
काठमाडौं । अविमोच्य असञ्चिती अग्राधिकार सेयर (परपेचुअल नन–क्युमुलेटिभ प्रिफरेन्स सेयर)लाई पुँजीकोष दबाब हुँदा बैंक तथा वित्तीय संस्थालाई संकटमोचकको रुपमा मानिएको थियो । सोही कारण हालसम्म आधा दर्जन बढी बैंक तथा वित्तीय संस्थाले प्रिफरेन्सियल सेयर जारी गरिसकेका छन् ।
खासगरी यो सेयरलाई एडिसनल क्यापिटल (अतिरिक्त पुँजी) मानिने भएकाले कोर क्यापिटलमा थप भई बैंक तथा वित्तीय टायर वान क्यापिटल बढाउन मद्दत गर्दछ । त्यसैले वाणिज्य बैंकहरु यसतर्फ अगाडि बढेका थिए । पुँजीकोष पर्याप्तता ८ प्रतिशतभन्दा तल झरिसकेकाले त्यतिबेला बैंकहरु प्रिफरेन्सियल सेयर जारी गर्नतर्फ अग्रसर भएका थिए।
पुँजीकोष दबाब भएर कर्जा प्रवाहमा सकस भएका बेलामा बैंकहरुले प्रिफरेन्सियल सेयर जारी गर्नु ठिकै पनि थियो । सोही कारण कर्जाको माग उच्च र ब्याजदर पनि निकै माथि रहेका बेला बैंकहरुले पनि खुसीखुसी यो सेयर जारी गर्ने प्रक्रिया बढाए ।
सामान्यतः पुँजीको १० गुणासम्म कर्जा प्रवाह गर्न सक्ने स्पेस रहन्छ । सोही आधारमा ठूलो दरले कर्जा प्रवाह गरौंला र नाफा कमाऔंला भन्ने सोचले बैंकहरूले प्रिफरेन्सियल सेयर जारी गरेका थिए ।
उदाहरणका लागि नबिल बैंकले ५ अर्बको प्रिफरेन्सियल सेयर जारी गर्यो । यो सँगै उसले थप ५० अर्बको कर्जा प्रवाह गर्ने स्पेस पायो। तर, नबिलले ८ प्रतिशत रिटर्न (प्रतिफल) तोकेकाले ५ अर्बको अग्राधिकार सेयरका लागि वार्षिक ४० करोड रुपैयाँ प्रतिफल छुट्यानुपर्ने देखिन्छ ।
यसअनुसार हेर्दा उता ५० अर्ब कर्जाबाट वार्षिक ४ प्रतिशतसम्म स्प्रेड कायम गर्न सक्ने भएकाले २ अर्ब रुपैयाँ आम्दानी हुने देखियो । २ अर्बबाट खर्च कटाउँदा डेढ अर्ब रुपैयाँ जोगिने तथा त्यसमध्ये ४० करोड रुपैयाँ प्रिफरेन्सियल सेयरधनीको हुने र बाँकी साधारण सेयरधनीलाई प्रतिफल दिन मिल्ने नबिलको हिसाब थियो ।
त्यसैगरी प्रभु बैंक (प्रस्तावित)ले पनि ५ अर्ब, सिद्धार्थले साढे ३ अर्ब, माछापुच्छ्रेले ३ अर्ब र सानिमाले २ अर्ब रुपैयाँको प्रिफरेन्सियल सेयर जारी गरे । ती सबै बैंकको हिसाब नबिल बैंक जस्तै नै थियो ।
यदि सबै परिस्थिति पहिलाको झैं चलिरहेको हुन्थ्यो भने यो निकै सफल बिजनेस आइडिया थियो । तर, बजारमा छाएको सुस्ताको कारण कर्जाको माग बढेन । प्रतिस्पर्धाका कारण ब्याजदर घट्यो । सोहीअनुसार स्प्रेड दर पनि कम भयो ।
कर्जाको ब्याज नै बक्यौता हुन थाल्यो । खराब कर्जा बढिरह्यो । अर्बौं रुपैयाँको गैरबैंकिङ सम्पत्ति थपिए । यी कारण गरेको नाफाबाट पनि सबै रकम बाँड्न मिल्ने भएन । यस्तो परिस्थितिमा हिजो संकटमोचक भनिएको प्रिफरेन्सियल सेयर आजको दिनमा बैंकहरुका लागि गलपासो पो बन्ने हो कि ? भन्ने डर पैदा भएको छ ।
कसले कति रिटर्न दिनुपर्छ ? वितरणयोग्य नाफा कति छ ?

