पुँजीबजार सुधारमा दृढ भएर लाग्ने प्रधानमन्त्रीको प्रतिबद्धता, सेयर लगानीकर्ताको मनोबल उच्च

238
Shares

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहसँगको भेटपछि पुँजीबजारका सरोकारवाला तथा लगानीकर्ता उत्साहित देखिएका छन् । सोमबार बालेनसँगको भेटघाट तथा छलफलपछि लगानीकर्ताहरुले प्रतिक्रिया दिँदै बजारका पक्षमा प्रधानमन्त्रीले गरेको प्रतिबद्धताले सकारात्मक सन्देश दिएको बताएका हुन् ।

प्रधानमन्त्रीसँगको भेटपछि क्लिकमान्डुसँग कुराकानी गर्दै स्टक ब्रोकर एसोसिएसन अफ नेपालका अध्यक्ष सागर ढकालले आफूहरुको मनोबल उच्च बनेको बताए ।

‘भेटका क्रममा प्रधानमन्त्रीले पुँजीबजार प्राथमिकतामा रहेको र बजार सुधारको हितमा काम गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो,’ ढकालले भने, ‘उहाँले हाम्रा समस्याहरु एकदमै धेरै समय दिएर सुन्नुभयो र समाधानमा काम विश्वास दिलाउनुभयो जुन बजारका लागि निकै राम्रो कुरा हो ।’

उनले प्रधानमन्त्रीले आफूले बोल्नेभन्दा पनि आफूहरुको समस्या बढी सुनेको र समस्या समाधान तथा पुँजीबजार विकासमा काम गर्ने आश्वासन दिनुभएको जानकारी दिए ।

भेटपछि सेयर लगानीकर्ता अम्बिका पौडेलले पनि आफूहरुको मनोबल बढाउने ढंगमा प्रधानमन्त्रीले काम गरेको भन्दै खुसी व्यक्त गरे ।

‘प्रधानमन्त्रीले समग्र पुँजी बजारको विकास र विस्तारको लागि, लगानीकर्ताको कन्फिडेन्सको लागि काम भइरहेको उल्लेख गर्नुभयो,’ पौडेलले भने, ‘साथै, उहाँले लगानीकर्ताको मनोबल बढाउनको लागि आवश्यक सम्पूर्ण कार्य गर्ने विश्वास दिलाउनु भएको छ ।’ उनले समग्रमा प्रधानमन्त्री शाहसँगको भेटले आफूहरुको मनोबल बढाएर लगेको बताए ।

प्रधानमन्त्रीसँगको निर्णायक छलफलपछि सेयर लगानीकर्ताहरूको मनोबल निकै बढेर गएको धारणा उनले व्यक्त गरेका छन् ।

‘प्रधानमन्त्रीले पुँजी बजारलाई अर्थतन्त्रको महत्त्वपूर्ण खम्बाका रूपमा स्वीकार गर्दै यसले रोजगारी सिर्जना र पुँजी परिचालनमा योगदान पु¥याउनुपर्ने धारणा राख्नुभयो,’ पौडेलले भने, ‘उहाँले बजारमा देखिएका नीतिगत अड्चनहरू सुल्झाउन र लगानीकर्ताको आत्मविश्वास फर्काउन आफू व्यक्तिगत रूपमा गम्भीर रहेको र यसका लागि आवश्यक कार्यहरू अगाडि बढिसकेको विश्वास दिलाउनुभएको छ ।’

उनले छलफलमा लगानीकर्ताहरूले मुख्य रूपमा कर प्रणालीमा रहेको त्रुटि सुधार गरी घाटा समायोजन गरेर मात्रै कर लिने व्यवस्था गर्न, बैंकहरू मार्फत प्रवाह हुने ऋणलाई सहज बनाउन र गैरआवासीय नेपालीहरूको लगानीलाई सरल प्रक्रियाबाट भित्र्याउने माग राखेको र सो विषयमा पनि प्रधानमन्त्रीले काम गर्ने प्रतिबद्धता व्यक्त गरेको सुनाए ।

नेपाल उद्योग वाणिज्य महासंघ पुँजीबजार फोरमका सभापति प्रियराज रेग्मीले पनि लगानीकर्ताले राखेका कुरा प्रधानमन्त्रीले गम्भीर रूपमा सुनेको र यसलाई महत्वमा राखेको उल्लेख गर्दै छलफल निकै सकारात्मक भएको प्रतिक्रिया दिए ।

