इन्धनको मूल्य घटेसँगै सार्वजनिक यातायातको भाडा स्वचालित प्रणालीबाट घटाउन महासंघको माग


काठमाडौं । सरकारले पेट्रोलियम पदार्थको मूल्य घटाएको निर्णयको स्वागत गर्दै नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघले सार्वजनिक यातायातको भाडा पनि स्वचालित तथा वैज्ञानिक प्रणालीका आधारमा तत्काल समायोजन गर्न सरकारसँग आग्रह गरेको छ।

महासंघका अध्यक्ष पुण्यप्रसाद (सरोज) सिटौलाले बुधबार समाजिक सञ्जालमार्फत पेट्रोलियम पदार्थको मूल्य घटाएकोमा सरकारप्रति धन्यवाद व्यक्त गर्दै इन्धनको मूल्यमा हुने उतारचढावअनुसार सार्वजनिक सवारी साधनको भाडा पनि पारदर्शी, वैज्ञानिक र वस्तुगत आधारमा समायोजन हुनुपर्ने बताएका छन् । उनले इन्धनको मूल्य घटेको आधारमा बैज्ञानिक प्रणालीअनुसार सार्वजनिक सवारी साधन र मालवाहक सवारी साधनको भाडासमेत घटाउनुपर्ने सरकारसँग माग गरेका हुन् ।

नेपाल आयल निगमले आजदेखि लागु हुने गरी पेट्रोलमा प्रति लिटर २०, डिजेल र मट्टितेलमा ३०, आन्तरिक हवाई इन्धनतर्फ ४०, अन्तर्राष्ट्रिय हवाई इन्धनतर्फ प्रतिकिलोलिटर २६५ अमेरिकी डलर र खाना पकाउने ग्यासतर्फ प्रति सिलिन्डर १०० रुपैयाँ घटाएको छ । जसअनुसार अब पेट्रोलतर्फ १९७, डिजेल र मट्टितेलतर्फ १९५ र खाना पकाउने ग्यासतर्फ ७.१ किलो तौल भएको प्रतिसिलिण्डरलाई १ हजार ३० रुपैयाँ कायम भएको छ ।

उनले इन्धनको मूल्य बढ्दा सार्वजनिक यातायातको भाडा वृद्धि गर्ने निर्णय हुने तर इन्धनको मूल्य घट्दा समयमै भाडा समायोजन नहुने प्रवृत्तिले यात्रु र व्यवसायी दुवै पक्षमा अन्योल सिर्जना गर्ने गरेको उल्लेख गरेका छन्। यस्तो अवस्थाले भाडा निर्धारण प्रणालीप्रति विश्वाससमेत कमजोर बनाउने उनको भनाइ छ।

महासंघका अनुसार सार्वजनिक यातायातको भाडा निर्धारण गर्दा इन्धनको मूल्यलाई मात्र आधार बनाउनु पर्याप्त हुँदैन। सवारी साधन सञ्चालनमा लाग्ने अन्य खर्चहरू, जस्तै मर्मतसम्भार, बीमा, चालक तथा सहचालकसहित श्रमिकको पारिश्रमिक, स्पेयर पार्ट्सको मूल्य, बैंकिङ लागत तथा समग्र आर्थिक सूचकहरूको समेत वैज्ञानिक मूल्याङ्कन गरेर भाडा निर्धारण गर्नुपर्ने आवश्यकता रहेको महासंघले औंल्याएको छ।

महासंघले सार्वजनिक यातायात क्षेत्रलाई दिगो, व्यवस्थित र विश्वसनीय बनाउन सरकार, नियामक निकाय, यातायात व्यवसायी तथा उपभोक्ताबीच आपसी विश्वास कायम हुनु अपरिहार्य रहेको जनाएको छ। त्यसका लागि स्पष्ट मापदण्डका आधारमा समयानुकूल भाडा समायोजन गर्ने स्वचालित प्रणाली कार्यान्वयन गर्नुपर्नेमा जोड दिइएको छ।

अध्यक्ष सिटौलाले सम्बन्धित सरकारी निकायलाई वैज्ञानिक, पारदर्शी र न्यायोचित भाडा समायोजन प्रणाली प्रभावकारी रूपमा लागू गर्न आग्रह गर्दै यस्तो व्यवस्थाले यात्रुको हित संरक्षण, यातायात व्यवसायको दिगोपना तथा समग्र सार्वजनिक यातायात प्रणालीको सन्तुलित विकासमा महत्वपूर्ण योगदान पुग्ने विश्वास व्यक्त गरेका छन्।

इन्धनको मूल्य बढ्दै गएपछि गत् बैशाख १६ गते सरकारले देशभर सञ्चालन हुने अन्तर प्रदेश (लामो दूरी) का यात्रुवाहक तथा मालवाहक सवारी साधनको भाडादरमा ५ प्रतिशतले वृद्धि गरेको थियो ।

पेट्रोलियम पदार्थ, विशेषगरी डिजेलको मूल्यमा भएको भारी वृद्धिका कारण विभागले स्वचालित प्रणाली अनुसार भाडा बढाउने निर्णय गरेको थियो ।

२०८३ वैशाख ३ गते डिजेलको मूल्यमा प्रतिलिटर ५५ रुपैयाँले वृद्धि भई २३५ रुपैयाँ ८३ पैसा कायम भएको थियो । यो अघिल्लो भाडा समायोजन (२०८२ चैत २५ गते) को समयमा रहेको डिजेलको औसत बजार मूल्यको तुलनामा ३०.४१ प्रतिशतको वृद्धि हो।

इन्धनको मूल्य ५ प्रतिशत वा सोभन्दा बढीले घटेमा वा बढेमा स्वचालित रूपमा भाडा समायोजन गर्ने वैज्ञानिक भाडादर प्रणाली अनुरूप यातायात व्यवस्था विभागले यो निर्णय लिएको थियो ।

विभागले यात्रुवाहक सवारी साधनमा ५ प्रतिशत, पहाडी बाटोमा सञ्चालन हुने मालवाहक सवारीमा ५ प्रतिशत वृद्धि र तराईको बाटोमा सञ्चालन हुने मालवाहक सवारीम ५ प्रतिशत वृद्धि गरिएको थियो ।

यो नयाँ भाडादर वृद्धि राष्ट्रिय स्तरका रुटमा सञ्चालन हुने सार्वजनिक यातायातका हकमा मात्र लागू हुने व्यवस्था गरिएको थियो ।

यसअघि गत चैत २५ गते पनि विभागले सार्वजनिक यातायातको भाडा १६.७१ प्रतिशतले वृद्धि गरिएको थियो । पहाडी क्षेत्रमा चल्ने मालवाहक सवारीको भाडा २१।६८ प्रतिशत र तराई क्षेत्रमा चल्ने मालवाहक सवारीको भाडा १५.७५ प्रतिशतले बढाइएको थियो ।