यो रिटर्न एमाउन्ट भनेको खुद नाफाको ७० प्रतिशतमात्र हो । अर्थात् प्रिफरेन्सियल सेयरलाई २ अर्ब १२ करोड रुपैयाँ प्रतिफल दिन यी ८ बैंकले ३ अर्ब ४ करोड रुपैयाँ बढी सञ्चालन आम्दानी गर्नुपर्ने हुन्छ ।
अझ सजिलो भाषामा यसरी बुझौं । कृषि विकास बैंकको प्रिफरेन्सियल सेयरमा प्रतिफल दर ६ प्रतिशत भनिए पनि यो प्रतिफल ३० प्रतिशत संस्थागत आयकर तिरिसकेको रकम हो यसर्थ इफेक्टिभ प्रतिफल दर भने ८.६ प्रतिशत हुन आउँछ ।
वाणिज्य बैंकहरुले चालु आर्थिक वर्षको तेस्रो त्रैमास अन्त्यसम्म अर्थात् नौ महिनामा ३९ अर्ब नाफा गर्दा पनि १२ अर्ब रुपैयाँ मात्रै वितरणयोग्य मुनाफा देखिन्छ । जसमध्ये ८ बैंककोमात्र हिसाब गर्ने हो भने उनीहरुको वितरणयोग्य नाफा ६ अर्ब ६२ करोड रुपैयाँ छ। र उनीहरुले अग्राधिकार सेयर धनीलाई नै २ अर्ब १२ करोड रुपैयाँ दिनुपर्ने हुन्छ ।
यही कारण हिजो सञ्जिवनी बुटी वा संकटमोचक मानिएको अविमोच्य असञ्चिति अग्राधिकार सेयर बैंकहरुलाई गलपासो बन्ने हो कि भन्ने देखिएको हो । किनकी बैंकहरुले एक रुपैयाँ नाफा गर्दा पनि गरेको प्रतिबद्धताअनुसार अविमोच्य असञ्चिति अग्राधिकार सेयरधनीलाई रिर्टन दिइराख्नु पर्छ ।
बैंकहरूले लगानी गर्न नसकिरहेको र व्यवसाय सुस्त रहेको बेला निक्षेप संकलन र पुँजी व्यवस्थापनका लागि यस्ता नयाँ तरिकाहरू अपनाउने गरेको भएपनि भविष्यमा भने यस निर्णयबाट बैंकहरु पछुताउनुपर्ने स्थिति पैदा हुन सक्छ ।
के हो अविमोच्य असञ्चिती अग्राधिकार सेयर ?
