जिर्ण संरचनाका कारण पश्चिम नेपालको विद्युत आपूर्ति प्रभावित


काठमाडौं । नेपालगञ्ज र सुर्खेतका विद्युतीय संरचना जिर्णबन्दा वर्तमान माग धान्न नसकेको बताइएको छ । पश्चिम नेपालको विद्युत आपूर्तिको समस्याको समाधानका लागि तत्काल कार्यान्वयनमा जाने बताइएको छ ।

यस क्षेत्रमा पटक–पटक हुने विद्युत् अवरोध, न्यून भोल्टेज तथा मिटर अभावका गुनासो बढेपछि ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले दुई दिनसम्म त्यस क्षेत्रमा बसेर सरोकारवालाहरुसँग समस्याको पहिचान र समाधानका उपायबारे छलफल गरेका हुन् ।

पश्चिम नेपालको वितरण प्रणाली जीर्ण बन्दै गएको, चार दशकअघि निर्माण गरिएका संरचनाले वर्तमान विद्युत् माग धान्न नसकेको तथा फिडर, ट्रान्सफर्मर र अन्य वितरण उपकरणको अभावका कारण आपूर्ति प्रभावित भइरहेको निष्कर्ष निकालिएको छ ।

छलफलमा नेपालगञ्ज क्षेत्र पश्चिमबाट आउने र पूर्वतर्फ जाने विद्युत् प्रसारण प्रणालीको अन्तिम बिन्दुमा रहेकाले प्राविधिक दबाब बढी रहेको, पुराना उपकरणको गुणस्तरसमेत कमजोर देखिएको र वितरण सञ्जालको व्यापक स्तरोन्नति अपरिहार्य रहेको देखिएको छ ।

मन्त्री श्रेष्ठको पहलपछि कर्णाली प्रदेशमा देखिएको विद्युत् मिटर अभाव तत्काल समाधान हुने भएको छ । नेपाल विद्युत् प्राधिकरणका अनुसार माग गरिएका ५ हजार मिटरमध्ये २ हजार मिटर आपूर्ति भई जडान प्रक्रिया सुरु भइसकेको छ भने बाँकी ३ हजार मिटर ७ दिनभित्र उपलब्ध हुने भएको छ ।

त्यसैगरी सुर्खेतमा लामो समयदेखि देखिएको न्यून भोल्टेजको समस्या समाधानका लागि वितरण प्रणाली स्तरोन्नतिका लागि आवश्यक बजेट विनियोजन गरी आगामी केही महिनाभित्र काम सुरु गर्ने तयारी गरिएको मन्त्रालयले जनाएको छ । नेपालगञ्ज क्षेत्रमा भरपर्दो, सुरक्षित र गुणस्तरीय विद्युत् सेवा सुनिश्चित गर्न आवश्यक बजेट, स्पष्ट कार्ययोजना र पूर्वाधार सुदृढीकरणका कार्यक्रम तत्काल अघि बढाइने भएको छ ।

त्यसक्रममा वितरण प्रणाली लामो समयदेखि स्तरोन्नति हुन नसक्दा बढ्दो विद्युत् भार धान्न कठिन भएको जानकारी दिइएको थियो । सातौँ विद्युतीकरण आयोजना सम्पन्न भएपछि वितरण प्रणालीमा पर्याप्त सुधार हुन नसकेको, विद्युत् माग वार्षिक करिब १५ प्रतिशतले बढिरहेको तथा कोहलपुर राष्ट्रिय प्रसारण लाइन र टनकपुर आपूर्तिको अन्तिम बिन्दुमा रहेको सञ्जालमा बढ्दो चापका कारण सेवा प्रभावित भएको प्राधिकरणले जनाएको छ ।

यस्तै, न्यू नेपालगञ्ज सबस्टेशन निर्माण सम्पन्न हुन ढिलाइ, फिडर ओभरलोड, ट्रिपिङ, न्यून भोल्टेज, पुराना लाइन तथा अपर्याप्त ट्रान्सफर्मरको कारण विद्युत् आपूर्तिमा समस्या देखिएको निष्कर्षसमेत निकालिएको छ ।

मन्त्री श्रेष्ठले निर्माणाधीन न्यू नेपालगञ्ज सबस्टेशन यथाशीघ्र सञ्चालनमा ल्याउन आवश्यक समन्वय गरिने, थप क्षमताका ट्रान्सफर्मर जडान, वितरण सञ्जाल विस्तार, पुराना लाइन र कन्डक्टर स्तरोन्नति, नयाँ फिडर निर्माण तथा प्रभावकारी लोड व्यवस्थापनलाई उच्च प्राथमिकताका साथ तत्काल गर्न सकिने, मध्यकाल र दीर्घकालको योजना निर्माण गरी कार्यान्वयन गरिने बताए ।

उनले फिडर ओभरलोड, ट्रिपिङ र न्यून भोल्टेजलगायत प्राविधिक समस्याको विस्तृत अध्ययन गरी तत्काल कार्यान्वयनमा जाने स्पष्ट पार्दै अत्यधिक गर्मीका बेला नागरिक, उद्योग व्यवसाय र कृषि क्षेत्रमा परेको असरप्रति सरकार गम्भीर रहेको समेत उल्लेख गरे ।

‘पश्चिम नेपालका नागरिकले भरपर्दो, सुरक्षित र गुणस्तरीय विद्युत् सेवा पाउने वातावरण निर्माण गर्नु सरकारको प्राथमिकता हो । मन्त्रालय र नेपाल विद्युत् प्राधिकरण समन्वित रूपमा काम गर्दै यी समस्या स्थायी रूपमा समाधान गर्नेछौं,’ मन्त्री श्रेष्ठले भने ।