
काठमाडौं । बजेटमार्फत् ईभीमा कर बढ्ने सूचना चुहिएपछि रातारात भित्रिएको भनिएका ६४९ बीवाईडीका गाडी अझै भन्सारकै नियन्त्रणमा छन् । सरकारी छानबिन समितिले बीवाईडीको गाडी भित्रनुमा भन्सार छलि तथा कर बढ्ने सूचना चुहाएर भित्रिएको भन्ने कैफियत नदेखिएको औंल्याइसक्दा समेत यी गाडी अझै छुटेका छैनन् ।
नेपाल चीनबीचको कोरोला नाकाबाट भित्रिएका ती विद्युतीय सवारी साधन (ईभी)को शंकास्पद भन्सार जाँचपास नभएको अर्थ मन्त्रालयले गठन गरेको छानबिन समितिले औंल्याएको छ । अर्थ मन्त्रालयले पनि बजेट अगाडि ईभी भित्रनुमा नियमित प्रक्रिया पूरा भएरै आएको स्पष्ट पारेको भए पनि अझै ती गाडी सरकारकै नियन्त्रयणमा छन् ।
सशस्त्र प्रहरी बलका प्रवक्ता नेत्रबहादुर कार्कीले आवश्यक चाँजबुझका क्रममा नियन्त्रणमा लिएका ती सवारीलाई भन्सार विभागकै जिम्मा लगाइसकेको जानकारी बताए । उनले भने, ‘सशस्त्र प्रहरीले आवश्यक अनुसन्धान गरेर त्यसको जिम्मा भन्सार विभागलाई नै लगाइसकिएको छ ।’
भन्सार विभागले भने बजेट अगाडि भित्रिएका बीवाईडीका सवारीसाधान छोड्ने प्रक्रियामा नै रहेको जानकारी दिएको छ । विभागका सूचना अगाडि किशोर बर्तौलाले भोलिसम्ममा ती सवारी छुट्न सक्ने बताए । उनले भने ‘बजेट अगाडि भित्रिएका ती सवारीसाधान अनुसन्धानको दायरमा परेकोले छुट्न समय लागेको हो । आवश्यक जाँचपासको काम सकेर बीवाईडीका सबै सवारी साधन छुटाउने गरी विभागको तयारी गरिरहेको छ ।’
यसअघि अर्थमन्त्री डा. स्वर्णिम वाग्लेका स्वकीय उपसचिव एवं जनसम्पर्क सल्लाहकार नवीन ढुंगानाले भन्सार विन्दुमै नपुगेका सवारी साधनको जाँचपास भएको भन्ने उजुरीका आधारमा छानबिन समिति गठन गरिएको भन्दै एक प्रेस विज्ञप्ति जारी गरेका थिए ।
मुस्ताङको कोरोला नाकाबाट भएका कार आयातका सम्बन्धमा पनि मन्त्रालयले गम्भीर चासो देखाएर छानबिन समिति नै बनाएको थियो । अर्थ मन्त्रालय र भन्सार विभागका उपसचिवहरू, नेपाल प्रहरी र सशस्त्र प्रहरी सम्मिलित एक विशेष अनुसन्धान टोली राखेर उक्त समिति बनेको थियो ।
अर्थ मन्त्रालयले गत आर्थिक वर्षको जेठ १ देखि १४ गतेसम्म ४ हजार ३१७ वटा विद्युतीय गाडी आयात भएको तथ्यांक प्रस्तुत गर्दै चालु वर्षको सोही अवधिमा २ हजार ७६४ वटा मात्र गाडी आयात भएको दाबी गरेको छ ।
अर्थ मन्त्रालयका प्रवक्ता अमृत लम्सालले प्रारम्भिक प्रतिवेदनबाटै कुनै कैफियत नदेखिएकोले नियन्त्रणमा भएका गाडीलाई भन्सारले छोड्ने भएको जानकारी दिए । उनका अनुसार कोरोला नाकाबाट भित्रिएका ती सवारीसाधान नियमित प्रकृयाबाट आएका देखिएको भन्ने देखिएकोले त्यसैका आधारमा ती सवारीलाई रिलिज हुने पनि बताए ।









प्रतिक्रिया