नेपाल राष्ट्र बैंकले गत आवको मौद्रिक नीतिको तेस्रो त्रैमासिक समिक्षामा गरेको व्यवस्था बमोजिम बैंक तथा वित्तीय संस्थाहरुलाई पुँजीकोष सवलीकरण गर्नका लागि हकप्रद सेयरको विकल्पको रुपमा गत २०८१ असार १२ गते सर्कुलर जारी गर्दै अविमोच्य असञ्चिति अग्राधिकार सेयर जारी गर्न बाटो खुलाएको थियो ।
अविमोच्य असञ्चिती अग्राधिकार सेयर एउटा यस्तो वित्तीय उपकरण हो जुन कहिल्यै साधारण सेयरमा परिवर्तन हुँदैन भने कम्पनीले यसको सावाँ नै फिर्ता गर्न पनि सक्दैन । यसमा राखिएका विभिन्न सर्तहरूले यसको खरिदबिक्री हुने सम्भावना पनि कम हुन्छ ।
साधारण सेयरमा जस्तो यसमा लगानीकर्तालाई सञ्चालक बन्ने वा मतदान गर्ने अधिकार हुँदैन । तर, यसको लाभांश भने निश्चित हुँदैन । यदि, कम्पनीले नाफा ग¥यो भने मात्र अरु सेयरधनीलाई नदिए पनि अग्राधिकार सेयरधनीलाई प्रतिबद्धता गरेको लाभांश दिनैपर्छ । यसमा ‘असञ्चिती’ भनिएकाले कुनै वर्ष नाफा नभएर लाभांश दिन नसकेमा, अर्को वर्ष त्यसलाई थपेर दिने बाध्यता कम्पनीलाई हुँदैन ।
बैंकहरूले यस्तो सेयर खासगरी आफ्नो वासलात (ब्यालेनसिट) सन्तुलनमा राख्न र पुँजीको स्रोतलाई विविधीकरण गर्न जारी गर्ने गर्छन् । यो ऋणपत्र र साधारण सेयरको बीचको एउटा मिश्रित स्वरूप हो । बैंकका लागि यो सस्तो र सजिलो स्रोत हो, किनकि यसमा ऋणपत्रमा जस्तो अनिवार्य ब्याज तिर्नु पर्दैन र साधारण सेयरमा जस्तो लगानीकर्तालाई कम्पनीको स्वामित्व वा अधिकार बाँड्नु पर्दैन।
विगतमा एभरेष्ट बैंकले जारी गरेको अग्राधिकार सेयर कस्तो थियो ?
विगतमा एभरेष्ट बैंकले जारी गरेको अग्राधिकार सेयरमा भने निश्चित समयपछि साधारण सेयरमा परिणत हुने र लाभांश पनि सञ्चित हुने सुविधा थियो, जुन लगानीकर्ताका लागि तुलनात्मक रूपमा बढी आकर्षक मानिन्थ्यो ।
एभरेष्ट बैंकले जारी गरेको अग्राधिकार सेयरमा ७ प्रतिशत लाभांश थियो र त्यो ‘सञ्चिती’ हुने प्रकृतिको थियो । साथै, प्रत्येक ५ वर्षमा २० प्रतिशतका दरले त्यो साधारण सेयरमा परिणत हुने सुविधा पनि थियो । जुन सेयर हाल साधारण सेयरमा परिणत भइसकेको छ ।
हाल प्रिफरेन्सियल सेयर जारी गरेका कम्पनीहरुले ८ प्रतिशत हाराहारीको लाभांश प्रस्ताव गरेका छन् । अहिले मुद्दती निक्षेपको ब्याजदर न्यून रहेको अवस्थामा प्रिफरेन्सियल सेयरमा लगानी गर्नेका लागि पनि फाइदाजनक नै देखिन्छ । तर, पछिका लागि भने संस्थागत लगानीकर्ताका लागि यो आकर्षक नहुनसक्छ ।
