजले उनलाई पदोन्नति गर्यो । ५/७ वर्षपछि नै उनी बैंकको सिनियर म्यानेजर भए ।
ग्रिनलेजको बिराटनगर शाखामा काम गर्दा त्यहाँका माडबारी समुदायसँग अच्छा दोस्ती बनाएका थिए उपेन्द्रले ।
एक दिन बिराटनगरका व्यापारी पबन गोल्यानले उपेन्द्रलाई भेट्न बोलाए । र, नेपाल मर्चेन्ट बैंकिङ एण्ड फाइनान्सको सीइओ बन्न प्रस्ताब गरे ।
गोल्यानको प्रस्ताबले उपेन्द्रको मनमा ठूलै अन्तरद्धन्द्ध ल्यायो । भूइँचालो गएँझैं उनको मन हल्लियो– फाइनान्सको सीइओ बन्न जाउँ कि नजाउँ भनेर ।
उनले फाइनान्सका सबै वित्तीय सूचकांकहरु हेरेर विश्लेषण गर्दा कम्पनीको अवस्था चित्तबुझ्दो पाए । अनि ग्रिनलेजको जागिर छाडेर नेपाल मर्चेन्ट फाइनान्सको सीइओ बने ।
सन् २००८ मा फाइनान्स स्तरोन्नति भए एनएमबि बैंक बन्यो ।
उनी प्रवेश गर्दा फाइनान्सको चुक्ता पुँजी ७ करोड थियो । अहिले एनएमबि बैंकको चुक्ता पुँजी ७ अर्ब पुगिसकेको छ । लगानीकर्ताको पुँजी पनि राम्रैसँग बढाइदिए उपेन्द्रले ।
धेरैलाई करोडपति बनाए
यो अबधिमा धेरै सामान्य व्यक्तिलाई आफूले करोडपति बनाइदिएको उपेन्द्र बताउँछन् ।
‘मैले ऋण उपलब्ध गराएर धेरैलाई करोडपति बनाएको छु, जसले मलाई आत्मसन्तुष्टि मिल्छ,’ उनले सुनाए ।
तर, फेरि पनि डाक्टरकै उदाहारण दिए उनले । ‘बिरामीको उपचार सफल हुँदा डाक्टरलाई जति सन्तुष्टि मिल्छ, आफूले ऋण दिएको व्यक्तिले ऋणको सदुपयोग गरी कमाएको देख्दा बैंकरको मन त्योभन्दा बढी सन्तुष्ट हुन्छ,’ पौडेलले भने ।
उनको यो उदाहरणमा आफू डाक्टर बन्न नपाएकोमा कुनै पछुतो थियो वा थिएन उनै जानुन् ।
त्यो बैंकिङ र यो बैंकिङ
‘मैले बैंकिङ सुरु गर्दाको र अहिलेको बैंकिङमा आकाश-जमीनको अन्तर छ’ पौडेल भन्छन् । अबको बैंकिङ भनेको अझै प्रविधियुक्त र जनमूखी हुन जरुरी देख्छन् उनी ।
बैंकहरुले पूर्वाधार, साना तथा मझौला व्यवसाय र उर्जामा लगानी बढाउनुपर्ने उनको धारणा छ । परियोजना धितोमा कर्जा दिन सक्ने र दिने व्यवस्था मिलाउने लविङमा लागिरहने उनी बताउँछन् ।
र, नेता पनि
०७१ मंसिरमा वाणिज्य बैंकहरुको छाता संगठन नेपाल बैंकर्स संघको अध्यक्षमा निर्विरोध निर्वाचित भएका थिए उनी । उनको कार्यकालभर संघमा कुनै पनि विबाद सतहमा आएन ।
मधुसुदन र सोमना पौडेलको पहिलो सन्तानका रुपमा ०१५ सालमा काठमाडौंको बत्तीसपुतलीमा जन्मिएका उपेन्द्रले ०४९ मा त्रिविबाट व्यवस्थापनमा मास्टर्स गरेका थिए ।
र, अमृत गुरुङको गीत ‘जोगले हुन्छ भेट, मायाले हुन्छ सम्झना’ जस्तै भएको छ नेपाली बैंकिङ उद्योगको लागि उपेन्द्रको आगमन र वहिर्गमन ।
अर्थात् संयोगले उनी बैंकर बने र बैंकिङ क्षेत्रले नचाहँदा नचाहँदै बाहिरिए ।