
काठमाडौं । औद्योगिक क्षेत्रभित्र वर्षौंदेखि उद्योग सञ्चालन गरेर पनि सरकारी भाडा बुझाउन आलटाल गरिरहेका उद्योगमाथि उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री गौरी यादवले कडाइ गरेपछि अहिले उक्त रकम उठ्न थालेको छ ।
यहि क्रममा एक दिनमा ५६ लाखभन्दा बढी भाडा बक्यौता रकम उठेको छ । मन्त्रालयका अनुसार बिहिबार मात्रै ५६ लाख ६० हजार ९ सय २३ रुपैयाँबराबरको बक्यौता रकम उठेको छ । योसहित हालसम्म कूल ४६ करोड ७३ लाख ११ हजार नौं सय रुपैयाँ भाडावापतको बक्यौंता रकम असुल भएको छ ।
भाडा चुक्ता गरेपछि बिहिबार र आज गरी थप ५ वटा उद्योगको काटिएको विद्युत लाइन पुनः सुचारु गरिएको छ। मन्त्रालयका अनुसार अझै पनि २१ वटा उद्योगहरूले बक्यौता नतिरेका कारण तिनीहरूको विद्युत लाइन काटिएकै अवस्थामा छ।
मन्त्री यादवले ७ दिनभित्र सम्पूर्ण भाडा बक्यौता चुक्ता नगरे उद्योगहरूको बत्ती र पानीको लाइन काट्न स्पष्ट निर्देशन दिएकी थिइन् । उक्त निर्देशनपछि कारबाहीको डरले उद्योगीहरूले बक्यौता बुझाउन थालेका हुन्।
बक्यौता रकममध्ये जरिवाना बाहेक (आर्थिक वर्ष २०७५/७६ देखि हालसम्म) सबैभन्दा बढी रकम तिर्न बाँकी रहेका दुई कम्पनीहरूले भने अझै पनि सरकारको निर्णयलाई अटेर गरिरहेको पाइएको छ।
सबैभन्दा बढी बक्यौता भएका कम्पनी कन्टिनेन्टल कम्पोनेन्ट एण्ड सर्भिसेज प्राइभेट लिमिटेडले अझैसम्म ३ करोड ७५ लाख ३६ हजार ४ सय रुपैयाँ बुझाएको छैन । यस्तै कन्टिनेन्टल सर्भिसेज प्रालिले १ करोड १ लाख ५३ हजार ४ सय रुपैयाँ बुझाउन अटेर गरेको मन्त्रालयको भनाई छ । यी दुवै कम्पनीले सरकारी निर्णयको अवज्ञा गर्दै अझै पनि गोदाम सञ्चालन गरिरहेका छन् ।
ति दुवै कम्पनीमाथि थप कानुनी कारबाही अगाडि बढाउन मन्त्रालयले यतिबेला आन्तरिक परामर्श सुरु गरिसकेको मन्त्रालयले जनाएको छ।





प्रतिक्रिया