हालसम्म प्रिफरेन्सियल सेयर जारी गरेका बैंक
१. कृषि विकास बैंक
कृषि विकास बैंकले निकै पहिले ६ प्रतिशत प्रतिफल भएको ५ अर्ब ४३ करोड रुपैयाँ बराबरको अविमोच्य असञ्चिति अग्राधिकार सेयर निष्काशन गरेको छ । यो सबै प्रिफरेन्सियल सेयरधनी नेपाल सरकार हो ।
यसहिसाबले हेर्दा कृषि विकास बैंकले जति नाफा गरेपनि प्रिफरेन्सियल सेयरधनीलाई ३२ करोड ६० लाख रुपैयाँ प्रतिफल छुट्याउनुपर्छ ।
चालु आर्थिक वर्षको ९ महिनामा कृषि विकास बैंकको वितरणयोग्य नाफा ५६ करोड १९ लाख रुपैयाँ छ । यसको आधाभन्दा बढी रकम बैंकले प्रिफरेन्सियल सेयरधनीलाई नै बाँड्नुपर्ने देखिन्छ ।
यता यो प्रतिफलका लागि बैंकले अनिवार्य रुपमा करिब ४७ करोड रुपैयाँ अतिरिक्त सञ्चालन आम्दानी गर्नुपर्छ ।
२. नबिल बैंक
नबिल बैंकले प्रतिकित्ता १०० रुपैयाँको दरले ५ करोड कित्ता असञ्चिति अग्राधिकार सेयर निष्कासन गरेको थियो बैंकले प्रतिकित्ता १०० रुपैयाँको दरले ५ करोड कित्ता सेयर निष्कासन गरेको थियो । नबिलले कुल ५ अर्ब रुपैयाँ बराबरको असञ्चिति अग्राधिकार सेयर निष्कासन गरेको हो । नबिलले ‘नबिल ८ प्रतिशत अविमोच्य असञ्चिति अग्राधिकार सेयर’ जारी गरेको थियो । नबिलको अविमोच्य असञ्चिति अग्राधिकार सेयरमा लगानी गर्नेले ८ प्रतिशत लाभांश पाउनेछन् ।
यसहिसाबले हेर्दा नबिल बैंकले जति नाफा गरेपनि प्रिफरेन्सियल सेयरधनीलाई ४० करोड रुपैयाँ प्रतिफल छुट्याउनुपर्छ ।
चालु आर्थिक वर्षको ९ महिनामा नबिल बैंकको वितरणयोग्य नाफा ३ अर्ब ९० करोड रुपैयाँ छ । यसको आधाभन्दा वितरणयोग्य नाफाको १० प्रतिशत रकम बैंकले प्रिफरेन्सियल सेयरधनीलाई नै बाँड्नुपर्ने देखिन्छ ।
यता यो प्रतिफलका लागि बैंकले अनिवार्य रुपमा करिब ५७ करोड रुपैयाँ अतिरिक्त सञ्चालन आम्दानी गर्नुपर्छ ।
३. माछापुच्छ्रे बैंक
माछापुच्छ्रे बैंकले ३ अर्ब रुपैयाँ बराबरको अविमोच्य असञ्चिति अग्राधिकार सेयर निष्काशन गरेको छ । बैंकले १०० रुपैयाँ अंकित दरले कुल ३ करोड कित्ता अग्राधिकार सेयर निष्कासन गरेको छ जसको लाभांश दर ८.२५ प्रतिशत रहेको छ ।
यसहिसाबले हेर्दा माछापुच्छ्रे बैंकले जति नाफा गरेपनि प्रिफरेन्सियल सेयरधनीलाई २४ करोड ७५ लाख रुपैयाँ प्रतिफल छुट्याउनुपर्छ ।
चालु आर्थिक वर्षको ९ महिनामा माछापुच्छ्रे बैंकको वितरणयोग्य नाफा ७६ करोड ७० लाख रुपैयाँ छ । यसको एकतिहाई रकम बैंकले प्रिफरेन्सियल सेयरधनीलाई नै बाँड्नुपर्ने देखिन्छ ।
