भेनेजुएला भूकम्पमा ५ हजारजनाको ज्यान गएपछि आईएमएफले ३४ करोड डलर उपलब्ध गराउने

28
Shares

एजेन्सी । सरकारी आधिकारिक रिपोर्ट अनुसार, जुन महिनामा भेनेजुएलामा गएको दुईवटा शक्तिशाली भूकम्पमा परी ज्यान गुमाउनेको संख्या ५ हजार १ सय १९ पुगेको छ ।

यसैबीच अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ) ले पुनःस्थापना र पुनर्निर्माण कार्यमा सहयोग गर्न ३४ करोड ६० लाख अमेरिकी डलर बराबरको आपतकालीन आर्थिक सहयोग घोषणा गरेको छ ।

भेनेजुएलाकी कार्यवाहक राष्ट्रपति डेल्सी रोड्रिगेजले शुक्रबार देशले आईएमएफमा रहेको आफ्नै स्रोतबाट रकम निकालेको जानकारी दिइन् । प्रभावित समुदायहरूलाई सहयोग गर्न, पूर्वाधार पुनर्निर्माण गर्न र अत्यावश्यक सार्वजनिक सेवाहरू पुनः सुरु गर्न त्यसलाई प्रयोग गरिनेछ ।

स्रोतहरूका अनुसार, आदेशमा ढिलाइ र अन्योलका कारण भूकम्पपछिको उद्धार कार्यमा भेनेजुएलाको सेनाको प्रतिक्रिया सुस्त भएको थियो । रोड्रिगेजले एक्समा एक विज्ञप्ति जारी गर्दै भनिन्, ‘हाम्रो देशमा गएको विनाशकारी दुईवटा भूकम्पपछि भेनेजुएलाले सुरुमा अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ) मा रहेको आफ्नै स्रोतबाट ३४ करोड ६० लाख अमेरिकी डलर प्राप्त गरेको छ जसलाई यस त्रासदी पछिको पुनःस्थापना र पुनर्निर्माण प्रक्रियामा खर्च गरिनेछ ।’

उनले यस कोषले आवास, पूर्वाधार र आधारभूत सेवाहरूसँग सम्बन्धित सहयोगसहित विपद्बाट प्रभावित परिवारहरूलाई टेवा पुर्याउने थप स्पष्ट पारिन् । उनले आईएमएफकी प्रबन्ध निर्देशक क्रिस्टालिना जर्जिएभालाई उनको सहयोग र प्रतिबद्धताका लागि धन्यवाद दिँदै यो महत्त्वपूर्ण कदमलाई सफल बनाउने सबै संस्थाहरूलाई पनि आभार व्यक्त गरेकी छिन् । उनले आफ्ना जनताको रक्षा गर्न र देशको पुनःस्थापनालाई अगाडि बढाउन सरकारले अथक रूपमा काम गरिरहने प्रतिबद्धता समेत जनाइन् ।

आईएमएफकी प्रबन्ध निर्देशक क्रिस्टालिना जर्जिएभाले पनि आपतकालीन कोष जारी भएको पुष्टि गर्दै भूकम्प प्रभावितहरूप्रति एक्यबद्धता प्रकट गरेकी छन् । जर्जिएभाले एक्समा लेखेकी छन्, ‘विनाशकारी भूकम्पको पीडाबाट बाहिर निस्कन संघर्ष गरिरहेका भेनेजुएलाका जनताप्रति मेरो सहानुभूति छ । हामीले भेनेजुएलालाई तत्काल मानवीय आवश्यकताहरू पूरा गर्न कोषमा रहेको आफ्नै स्रोतमा पहुँच पुर्याउन प्रमुख साझेदारहरूसँग काम गर्याैं र अहिले त्यहाँका अधिकारीहरूले आफ्नो रिजर्भ ट्रान्चबाट ३४ करोड ६० लाख डलर निकालेका छन् ।’

भेनेजुएलाको नेसनल एसेम्ब्लीका अध्यक्ष जर्ज रोड्रिगेजले सार्वजनिक गरेको आधिकारिक प्रतिवेदन अनुसार, यस विपदमा १६ हजार ७ सय ४० जना घाइते भएका छन् भने ६ हजार ४ सय ६२ जनाको उद्धार गरिएको छ ।

हालसम्म १ लाख २८ हजारभन्दा बढी परिवारले सहायता प्राप्त गरिसकेका छन् भने २१ हजारभन्दा बढी मानिसलाई आश्रय दिन १०७ वटा अस्थायी शिविरहरू स्थापना गरिएको छ । प्रतिवेदनका अनुसार, १७ हजार ९ सय ७ मानिसहरू घरबारविहीन भएका छन्, ८५६ वटा भवनहरू क्षतिग्रस्त भएका छन् र १९० वटा भवनहरू पूर्ण रूपमा भत्किएका छन् ।

अधिकारीहरूले राहत कार्यको हिस्सा स्वरूप १ करोडभन्दा बढी खाद्यान्न सामग्री र ३ करोड २० लाख लिटरभन्दा बढी पानी वितरण गरिएको जानकारी दिएका छन् ।

भेनेजुएलाका भूकम्प पीडितहरूको खोजीमा अझै पनि अथक र पीडादायी प्रयास जारी छ । सरकारले दिएको जानकारी अनुसार, आपतकालीन प्रतिकार्यमा २२ सय ७८ जना अन्तर्राष्ट्रिय उद्धारक र करिब ३१ हजार परिचालित सुरक्षाकर्मीहरू खटिएका छन् । तिनलाई ३१ हजारभन्दा बढी स्वयंसेवकहरूले सहयोग गरिरहेका छन् ।

दुईवटा शक्तिशाली भूकम्प र त्यसपछिका परकम्पहरूले प्रभावित क्षेत्रहरूमा व्यापक विनाश निम्त्याएको छ । अधिकारीहरूले उद्धार, राहत तथा पुनःस्थापना कार्यलाई निरन्तरता दिइरहेका छन् ।

आधिकारिक प्रतिवेदनमा मुख्य भूकम्पपछि १३ सय ५० वटा परकम्पहरू रेकर्ड गरिएको उल्लेख छ । गत महिना भेनेजुएलाको उत्तरी क्षेत्रमा ७.२ र ७.५ रेक्टर स्केलका दुईवटा शक्तिशाली भूकम्प गएका थिए जसले व्यापक विनाश र अस्तव्यस्तता निम्त्याएको थियो ।