विद्युत नियमन आयोग अध्यक्षमा अधिकारी, डा. धिताल, भेटुवालमध्ये एक


काठमाडौं । विद्युत नियमन आयोगमा रिक्त पदका लागि आगामी मन्त्रिपरिषद्को बैठकमा प्रस्ताव लैजाने तयारी तीव्र पारिएको छ । आयोग अध्यक्ष नियुक्तिका लागि आन्तरिक रूपमा कानुनी परामर्श र प्रस्ताव लेखनको कार्य अन्तिम चरणमा पुगेको छ ।

अध्यक्षका लागि कार्ययोजना मूल्यांकनका आधारमा छानिएका ६ जनामध्ये ३ जनाको नाम अन्तिम भएको छ, जसमा केशवध्वज अधिकारी, डा.रामप्रसाद धिताल, मधुप्रसाद भेटुवाल रहेको मन्त्रालय स्रोत बताउँछ । अधिकारी र भेटुवाल पूर्व सचिव हुन् भने धिताल यसअघि आयोगका अध्यक्ष थिए ।

अध्यक्ष पदको दौडबाट मोतीबहादुर कुँवर, डा.मधुसूदन अधिकारी, र डा.भोलानाथ शर्मा घिमिरे भने बाहिरिएका छन् ।
छानिएका ३ जनामध्ये अन्तिम १ को नाम मन्त्रिपरिषद् लैजाने गृहकार्य भइरहेको सम्बद्ध स्रोतले जनाएको छ ।

यसै साता सिफारिस समितिले मन्त्रिपरिषद्मा अन्तिम नामावली पठाउनेछ र सरकारले १ अध्यक्ष र ४ सदस्य (एक महिलासहित) नियुक्त गरी आयोगलाई पूर्णता दिने मन्त्रालय स्रोत बताउँछ । आगामी आर्थिक वर्ष (साउन १) गतेबाट नै आयोगले रोकिएका सबै काम सुचारु गर्ने जनाइएको छ ।

संघीय सरकारले ल्याएको ‘सार्वजनिक पदधारण गरेका व्यक्ति सम्बन्धी विशेष व्यवस्था अध्यादेश, २०८३’ अन्तर्गत आयोगका तत्कालीन पदाधिकारीहरू पदमुक्त भएपछि यी पदहरू रिक्त भएका हुन् ।

ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले यहि जेठ ७ गते रिक्त पदमा नयाँ नियुक्तीका लागि आवेदन आह्वान गरेको थियो । जेठ २१ गतेसम्मका लागि खुलाइएको आवेदनमा कुल ३२ जना को आवेदन परेको थियो, जसमा अध्यक्ष पदका लागिस् १० जना र सदस्य पदका लागि २२ जनाको आवेदन परेको थियो ।

नियुक्ति सिफारिस समितिले कार्ययोजना मूल्यांकनका आधारमा १५ जना उम्मेदवारलाई सर्टलिस्ट गरेको थियो । अध्यक्षका लागि ६ जना छानिएका थिए, जसमा केशवध्वज अधिकारी, डा.रामप्रसाद धिताल, मधुप्रसाद भेटुवाल, मोतीबहादुर कुँवर, डा.मधुसूदन अधिकारी, र डा.भोलानाथ शर्मा घिमिरे रहेका थिए । उनीहरूमध्येबाट ३ जनाको नाम सिफारिस समितिले टुंगाएको छ ।

सदस्यका लागि छानिएका ९ जनामा निर्ज्वल बस्नेत, रुद्रप्रसाद सिटौला, जयराज भण्डारी, लोकराज पाठक, बलराम सिलवाल, विज्ञानप्रसाद श्रेष्ठ, अर्जुनकुमार गौतम, नरेन्द्रसिंह भण्डारी र डा.शान्तिकला सुवेदी रहेका छन् ।