बालेनको भनाइपछि सुस्तामा भारतीय सुरक्षाकर्मी, नेपालतर्फ बनिरहेको तटबन्ध नबनाउन चेतावनी

1.9k
Shares

नवलपरासी । पश्चिम नवलपरासीको सुस्तास्थित नेपाली भूमिमा निर्माणाधीन तटबन्धमा भारतीय सशस्त्र सीमा बल (एसएसबी) ले अवरोध गरेको छ ।

आइतबार साँझ सुस्ता गाउँपालिका–५ स्थित नारायणी नदी किनारमा निर्माण भइरहेको बाँध रोक्न एसएसबीको टोलीले भौतिक रूपमै उपस्थित भएर अवरोध सिर्जना गरेको हो ।

आइतबार प्रतिनिधि सभा बैठकमा प्रधानमन्त्री बालेन्द्र शाहले ‘भारतले नेपालको जग्गा मात्रै हैन, नेपालले पनि भारतको जग्गा धेरै ठाउँ मिचेको रहेछ,’ भन्ने अभिव्यक्ति दिएपछि एसएसबीको टोलीले अवरोध सिर्जना गरेको स्थानीको आरोप छ ।

नारायणी नदीको तीव्र कटान र डुबानबाट बस्ती जोगाउन ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयको १४ करोड रुपैयाँ लगानीमा यो तटबन्ध निर्माण भइरहेको थियो ।

करिब ८० प्रतिशत काम सम्पन्न भइसकेको अवस्थामा भारतीय सुरक्षाकर्मीहरूले उक्त क्षेत्रलाई ‘विवादित’ भन्दै काम रोक्न दबाब दिएका हुन् ।

स्थानीय प्रत्यक्षदर्शीका अनुसार ४० देखि ५० जनाको संख्यामा आएका भारतीय सुरक्षाकर्मीले निर्माणस्थलमा खटिएका इन्जिनियर र कामदारहरूलाई काम नगर्न चेतावनी दिएका थिए ।

सुस्ता गाउँपालिकाका अध्यक्ष टेकनारायण उपाध्यायका अनुसार, अहिले यो महत्त्वपूर्ण योजनाको काम भइरहेको थियो । उनले पछिल्लो समय केन्द्रमा देखिएको राजनीतिक वाकयुद्ध र विवादास्पद अभिव्यक्तिको ‘साइड इफेक्ट’ सुस्तामा देखिएको दाबी गरेका छन् ।

भारतीय पक्षले नेपाली भूमिमै आएर विकास निर्माणमा अवरोध गरेपछि स्थानीय आक्रोशित बनेका छन् ।

जिल्ला प्रशासन कार्यालय पश्चिम नवलपरासीले कूटनीतिक पहल सुरु गरिएको जनाएको छ । प्रमुख जिल्ला अधिकारी दीपक नेपालले नयाँ ठेक्काअन्तर्गतको काम सुरु गर्दा भारतीय पक्षले अवरोध गरेको जानकारी आएको बताए । उनले यसबारे गृह मन्त्रालयलाई ब्रिफिङ गरिसकिएको र सोमबार भारतीय समकक्षी (डीएम) सँग छलफल गर्ने तयारी भइरहेको बताए ।

घटनापछि सीमा सुरक्षाको जिम्मा पाएको सशस्त्र प्रहरीको टोली पुगेको थियो । एसपी गोविन्द खातीले भने यो ‘नियमित संयुक्त अनुगमन’भएको दाबी गरेका छन् ।

सुस्ता बचाउ अभियानका अगुवाहरूले भने नेपाल सरकारको फितलो अडानका कारण भारतीय पक्षले बारम्बार हेप्ने गरेको गुनासो गरेका छन् ।

सुस्ताको भू-भाग निरन्तर खुम्चिँदै गएको स्थानीय बताउँछन् । २०३० सालअघि ७५ हजार हेक्टरभन्दा बढी क्षेत्रफल रहेको सुस्तामा अहिले मुस्किलले ७ हजार हेक्टर जमिन मात्र नेपालको नियन्त्रणमा छ ।

सीमास्तम्भको अभाव र नारायणी नदीले धार परिवर्तन गरिरहने प्राकृतिक समस्याको फाइदा उठाउँदै भारतीय पक्षले सुस्तामा निरन्तर अतिक्रमण र अवरोध गर्दै आएको स्थानीय बताउँछन् ।