विद्युतीय माइक्रोबस बेच्ने त्रिवेणी मोटोकर्पले एकै वर्ष गर्यो पौने १ अर्ब रुपैयाँको कारोबार


काठमाडौं । नेपालमा विद्युतीय माइक्रोबस बेच्ने त्रिवेणी मोटोकर्पले एकै कर्ष पौने १ अर्ब रुपैयाँको कारोबार गरेको छ । कम्पनीले गत आर्थिक वर्षमा ७३ करोड ६० लाख रुपैयाँको कारोबार गरेको हो ।

कम्पनीले सन् २०२४ मा १३ करोड ४० लाख रुपैयाँको कारोबार गरेको थियो । सन् २०२३ मा स्थापना भएको कम्पनी त्रिवेणी ग्रुप अफ नेपालद्वारा सञ्चालित कम्पनी हो ।

कम्पनी नेपालको लागि डीएफएसी डिङफेङ ब्रान्डको सवारी साधन र स्पेयर पार्टस्‌को वितरक कम्पनी हो । कम्पनीले उक्त सवारी साधनसँगै कमा विद्युतीय सवारी साधन र माइक्रोबसको कारोबार गर्दै आएको छ ।

कम्पनीको सञ्चालन मार्जिन ७ प्रतिशत रहेको छ । सन् २०२४ मा ५ प्रतिशत थियो । त्यस्तै, चालु आवको १० महिनाको अवधिमा ७४ करोड रुपैयाँको कारोबार गरिसकेको छ । कम्पनीको समग्र गियरिङ अनुपात बढेर ५.४० गुणा पुगेको छ । सन् २०२४ मा ३.२२ गुणा थियो ।

गत आवमा मात्रै पूर्ण सञ्चालन भएकाले कम्पनीको पूँजी संरचना ऋणभारमा वृद्धि भएको हो । गत आवमा सञ्चालनको दायरा उल्लेखनीय रुपमा विस्तार भएसँगै कार्यशील पुँजी आवश्यकताहरु तथा व्यवसाय विस्तारलाई सहयोग गर्न कम्पनीले थप ऋण उपयोग गरेको छ । जसले गर्दा गियरिङ स्तर बढेको उल्लेख छ ।

कम्पनीको कारोबार क्रमशः वृद्धि हुने अपेक्षासँगै निकट भविष्यमा कम्पनीको ऋणको स्तर झन बढ्ने अनुमान गरेको छ । ऋण वृद्धि हुँदा कम्पनीको ब्याज खर्च पनि बढ्ने सम्भावना छ ।

देशमा विद्युतीय सवारी साधनको प्रयोग बढ्दो क्रममा रहेकाले आम्दानी वृद्धि र नाफामा हुने सम्भावित सुधार तथा ब्याजदरमा आएको कमीले अतिरिक्त ब्याज खर्चको प्रभावलाई केही हदसम्म कम गर्न सक्ने अपेक्षा गरेको छ ।

सन् २०२४ को अप्रिलबाट व्यवसायिक कारोबार सुरु गरेको कम्पनीले दीर्घकालीन तथा अल्पकालीन कर्जाका लागि ८४ करोड रुपैयाँको रेटिङ गराएको छ । कम्पनीले दीर्घकालीन कर्जाका लागि ५ करोड रुपैयाँ र अल्पकालीन कर्जाका लागि ७९ करोड रुपैयाँको रेटिङ गराएको हो ।

कम्पनीको अध्यक्ष शैलेस संघार्य छन् । कम्पनीको देशभर १८ वटा डिलर छन् । कम्पनीको ललितपुर, पोखरा, चितवन, बुटवल, कास्की, वीरगञ्ज, धनगढी र झापामा डिलर छन् ।