
काठमाडौं । प्रधानन्त्री बालेन्द्र शाह (बालेन)सँगको छलफलमा सेयर लगानीकर्ताहरुले बजारमा डिमान्ड (माग) बढ्ने किसिमको वातावरण बनाउन आग्रह गरेका छन् । सोमबार प्रधानमन्त्री शाहसँग भएको भेटघाटका क्रममा लगानीकर्ताहरुले बजारको डिमान्ड पक्षलाई सुधार गर्ने ढंगमा काम गरिदिन आग्रह गरेका हुन् ।
‘पुँजी बजारमा देखिएका विद्यमान समस्या समाधान गरी लगानीकर्ताको मनोबल उच्च बनाउनुपर्ने देखिएको छ । बजारमा बढ्दो सेयर आपूर्तिलाई सन्तुलनमा ल्याउन माग पक्ष सुदृढ बनाउनुपर्ने र संस्थागत लगानीकर्ताको भूमिका बढाउनुपर्ने स्थिति पनि छ । जसलाई हामीले प्रधानमन्त्रीसँग राखेका छौं,’ सेयर लगानीकर्ता अम्बिका प्रसाद पौडेलले भेटपछिको कुराकानीमा भने, ‘यसका अलावा हामीले कर प्रणालीमा सुधारको विषय पनि राखेका छौं ।
नेपाल उद्योग वाणिज्य महासंघ पुँजीबजार फोरमका सभापति प्रियराज रेग्मीले पनि प्रधानमन्त्रीलाई नेपाल राष्ट्र बैंकमार्फत ब्रोकरहरूले मार्जिन लेन्डिङ सञ्चालन गर्न पाउने गरी आवश्यक नियामकीय व्यवस्था गर्न, गैरआवासीय नेपालीहरूलाई ‘फास्ट ट्रयाक’ मार्फत बजारमा भित्र्याउन र नेपाल स्टक एक्सचेन्ज (नेप्से) को पुनर्संरचना गरी प्रविधिमैत्री बनाउन, दक्ष जनशक्ति र नयाँ लगानीका औजारहरू विकास गरेर बजारलाई आधुनिक बनाउन सुझाव दिएको बताए ।
यस्तै, उनका अनुसार धितोपत्र बोर्डको कार्यशैलीमा सुधारको माग गर्दै लगानीकर्ताले हाल कायम रहेको ‘१० कित्ते नीति’ हटाउन र स्वस्थ बजारका लागि ‘योग्य संस्थागत लगानीकर्ता’मार्फत ‘बुक बिल्डिङ’ प्रक्रियाबाट आईपीओ ल्याउनुपर्ने सुझाव प्रधानमन्त्रीसँग राखेका छन् । बजारको भोल्युम र आत्मविश्वास बढाउनका लागि ‘इन्ट्रा–डे’कारोबार सुरु गर्नुपर्ने सुझाव आफूहरुले दिएको उनले बताए ।
भेटका क्रममा लगानीकर्ताका सुझावलाई प्रधानमन्त्रीले ध्यान दिएर सुनेको र बजार सुधारका लागि सरकार गम्भीर रहेको बताएका थिए ।
‘तपाईंहरूले उठाएका कतिपय विषयमा हामीले काम गरिरहेका छौं । नियमनकारी निकायका प्रमुख र मार्केट अपरेटरहरूलाई बोलाएर थप छलफल गरी जायज मागहरूलाई तत्काल कार्यान्वयनमा लैजानेछौं,’ प्रधानमन्त्रीको भनाई उदृत गर्दै पौडेलले भने।
उनका अनुसार भेटका क्रममा प्रधानमन्त्री शाहले पुँजी परिचालन गर्ने प्रमुख क्षेत्र पुँजीबजार भएको र यसमार्फत् रोजगारी पनि सिर्जना हुनुपर्छ भन्नेतर्फ केन्द्रीत रहेको विषय प्रधानमन्त्री शाहले राखेका थिए ।





प्रतिक्रिया