इंग्लिस प्रिमियर लिगमा कुन खेलाडी कति मूल्यमा बिके, सबैभन्दा महँगो को ?

२४.१० अर्बमा चेल्सी पुगे रोजर्स

490
Shares

एजेन्सी । प्रिमियर लिगको यो ग्रीष्मकालीन ट्रान्सफर विन्डो १५ जून २०२६ मा सुरु भएको हो र १ सेप्टेम्बर राति ११ बजे बन्द हुनेछ । गत वर्ष इंग्लिस क्लबहरूले रेकर्ड ३ बिलियन पाउण्ड (६१८ अर्ब नेपाली रुपैयाँ) खर्च गरेका थिए र विश्वकपको बाबजुद यसपटक पनि बजार त्यत्तिकै तातो देखिएको ईएसपीएनले जनाएको छ ।

सबैभन्दा महँगो ब्रिटिश खेलाडी: मोर्गन रोजर्स

फब्रिजियो रोमानोका अनुसार मोर्गन रोजर्सले चेल्सीसँग छ वर्षे सम्झौतामा हस्ताक्षर गरिसकेका छन् उनी एस्टन भिलाबाट ११७ मिलियन पाउण्ड (२४.१० अर्ब रुपैयाँ) मा चेल्सी गएका छन् । जुन कुनै एड-अन बिनाको पूर्ण निश्चित रकम हो । यसले तीन हप्ताअघि म्यानचेस्टर सिटीले नटिङ्घम फरेस्टबाट एलियट एन्डरसनका लागि तिरेको ११६ मिलियन पाउण्ड (२३.९० अर्ब रुपैयाँ) को ब्रिटिश रेकर्डलाई तोडेको छ।

समग्र प्रिमियर लिग रेकर्ड भने अझै इसाककै नाममा

समग्र प्रिमियर लिग इतिहासको सबैभन्दा महँगो ट्रान्सफर भने गत वर्षको लिभरपुल-इसाक डिल १२५ मिलियन पाउण्ड (२५.७५ अर्ब) नै हो । रोजर्स र एन्डरसनको रेकर्ड ‘ब्रिटिश खेलाडी’को हकमा मात्र हो।

टोटेनहामको ठूलो खर्च

टोटेनहाम हटस्पर यस ग्रीष्मको सबैभन्दा सक्रिय क्लब बनेको छ जसले साण्ड्रो टोनाली, माटेउस फर्नान्डेज र जान पल भान हेकमा गरी संयुक्त रूपमा २३० मिलियन पाउण्ड (४७.३८ अर्ब) खर्च गरेको छ । ब्राइटनले उनैको भान हेक प्रतिस्थापनका लागि लुका भुस्कोभिचलाई क्लब-रेकर्ड ४६ मिलियन पाउण्ड (९.४८ अर्ब) मा साइन गरेको छ।

चेल्सी: ठूलो बिक्री र किनमेल दुवैमा सक्रिय

रोजर्सबाहेक चेल्सीले जिओभानी क्वेन्डा, डेनर, दास्तान सत्पायेभ, इमानुएल इमेगा र मार्को पालेस्ट्रालाई साइन गरेको छ । जबकि मार्क कुकुरेला रियल मड्रिडलाई, टाइरिक जर्ज एभर्टनलाई र आन्द्रे सान्तोस म्यानचेस्टर युनाइटेडलाई बेचिएका छन् ।

न्युकासल: गोर्डन बिक्री, गुइमाराएस वार्तामा

न्युकासलले आफ्नो स्टार एन्थोनी गोर्डनलाई बार्सिलोनामा ६९.३ मिलियन पाउण्ड (१४.२८ अर्ब) मा बेचेको छ। अहिले आर्सेनल र न्युकासलबीच ब्रुनो गुइमाराएसको ट्रान्सफरबारे वार्ता चलिरहेको छ । आर्सेनलका पहिलो दुई प्रस्ताव ५५ मिलियन पाउण्ड र ६५ मिलियन पाउण्ड अस्वीकृत भइसकेका छन्, तेस्रो प्रस्ताव अझै टुंगिएको छैन ।

