विभागलाई देउवा दम्पतीको पत्र: भागे भन्ने भाष्य बनाएर पक्राउ पुर्जी जारी गर्ने प्रयास नगर्नू, २ महिनामा फर्कन्छौं


काठमाडौं । पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा र उनकी पत्नी आरजु राणा देउवाले सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागलाई एक पत्र लेख्दै आफूहरूमाथि भइरहेको अनुसन्धानमा पूर्ण सहयोग गर्ने प्रतिबद्धता जनाएका छन् । हाल उपचारका सिलसिलामा देशबाहिर रहेका देउवा दम्पतीले आफूहरू ‘फरार’ नभएको स्पष्ट पार्दै आगामी दुई महिनाभित्र नेपाल फर्किने जानकारी गराएका छन् ।

उक्त निवेदनमा विभागलाई सम्बोधन गर्दै आफूहरूविरुद्ध लगाइएका आरोपहरूको खण्डन गरिएको छ र अनुसन्धान प्रक्रियामा सघाउने इच्छा व्यक्त गरिएको छ ।

पत्रमा देउवा दम्पतीले २०८२ साल भदौ २४ गते बूढानीलकण्ठस्थित उनीहरूको निवासमा भएको साङ्घातिक आक्रमण र आगजनीको घटनालाई मुख्य सन्दर्भ बनाएका छन् । अराजक समूहले घरमा प्रवेश गरी ज्यान लिने उद्देश्यले आक्रमण गरेको र नेपाली सेनाले उद्धार गरेका कारण मात्र आफूहरू जीवित रहेको उनीहरूले उल्लेख गरेका छन् ।

उक्त आक्रमणपछि लामो समय सैनिक अस्पतालमा उपचार गराउनुपरेको र हाल पनि उपचारकै क्रममा रहेको पत्रमा जनाइएको छ । ‘घाइते अवस्थामा उपचार गराइरहेका बेला कुनै आधार र प्रमाणबिना अख्तियार र सम्पत्ति शुद्धीकरण विभागमा उजुरी दिइएको रहेछ,’ पत्रमा भनिएको छ ।

विभागको टोलीले २०८२ असोज ६ गते उनीहरूको आगजनी भएको घरमा पुगेर गरेको खानतलासीका विषयमा पनि पत्रमा चर्चा गरिएको छ । देउवाका नातेदार रामबहादुर देउवाको रोहबरमा भएको उक्त खानतलासीमा कुनै पनि बहुमूल्य वस्तु वा नगद फेला नपरेको मुचुल्काले नै प्रमाणित गरिसकेको दाबी देउवा दम्पतीको छ ।

आफूहरूले सधैं कानुनबमोजिम सम्पत्ति विवरण बुझाउँदै आएको र अहिलेसम्म कुनै पनि संवैधानिक निकायले त्यसमा प्रश्न नउठाएको उनीहरूले उल्लेख गरेका छन् । ‘केबल नोट र बहुमूल्य वस्तुहरू जली नष्ट भएको भन्ने गलत तथ्यलाई विभागकै टोलीले खानतलासीबाट गलत प्रमाणित गरिसकेको छ,’ पत्रमा उल्लेख छ ।

देउवा दम्पतीले आफूहरू नेपालबाहिर रहेको मौका छोपी इन्टरपोलमार्फत ‘रेड कर्नर नोटिस’ जारी गर्ने तयारी भइरहेको भन्दै गम्भीर ध्यानाकर्षण गराएका छन् । उनीहरूले यसलाई कानुनी र संवैधानिक आधारविहीन कदम भनेका छन् ।

पत्रमा भनिएको छ, ‘हामी देश छाडेर भागेको होइन, उपचारका लागि बाहिर रहेको समयमा यस्ता खालका भाष्य सिर्जना गरी पक्राउ पुर्जी जारी गर्ने प्रयास नगरियोस् ।’

आफूहरू सार्वजनिक उत्तरदायित्वको पदमा रहेका र देशको प्रधानमन्त्री तथा परराष्ट्रमन्त्री जस्तो जिम्मेवारी सम्हालिसकेका व्यक्ति भएकाले अनुसन्धानबाट नभाग्ने उनीहरूले स्पष्ट पारेका छन् । ‘आफ्नो निर्दोषिता पुष्टि गर्न हामी अनुसन्धानमा सहयोग गर्न तत्पर छौं । हाल उपचारमै रहेकाले आजको मितिदेखि २ महिनाभित्र नेपाल फर्की विभागलाई जानकारी गराउनेछौं,’ पत्रमा प्रतिबद्धता जनाइएको छ ।