झलानाथ खनाललक्षित प्रचण्डको टिप्पणी–प्रतिक्रियावादीलाई फाइदा पुग्ने गरी निराशाको खेती गर्दैछन्

0
Shares

काठमाडौं । पूर्वप्रधानमन्त्री एवं नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले केहीले पार्टीभित्र कलह र जनतामा निराशा बाँड्ने काम गरिरहेको आरोप लगाएका छन् ।

पार्टीका वरिष्ठ नेता झलनाथ खनालले बुझाएको ३६ बुँदे आरोपपत्रलाई लक्षित गरी शुक्रवार पार्टी कार्यालय पेरिसडाँडामा आयोजित कार्यक्रममा बोल्दै संयोजक दाहालले यस्तो टिप्पणी गरेका हुन् ।

पूर्वप्रधानमन्त्री समेत रहेका पार्टीका वरिष्ठ नेता खनाल प्रतिक्रियावादीसँग मिलेर पार्टीमा विचलन ल्याउन उद्यत रहेको दाहालको आरोप छ ।

उनले कम्युनिष्ट पार्टीहरूले इतिहासमा भोगेका अनुभवहरू नबिर्सन समेत आग्रह गरे । केही दिनअघि नेता खनालले संयोजक दाहाललाई लेखेको असन्तुष्टि पत्रमा वर्तमान नेतृत्वले पार्टी एकता, वैचारिक स्पष्टता र सङ्गठनात्मक पुनर्गठन गर्न नसकेको गम्भीर आरोप लगाए । पार्टीको अन्तरिम विधानलाई सार–सङ्ग्रहवादी खिचडी विधानको संज्ञा दिँदै त्यसबाट क्रान्तिकारी कम्युनिष्ट पार्टी निर्माण हुन नसक्ने खनालको दाबी थियो।

‘जानेर वा नजानेर हाम्रा कतिपय साथीहरूले समेत जनतामा निराशा बाँड्ने काम गर्दैछन् । फेरि एकचोटी जनतालाई लिएर हामी अघि बढ्छौँ भन्ने कन्फिडेन्स (आत्मविश्वास) होइन, हामी कम्युनिष्टहरू विगतमा यस्ता उतारचढाव धेरै भोग्दै आएका, तीसँग लड्दै र जित्दै आएका जात हौँ भन्ने कुरा बिर्सेर साम्राज्यवादी र प्रतिक्रियावादीले फैलाएको हल्लाअनुसार के-के कुरा भनेर भ्रम छर्ने काम पनि कतिपय मानिसहरूले गरेका छन् । ती साथीहरूलाई पनि म अपिल गर्न चाहन्छु, प्रतिक्रियावादीलाई फाइदा पुग्ने गरी निराशाको खेती नगरौँ,’ उनले भने ।

संयोजक दाहालले प्रतिक्रियावादीलाई फाइदा पुग्ने गरी निराशाको खेती नगर्न अपिल समेत गरे।

Skip This