म्यानचेस्टर युनाइटेड: होजलुन्ड बिक्री, सम्मरभिल गुम्यो

युनाइटेडले नर्वेजियन स्ट्राइकर रासमस होजलुन्डलाई नापोलीमा ३८ मिलियन पाउण्ड (७.८३ अर्ब) मा बेचेको छ, भने भिलाबाट युरी टिलेम्यान्सलाई ३५ मिलियन पाउण्ड (७.२१ अर्ब) मा ल्याएको छ। तर क्लबको लक्ष्यमा रहेका वेस्ट ह्यामका क्रिसेन्सियो सम्मरभिलेका लागि साउदी क्लब अल-हिलालले करिब ६० मिलियन पाउण्ड (१२.३६ अर्ब) को प्रस्ताव स्वीकृत गराएकाले युनाइटेडलाई ठूलो झट्का परेको छ।

आर्सेनल र एस्टन भिला

प्रिमियर लिग च्याम्पियन आर्सेनलले एल्चेबाट अल्भारो रोड्रिगेजलाई २१.५ मिलियन पाउण्ड (४.४३ अर्ब) मा साइन गरेको छ । एस्टन भिलाले फ्राइबर्गबाट जोहान मान्जाम्बीलाई ५९.५ मिलियन पाउण्ड (१२.२६ अर्ब) मा र वुल्भरह्याम्प्टनबाट जोआओ गोम्सलाई ३८ मिलियन पाउण्ड ( ७.८३ अर्ब) मा ल्याएको छ, भने डच फर्वार्ड डोन्येल मालेनलाई रोमामा २१.६ मिलियन पाउण्ड (४.४५ अर्ब) मा र युरी टिलेम्यान्सलाई युनाइटेडमा ३५ मिलियन पाउण्ड (७.२१ अर्ब) मा बेचेको छ।

प्रवर्धित र साना क्लबहरू

इप्सविच टाउनले लेस्टर सिटीबाट अब्दुल फातावु इसाहाकुलाई करिब २० मिलियन पाउण्ड (४.१२ अर्ब) मा ल्याएको छ । लिड्स युनाइटेडले सासुओलोबाट तारिक मुहारेमोभिचलाई ३४.१ मिलियन पाउण्ड (७.०२ अर्ब) मा साइन गरेको छ भने कोभेन्ट्री सिटीले आइन्ट्राख्ट फ्रान्कफुर्टबाट औरेल आमेन्डालाई करिब १५.४ मिलियन पाउण्ड (३.१७ अर्ब) मा ल्याएको छ।

अझै टुंगिन बाँकी

मार्कस र्‍यासफोर्डको भविष्य अझै अनिश्चित छ । मोहम्मद सालाह लिभरपुलबाट फ्री एजेन्ट भइसकेका छन् र तुर्कीको बेसिक्ताशसँग वार्तामा छन्, तर एजेन्टको कमिसन विवादले डिल अझै अन्तिम रूपमा टुंगिएको छैन।

टप ५ (हालसम्मको समग्र प्रिमियर लिग इतिहास)

स्थानखेलाडीट्रान्सफरफी
अलेक्जान्डर इसाकन्युकासल → लिभरपुल£१२५मि (नेरु २५.७५ अर्ब)
मोर्गन रोजर्सएस्टन भिला → चेल्सी£११७मि (नेरु २४.१० अर्ब)
फ्लोरियन विर्जलेभरकुसेन → लिभरपुल£११६.५मि (नेरु २४.०० अर्ब)
एलियट एन्डरसननटिङ्घम फरेस्ट → म्यान सिटी£११६मि (नेरु २३.९० अर्ब)
मोइजेस काइसेडोब्राइटन → चेल्सी£११५मि (नेरु २३.६९ अर्ब)