मौद्रिक नीति सार्वजनिकीकरणमा नयाँ अभ्यासः गभर्नरले ल्याए ४ पाने डकुमेन्ट !

0
Shares

काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर डा. विश्वनाथ पौडेलले आर्थिक वर्ष २०८३/८४ को मौद्रिक नीति सार्वजनिक गरेका छन् । नेपाल राष्ट्र बैंक ऐन, २०५८ को प्रावधान अनुरूप आर्थिक वर्ष २०५९/६० देखि निरन्तर मौद्रिक नीति सार्वजनिक गर्दै आएको केन्द्रीय बैंकको यो २५औं संस्करणको मौद्रिक नीति हो ।

२५ वर्षमा राष्ट्र बैंकले फरक तरिकाले मौद्रिक नीति सार्वजिनक गरेको हो । यो वर्ष मौद्रिक नीति सार्वजनिकीकरण कार्यक्रममा गभर्नरको सम्बोधन मात्र ५ मिनेटको रह्यो । त्यसअघि नै केन्द्रीय बैंकले चालू आवको मौद्रिक नीतिको समीक्षा र बृहत् अर्थतन्त्रको प्रतिवेदन सार्वजनिक गरेको थियो । यसअघि यी दुवै विषय मौद्रिक नीतिमै समावेश गरिएको हुन्थ्यो ।

साथै राष्ट्र बैंकले नियामकीय प्रावधान हेरफेरको उद्घोष मौद्रिक नीतिमार्फत् नै गर्ने परम्परा सुधारेका छन् । मौद्रिक नीतिले नियामकीय प्रावधान हेरफेरको दिशानिर्देश गरे पनि सीमित विषयमा मात्र तोकेरै के गर्ने भन्ने उल्लेख गरेको छ ।

मौद्रिक नीतिमार्फत् राष्ट्र बैंकले नीतिगत र संरचनागत दुवै पक्षमा महत्त्वपूर्ण परिवर्तनहरू गरेको उल्लेख गरेको छ ।

मौद्रिक नीतिमै यसपटकदेखि मौद्रिक नीति सार्वजनिक गर्ने शैलीमा नयाँ संरचना सुरु गरिएको उल्लेख छ ।

नेपाल राष्ट्र बैंक ऐनको दफा ९४ बमोजिम अबदेखि मौद्रिक नीतिसँगै अघिल्लो वर्षको नीतिको समीक्षा, म्याक्रोइकोनोमिक रिपोर्ट र नयाँ आर्थिक वर्षको मौद्रिक नीतिलाई छुट्टाछुट्टै प्रतिवेदनका रूपमा सार्वजनिक गरिन थालिएको छ ।

मूल मौद्रिक नीति भने चारपाने डकुमेन्टका रूपमा प्रस्तुत गरिएको छ ।

यसबाट मौद्रिक नीतिको आधार र कार्यान्वयनको विस्तृत एवं वैज्ञानिक विश्लेषण हुने विश्वास बैंकले लिएको मौद्रिक नीतिमा उल्लेख छ ।