यता यो प्रतिफलका लागि बैंकले अनिवार्य रुपमा करिब ३६ करोड रुपैयाँ अतिरिक्त सञ्चालन आम्दानी गर्नुपर्छ ।
४. सानिमा बैंक
सानिमा बैंकले २ अर्ब रुपैयाँ बराबरको अविमोच्य असञ्चिति अग्राधिकार सेयर निष्काशन गरेको छ । बैंकले १०० रुपैयाँ अंकित दरले कुल २ करोड कित्ता अग्राधिकार सेयरको लाभांश दर ८.२५ प्रतिशत रहेको छ ।
यसहिसाबले हेर्दा सानिमा बैंकले जति नाफा गरेपनि प्रिफरेन्सियल सेयरधनीलाई १६ करोड ५० लाख रुपैयाँ प्रतिफल छुट्याउनुपर्छ ।
चालु आर्थिक वर्षको ९ महिनामा सानिमा बैंकको वितरणयोग्य नाफा १ अर्ब ३ करोड रुपैयाँ छ । यसको करिब १६ प्रतिशत रकम बैंकले प्रिफरेन्सियल सेयरधनीलाई नै बाँड्नुपर्ने देखिन्छ ।
यता यो प्रतिफलका लागि बैंकले अनिवार्य रुपमा करिब २३ करोड रुपैयाँ अतिरिक्त सञ्चालन आम्दानी गर्नुपर्छ ।
५. सिद्धार्थ बैंक
सिद्धार्थ बैंकले पनि ३ अर्ब ५० करोड रुपैयाँबराबरको एसबीएल अविमोच्य अञ्चिति अग्राधिकार सेयर जारी गरेको छ । जसअनुसार बैंकले १०० रुपैयाँ अंकित दरका कुल ३ करोड ५० लाख कित्ता अग्राधिकार सेयर जारी गरेको हो ।
यसहिसाबले हेर्दा सिद्धार्थ बैंकले जति नाफा गरेपनि प्रिफरेन्सियल सेयरधनीलाई २८ करोड ८७ लाख रुपैयाँ प्रतिफल छुट्याउनुपर्छ ।
चालु आर्थिक वर्षको ९ महिनामा सिद्धार्थको वितरणयोग्य नाफा ८३ करोड ६९ लाख रुपैयाँ छ । यसको एकतिहाईभन्दा बढी रकम बैंकले प्रिफरेन्सियल सेयरधनीलाई नै बाँड्नुपर्ने देखिन्छ ।
यता यो प्रतिफलका लागि बैंकले अनिवार्य रुपमा करिब ४२ करोड रुपैयाँ अतिरिक्त सञ्चालन आम्दानी गर्नुपर्छ ।
६. एनएमबि बैंक
एनएमबि बैंकले ३ अर्ब रुपैयाँ बराबरको अविमोच्य असञ्चिति अग्राधिकार सेयर निष्काशन गरेको छ । ३ अर्ब रुपैयाँ बराबरको ३ करोड कित्ता अग्राधिकार सेयरको लाभांश दर ८.२५ प्रतिशत रहेको छ ।
यसहिसाबले हेर्दा एनएमबि बैंकले जति नाफा गरेपनि प्रिफरेन्सियल सेयरधनीलाई २४ करोड ७५ लाख रुपैयाँ प्रतिफल छुट्याउनुपर्छ।
चालु आर्थिक वर्षको ९ महिनामा एनएमबिको वितरणयोग्य नाफा ८६ करोड ४२ लाख रुपैयाँ छ । यसको करिब एक तिहाई रकम बैंकले प्रिफरेन्सियल सेयरधनीलाई नै बाँड्नुपर्ने देखिन्छ ।
यता यो प्रतिफलका लागि बैंकले अनिवार्य रुपमा करिब ३६ करोड रुपैयाँ अतिरिक्त सञ्चालन आम्दानी गर्नुपर्छ ।
७. कामना सेवा विकास बैंक