‘पुँजी बजारलाई पुँजी परिचालन गर्ने प्रमुख क्षेत्र हो र पुँजी बजारमार्फत रोजगारी पनि सिर्जना हुनुपर्छ र पुँजी बजारलाई थप चलायमान गर्नको लागि र त्यो चलायमान भइरहँदा अर्थतन्त्रका अन्य कम्पोनेन्टहरू पनि चलायमान हुनुपर्छ भन्ने विषय प्रधानमन्त्रीले राख्नुभयो,’ रेग्मीले भने, ‘लगानीकर्ताको गिरिरहेको मनोबल उकास्न प्रधानमन्त्रीले देखाएको सक्रियता आफैंमा स्वागतयोग्य छ ।’

भेटका क्रममा लगानीकर्ताले प्राथमिक निश्कासनको प्रणालीमा सुधार गर्ने, दोस्रो बजारमा माग आपूर्तिको सन्तुलन कायम गर्ने लगायत दर्जनौं विषय प्रधानमन्त्री समक्ष राखेका थिए ।

योग्य संस्थागत लगानीकर्तालाई कुल निस्कासनको ४० प्रतिशत र ६ महिनाको लकईन अवधी सहित प्राथमिक निश्कासनको लागि बुक बिल्डिङ्ग प्रणाली लागु गर्ने, दोस्रोबजारमा माग आपुर्तिको सन्तुलन कायम गरी उचित मूल्यनिर्धारण गर्ने प्रणाली सुधार गर्ने विषय उनीहरुले उठाएका थिए ।

धितोपत्र बोर्डको संस्थागत सुसाशन निर्देशिका, ऋणदिने बैंक वित्तिय संस्था वा अन्य नियमले रोकेको भन्दा बाहेक कर्मचारी, स्थानीयवासी, सामुहिक लगानी कोष, पिईभिसि तथा अन्य साना संस्थापक शेयरधनीले धारण गरेको शेयरहरुको कम्तीमा २० प्रतिशत सुचिकृत भएकै दिनमा विक्री योग्य बनाउने विषय पनि प्रधानमन्त्रीसमक्ष उनीहरुले राखेका थिए ।

लगानीक्र्ताले कम्पनी सुचिकृत भएको दिन सो कम्पनीको कारोबार मुल्यमा सर्किट ब्रेकरको नियम लागु नहुने व्यवस्था र सर्टसेल (खातामा नभएको सेयर बिक्रि गर्न पाउने) लागु गर्ने, बजारको तरलता बढाउन अक्सन मार्केट, धितोपत्र ऋण सापटी र कारोबार भएको सेक्यूरीटीज्को खुद राफसाफ प्रणाली बनाउने लगायतका सुझाव पनि प्रधानमन्त्रीलाई दिएका छन् ।

यस्तै लगानीकर्ताका पक्षबाट नेपाल राष्ट्र बैंकसँग सम्बन्धित विषयहरु पनि राखेका छन् । बजारमा तरलता प्रदान गर्न धितोपत्र व्यवसायी (ब्रोकर) मार्फत लगानीकर्ताहरुलाई मार्जिन कारोबार सेवा संचालनको लागि बैंक तथा वित्तिय संस्थाले धितोपत्र दलाल व्यवसायीलाई होलसेल प्रकृतीको ओभर ड्राफ्ट वा चालुपुँजी कर्जा दिन सक्ने नियमकिय व्यवस्था गर्ने अवस्था बनाउन उनीहरुले प्रधानमन्त्रीसँग आग्रह गरेका छन् ।

बैंक वित्तिय संस्थाले धितोपत्रमा लागनी गरेपश्चात कम्तीमा ६ महिना बिक्री गर्न नपाउने व्यवस्था खारेज गर्न, बैंकबाट प्रबाह हुने सबै कर्जाहरु कुल कर्जाको अनुपातमा तोकिएको तर सेयर धितोको कर्जा बैकका कोर क्यापिटलको अनुपातमा तोकिएकोले सेयर धितोको कर्जा पनि कुल कर्जाको न्यूनतम ५ प्रतिशत दिन पाउने व्यवस्था गर्नुपर्ने विषय पनि प्रधानमन्त्री समक्ष लगानीकर्ताका तर्फबाट सरोकारवालाहरुले राखेका छन् ।