खोलामा पानी बढेपछि बिजुली बेचेर निलगिरी हाइड्रोको आम्दानी गत वर्षभन्दा २०% बढी


काठमाडौं । निलगिरी खोला हाइड्रोपावर कम्पनीको सञ्चालन आम्दानी वार्षिक २० प्रतिशतले बढ्ने अनुमान गरिएको छ । आर्थिक वर्ष २०२६ को तेस्रो त्रैमाससम्ममा कम्पनीको कुल सञ्चालन आम्दानी १ अर्ब ६८ करोड ३० लाख रुपैयाँ पुगेको छ भने सञ्चालन मुनाफा (नाफा मार्जिन) सुधार भएर ८२ प्रतिशत पुगेको छ ।

२०२५ मा कम्पनीले १ अर्ब ८७ करोड रुपैयाँको बिजुली बिक्री गरेको थियो । म्याग्दी जिल्लामा सञ्चालित ३८ मेगावाटको निलगिरी खोला–१ र ७१ मेगावाटको निलगिरी खोला-२ जलविद्युत आयोजनाको उत्पादन बढेसँगै विद्युत आपूर्ति कम हुँदा लाग्ने जरिवाना गत वर्षको २३ करोड २० लाख रुपैयाँबाट घटेर यस वर्ष १५ करोड २० लाख रुपैयाँमा झरेको छ । यसले कम्पनीको खुद नाफामा सुधार ल्याएको हो ।

आर्थिक वर्ष २०२५मा ७० लाख रुपैयाँ मात्रै रहेको कम्पनीको खुद नाफा चालु आवको तेस्रो त्रैमाससम्म आइपुग्दा ४१ करोड ६० लाख रुपैयाँ पुगेको छ । त्यस्तै, कम्पनीको कुल नगद सञ्चिति पनि ५० करोड ९० लाख रुपैयाँबाट सुधार भई ७९ करोड ५० लाख रुपैयाँ पुगेको छ ।

हिउँदमा परेको भारी हिमपात र अनुकूल जलप्रवाहका कारण चालू आर्थिक वर्ष २०२६ को पहिलो १० महिनामा दुवै आयोजनाको विद्युत उत्पादनमा ठूलो सुधार आएको कम्पनीले बताएको छ । चालू आवको १० महिनामा निलगिरी खोला–१ को प्लान्ट लोड फ्याक्टर (पीएलएफ) बढेर ७३.५६ प्रतिशत र निलगिरी खोला-२ को ६९.६२ प्रतिशत पुगेको छ, जुन अघिल्लो वर्ष क्रमशः ७१.६४ प्रतिशत र ५४.७६ प्रतिशत मात्र थिए ।

तर, आयोजना निर्माणका क्रममा लिइएको ठूलो ऋणका कारण कम्पनीको पुँजीगत संरचना अझै उच्च ऋणमा आधारित देखिन्छ। २०८२ चैत मसान्त सम्मको तथ्यांक अनुसार कम्पनीको ओभरअल गियरिङ रेसियो (कर्जा र पुँजीको अनुपात) ३.०३ गुणा रहेको छ, जुन केही बढी मानिए पनि गत वर्षको ३.७९ गुणाको तुलनामा भने सुधारोन्मुख छ ।

आगामी दिनमा कम्पनीले आफ्नो सञ्चालन दक्षता बढाउँदै जरिवाना रकमलाई पूर्ण रूपमा हटाउने, सर्वसाधारणका लागि प्राथमिक सेयर (आइपीओ) निष्कासन गर्ने र सोबाट संकलित रकमको योजनाबद्ध उपयोग गरी ऋण घटाउँदै लैजाने बताइएको छ ।

सन् २०१२ अगस्टमा दर्ता भएको निलगिरी खोला हाइड्रोपावर कम्पनी सन् २०१४ सेप्टेम्बरमा पब्लिक लिमिटेड कम्पनीमा परिणत भएको थियो । आयोजनामा मुख्य प्रवद्र्धकका रूपमा महेश्वर प्रकाश श्रेष्ठको ३१.५७ प्रतिशत र पृथ्वी बहादुर पाण्डेको १५.१० प्रतिशत सेयर लगानी छ । व्यक्तिगत लगानीका अतिरिक्त नेपालका स्थापित प्राइभेट इक्विटी फर्महरू लोटस इन्भेस्टमेन्ट फन्ड र हिमालयन इन्फ्रास्ट्रक्चर फन्डले संस्थागत प्रवद्र्धकका रूपमा यस आयोजनामा ठूलो लगानी गरेका छन् ।

निलगिरी खोला हाइड्रोपावर कम्पनी मातहत म्याग्दी जिल्लामा १५० वर्ग किमी क्याचमेन्ट एरिया भएको निलगिरी खोलाको पानी उपयोग गर्ने ३८ मेगावाटको निलगिरी खोला-१ (व्यापारिक उत्पादन ५ अगस्ट २०२४) र १६० वर्ग किमी क्याचमेन्ट एरिया भएको ७१ मेगावाटको निलगिरी खोला-२ क्यास्केड जलविद्युत आयोजना (व्यापारिक उत्पादन ६ अप्रिल २०२४) सञ्चालनमा रहेका छन् । 

यस्तै, निलगिरी खोला-१ (३८ मेगावाट)ले प्राधिकरणसँग फेब्रुअरी २०१७ मा ३० वर्ष अवधिको पीपीए गरिएको छ । यसको सम्झौता ऊर्जा २११.८४ मिलियन युनिट (वर्षायाममा १८०.०७ र हिउँदमा ३१.७७ मिलियन युनिट) ६४.५२ प्रतिशत पीएलएफमा तय गरिएको छ ।

यसले सम्झौता अवधि (१२ अगस्ट २०२४) भन्दा एक हप्ता अगावै ५ अगस्ट २०२४ देखि व्यापारिक उत्पादन सुरु गरेको थियो ।  निलगिरी खोला-२ (७१ मेगावाट)ले प्राधिकरणसँग जुलाई २०१७ मा ३० वर्ष अवधिको पीपीए गरिएको छ । यसको सम्झौता ऊर्जा ३८७.१७ मिलियन युनिट (वर्षायाममा २४३.२९ र हिउँदमा ११६.१९ मिलियन युनिट) ६५.४१ प्रतिशत पीएलएफमा तय छ । यस आयोजनाले आफ्नो निर्धारित अवधि (१५ डिसेम्बर २०२४) भन्दा ८ महिना अगावै ६ अप्रिल २०२४ देखि व्यावसायिक उत्पादन थालेको थियो ।

दुवै आयोजनाका लागि वर्षायामको महसुल प्रति युनिट ४.८० रुपैयाँ र हिउँद यामको महसुल प्रति युनिट ८.४० रुपैयाँ कायम गरिएको छ, जसमा आधार महसुलमा वार्षिक ३ प्रतिशतका दरले ८ पटकसम्म मूल्य वृद्धि  हुने व्यवस्था छ ।

कम्पनी आईपीओ जारी गर्ने प्रक्रियामा रहेको छ । रेटिङ एजेन्सी इन्फोमेरिक्सले कम्पनीलाई इस्युअर रेटिङ डबल बी प्लस दिएको छ । म्याग्दी जिल्लामा सञ्चालित ३८ मेगावाटको निलगिरी खोला-१ र ७१ मेगावाटको निलगिरी खोला-२ जलविद्युत आयोजनाको प्रवर्धक यस कम्पनीको वित्तीय तथा सञ्चालन व्यवस्थामा आएको उल्लेख्य सुधारका कारण रेटिङ पुनः कायम भएको हो ।