कामना सेवा विकास बैंकले ३५ लाख कित्ता बराबरको ३५ करोड रुपैयाँको अविमोच्य असञ्चिति अग्राधिकार सेयर जारी गरेको थियो। ‘केएसबीबीएल ९ प्रतिशत’ अविमोच्य असञ्चिति अग्राधिकार सेयर’ को लाभांश दर ९ प्रतिशत रहेको छ ।
यसहिसाबले हेर्दा कामना सेवा विकास बैंकले जति नाफा गरेपनि प्रिफरेन्सियल सेयरधनीलाई ३ करोड ५१ लाख रुपैयाँ प्रतिफल छुट्याउनुपर्छ ।
चालु आर्थिक वर्षको ९ महिनामा कामना सेवाको वितरणयोग्य नाफा ३८ करोड ४३ लाख रुपैयाँ छ । यसको करिब १० प्रतिशत रकम बैंकले प्रिफरेन्सियल सेयरधनीलाई नै बाँड्नुपर्ने देखिन्छ ।
यता यो प्रतिफलका लागि बैंकले अनिवार्य रुपमा करिब ५ करोड रुपैयाँ अतिरिक्त सञ्चालन आम्दानी गर्नुपर्छ ।
८. प्रभु बैंक (प्रस्तावित)
प्रभु बैंकले ५ अर्ब रुपैयाँ बराबरको अविमोच्य असञ्चिति अग्राधिकार सेयर जारी गर्ने प्रस्ताव गरेको छ । बैंकले ८.५० प्रतिशत लाभांश दर कायम गरी मुनाफा भएको वर्षमात्र मुनाफा वितरण गर्ने गरी व्यक्तिगत तवरबाट संस्थागत लगानीकर्ताहरुलाई मात्र बिक्री गरिने प्रति सेयर १०० रुपैयाँ दरका ५ करोड इकाई अर्थात ५ अर्ब बराबरको अविमोच्य असञ्चिति अग्राधिकार सेयर जारी गर्ने प्रस्ताव गरेको छ । तर, हालसम्म घटामा रहेको यस बैंकले प्रिफरेन्सियल सेयर जारी गर्ने अनुमति पाइसकेको छैन ।
यसहिसाबले हेर्दा प्रभु बैंकले जति नाफा गरेपनि प्रिफरेन्सियल सेयरधनीलाई ४२ करोड ५० लाख रुपैयाँ प्रतिफल छुट्याउनुपर्छ ।
चालु आर्थिक वर्षको ९ महिनामा प्रभु बैंकको सञ्चित नोक्सानी १ अर्ब ७२ करोड रुपैयाँ छ । अर्थात् बैंकले प्रिफरेन्सियल सेयरधनीलाई प्रतिफल दिनै सक्दैन । यदि नाफा भएर यो प्रतिफल दिनै हो भने पनि बैंकले अनिवार्य रुपमा सञ्चालन नाफा ६० करोड रुपैयाँ हुने नयाँ बिजेनस खोज्नु पर्नेछ ।

अग्राधिकार सेयर जारी गर्नुको अर्थ के हो ?
बासेल ३ को अन्तर्राष्ट्रिय बैंकिङ अभ्यासअनुसार नियामक निकाय नेपाल राष्ट्र बैंकले प्रत्येक बैंकले जोखिमका आधारमा पुँजी राख्नुपर्ने व्यवस्था गरेको छ । सो व्यवस्थाअनुसार बैंकको जोखिम जति धेरै हुन्छ, उति धेरै पुँजी आवश्यक हुन्छ ।
बैंक सञ्चालनमा मुख्यतः ३ प्रकारको जोखिम रहन्छ । यी जोखिम निवारण गर्न क्यापिटल एडुक्वेसी फ्रेमवर्क २०१५ ले बैंकहरुले ३ किसिमले पुँजी कायम गर्नुपर्ने बाध्यकारी व्यवस्था गरेको छ ।
बासेल ३ कार्यान्वयनमा आएसँगै कम्प्लायन्स बेस्ड (अनुपालनमा आधारित) सुपरभिजनभन्दा (नियमनभन्दा) रिस्क बेस्ड (जोखिममा आधारित) नियमन केन्द्रीत नीति निर्देशन संसारभरका केन्द्रीय बैंकले अबलम्बन गरिरहेका छन् ।
