मासु बेचेर एक वर्षमा बुढाथोकी कोल्ड स्टोरेजले कमायो १ अर्ब

854
Shares

काठमाडौं । बुढाथोकी कोल्ड स्टारेजले गत आर्थिक वर्षमा १ अर्ब ८ करोड ५० लाख रुपैयाँको व्यापार गरेको छ । कम्पनीले सन् २०२४ मा १ अर्ब २ करोड ९० लाख रुपैयाँ र सन् २०२३ मा १ अर्ब १ करोड रुपैयाँको व्यापार गरेको थियो ।

सन् १९९६ मा स्थापना भएको कम्पनीले सन् २०१५ सम्म कोल्ड स्टोरेजको व्यापार गर्दै आएको थियो । त्यसपछि कम्पनीले कुखुराको मासु प्रशोधन प्लान्ट स्थापना गरी मासु बिक्री सुरू गरेको थियो । साथै कम्पनीले पोर्क र बफको मासुको पनि बिक्री सुरू गरेको थियो । कम्पनीको काठमाडौंको सितापाइलामा प्रशोधन युनिट र कोल्ड स्टोरेज छ ।

कम्पनी हलालका लागि हलाल नेपाल सर्भिस प्रालिद्वारा इजाजतप्राप्त कम्पनी हो । कम्पनीको काठमाडौंमा १० वटा शाखा छन् । साथै, कम्पनीले होटल, ब्याङ्क्वेट, डिपार्टमेन्ट स्टोरमा पनि वितरण गर्दै आएको छ । कम्पनीले मासुको प्रकार, कुखुरा र फ्रोजन आइटमको बिक्री गर्दै आएको छ ।

कम्पनीले सन् २०२२ देखि २०२५ सम्म पुँजीगत खर्च गरी क्षमता विस्तार गर्दै छ । क्षमता विस्तारसँगै कम्पनीले वार्षिक एक अर्ब रुपैयाँको व्यापार गर्दै आएको छ । कम्पनीले गत आवमा १५ प्रतिशत सञ्चालन मार्जिन गरेको छ ।

कम्पनीले प्रति ब्याच १ लाख २० हजार कुखुरा उत्पादन गर्दै आएकोमा क्षमता विस्तार गरी प्रतिशत ब्याज २ लाख ६० हजार कुखुरा उत्पादन गर्दै आएको जनाएको छ ।

कम्पनीले ब्लास्ट फ्रिजिङ सुविधा, स्लटरहाउस, रिलेटेड इक्वीपमेन्ट र चिलिङ रुम क्षमता विस्तारका लागि निरन्तर लगानी गरिरहेका छन् । कम्पनीको कुल नगद सञ्चिति ७ करोड ५० लाख रुपैयाँ पुगेको छ । सन् २०२४ मा ७ करोड ३० लाख रुपैयाँ थियो ।

कम्पनीको समग्र गियरिङ अनुपात मध्यम स्तरमा रहेको छ । सन् २०२४ मा १.५९ गुणा रहेको समग्र गियरिङ अनुपात गत आवमा १.५६ गुणा रहेको छ । कम्पनीको ब्याज कवरेज अनुपात १.९५ गुणा रहेको छ । कम्पनीको कुल ऋण/कुल नगद सञ्चिति १२.०८ गुणा रहेको छ । सन् २०२४ मा ११.७२ गुणा थियो ।

बसन्तप्रकाश बुढाथोकी अध्यक्ष रहेको कम्पनीले दीर्घकालीन तथा अल्पकालीन कर्जाका लागि १ अर्ब ५० करोड रुपैयाँको रेटिङ गराएको छ । कम्पनीले दीर्घकालीन कर्जाका लागि ९८ करोड रुपैयाँ र अल्पकालीन कर्जाका लागि ५२ करोड रुपैयाँको रेटिङ गराएको हो ।