क्यापिटल एडुक्वेसी फ्रेमवर्कअनुसार बैंकहरुले न्यूनतम ८.५ प्रतिशत प्राथमिक पुँजी अनुपात र ११ प्रतिशत पुँजीकोष अनुपात कायम गर्नुपर्छ । यसको अर्थ के हो भने कुनै बैंकले १०० रुपैयाँ कर्जा दिँदा ११ रुपैयाँ लगानीकर्ताको पुँजी हाल्नुपर्छ ।
प्राथमिक पुँजीमध्ये कमन इक्विटी क्यापिटल रेसियो ४.५ प्रतिशत र त्यसमा २.५ प्रतिशत थप क्यापिटल कन्जरभेसन (पुँजी संरक्षण) बफर कायम गर्नुपर्छ । यस्तै बैंकसँग १.५ प्रतिशत थप पुँजी (एडिसनल क्यापिटल) हुनुपर्छ । यी ३ पुँजीको योग ‘टियर १’ क्यापिटलअन्तर्गत पर्छ । बफरबाहेक बैंकहरुले कायम गर्नुपर्ने पुँजी अनुपात ६ प्रतिशतमात्र हो ।
यसैगरी थप २.५ प्रतिशत पुरक पुँजी आवश्यक रहन्छ । यसरी न्यूनतम ११ प्रतिशत पुँजीकोष अनुपात कायम गरेका बैंक जोखिमअनुसार पुँजी पर्याप्त भएको मानिन्छ । र, यसैगरी कहिलेकाहीँ आवश्यकताअनुसार थप ०.५ प्रतिशत पुँजी काउन्टर साइक्लिकल बफर कायम गर्नुपर्छ ।
जसमध्ये तेस्रो अर्थात् एडिसनल (अतिरिक्त) पुँजीमा इक्विटी र दायित्व दुवैका रुपमा वर्गीकृत हुने उपकरण थप पुँजीको रुपमा गणना हुन्छन् । पर्पेचुअल डेब्ट इन्स्ट्रुमेन्ट (पीडीआई) र पर्पेचुअल नन–क्युमुलेटिभ प्रिफरेन्सियल सेयर दुई यस्ता उपकरण हुन् जो बैंकहरुको अतिरिक्त पुँजी हुन् ।
प्राथमिक पुँजीमा पनि बैंकहरुको कमन इक्विटी (न्यूनतम ४.५ प्रतिशत हुनुपर्ने) पर्याप्त नै छ । त्यसमा पुँजी संरक्षण बफर २.५ थप्दा थप पुँजीबाहेक ७ प्रतिशत प्राथमिक पुँजी हुनुपर्छ । २०८० पुस तिरेको परिस्थितिमा बैंकहरुले बफरसहित ८.५ प्रतिशतको हाराहारीमा कमन इक्विटी कायम गरेका थिए ।
उनीहरुमध्ये कृषि विकास बैंकले मात्र एडिसनल क्यापिटलमा जोड्न मिल्ने पर्पचुअल प्रिपरेन्सियल सेयर जारी गरेको थियो । त्यतिबेला एनआईसी एशिया, प्रभु र कुमारी बैंक पुँजीकोषको व्यापक दबाबमा थिए ।
खासगरी कर्जाको गुणस्तर खस्किँदा बैंकहरुको प्राथमिक पुँजीमा दबाब परेको थियो । कर्जाको ब्याज समयमा प्राप्त भइरहेको थिएन, कर्जा निष्क्रिय भइरहेका थिए र गैरबैंकिङ सम्पत्ति बढेको थियो ।
टियर २ क्यापिटलले दबाबका बेला ‘कुसन’ को काम परेपनि पुरक पुँजीले बैंकको दीर्घकालीन स्थायित्व र वृद्धिमा टेवा पु¥याउन सक्थेन । त्यसैले बैंकहरुसँग प्राथमिक पुँजी नै बढाउनुपर्ने विकल्प थिएन ।
बैंकहरुले पुँजी बढाउनका लागि हकप्रद सेयर (सेयरधनीले पैसा थप्ने) र नाफाबाट बोनस सेयर दिने परम्परागत दुई विकल्प छन् । तर, पुँजीको तुलनामा नाफा नबढ्नाले बोनस सेयर मुस्किल थियो । यता नियामक राष्ट्र बैंकले बैंकहरु ओभरक्यापिटलाइज्डको सिकार बन्ने र विगतमा जस्तै अन्धाधुन्ध कर्जा विस्तार हुने डरले हकप्रद सेयर दिन रोकेको थियो ।
यो अवस्थामा पर्पेचुअल प्रिफरेन्सियल सेयर टियर १ पुँजी बढाउने सबैभन्दा उपयुक्त उपकरण बन्ने आँकलन गरिएको थियो ।
त्यसो भए के हो त पर्पेचुअल नन्–क्युमुलेटिभ प्रिफरेन्सियल सेयर ? विस्तृतमा बुझौं ।
कम्पनीले आर्जन गरेको मुनाफाबाट तोकिएको दरमा लाभांश वितरण गर्ने गरी जारी गरिएको सेयरलाई अग्राधिकार सेयर भनिन्छ । कम्पनीले वितरण गर्ने लाभांश सम्बन्धमा साधारण सेयरवालाको भन्दा अग्र अधिकार हुने हुनाले नै यसलाई अग्राधिकार सेयर भनिएको हो ।
कम्पनी खारेजीमा जाने भएमा पनि आफ्नो लगानी र सञ्चित लाभांश प्राप्त गर्ने सम्बन्धमा अग्राधिकार सेयरवालाहरुको पहिलो अधिकार हुन्छ । यसै कारण अग्राधिकार सेयरमा गरिने लगानीलाई तुलनात्मकरुपमा कम जोखिमपूर्ण मानिन्छ ।
तर, सम्बन्धित कम्पनीले कुनै वर्ष नाफा आर्जन गर्न नसकेमा अग्राधिकार सेयरवालाहरुले तोकिएको दरमा लाभांश प्राप्त गर्न सक्दैनन् । त्यसविपरित कम्पनीले जतिसुकै नाफा आर्जन गरे पनि अग्राधिकार सेयरवालाहरुले तोकिएको दरभन्दा बढी लाभांश प्राप्त गर्न सक्दैनन् । यसकारण अग्राधिकार सेयरमा गरिने लगानीमा जोखिम पनि कम र प्रतिफल पनि कम हुन्छ । अग्राधिकार सेयरवालाहरुले आफ्नो हकहितसँग सम्बन्धित विषयमा छलफल हुने अवस्थामा वाहेक अन्य अवस्थामा कम्पनीको वार्षिक साधारण सभामा भाग लिन पनि पाउँदैनन् ।
अग्राधिकार सेयरहरु सञ्चयशील (क्युमुलेटिभ अर्थात् कुनै वर्ष कम्पनी नोक्सानमा गई लाभांश भुक्तानी गर्न नसक्दा लाभांश सञ्चय भई आगामी वर्षको नाफाबाट भुक्तानी गर्नुपर्ने) वा असञ्चयशील (नन्–क्युमुलेटिभ), विमोच्य (रिडिमेबल अर्थात् निश्चित समयावधि पछि फिर्ता भुक्तानी दिइने) वा अविमोच्य (इरिडिमेबल–पर्पेचुअल) र परिवर्तनशील (कन्भर्टिबल अर्थात् निश्चित समयावधी पछि साधारण सेयरमा परिवर्तन गर्न सकिने) वा अपरिवर्तनशील (नन्–कन्भर्टिबल) प्रकृतिका हुन्छन् ।
यसको अर्थ पर्पेचुअल नन्–क्युमुलेटिभ प्रिफरेन्सियल सेयर भन्नाले नाफा भएको वर्षमात्र लाभांश पाउने, कम्पनी अस्तित्वमा रहेसम्म चलिरहने अग्राधिकार सेयर हो । तर, बैंकले चाहेको बेला ‘फिर्ता लैजाऊ’ भन्न सक्छ ।





प्रतिक्रिया