
काठमाडौं । प्रधानमन्त्री बालेन शाहले काठमाडौं उपत्यकाको सुकुमवासी समस्यालाई दिगो रूपमा समाधान गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।
आइतबार प्रतिनिधिसभा बैठकमा सांसदहरूले उठाएका प्रश्नको जवाफ दिँदै प्रधानमन्त्री शाहले वास्तविक सुकुमवासीको पहिचान र उचित व्यवस्थापन सरकारको प्राथमिकतामा रहेको बताए ।
खोला किनारका बस्तीहरू बाढीको जोखिम र फोहोरका कारण स्वास्थ्य संकटमा रहेकाले उनीहरूको ज्यान जोगाउन र व्यवस्थित गर्न सरकारले कदम चालेको उनले प्रष्ट पारे ।
सरकार र आफ्नो दल रास्वपा सुकुमवासी समस्या समाधान गर्न कटिबद्ध रहेको जिकिर गर्दै उनले भने, ‘स्थानीय सरकारमा रहँदा नै मैले संघ सरकारलाई वास्तविक सुकुमवासी पहिचान गरी उनीहरूलाई होल्डिङ सेन्टरमा स्थानान्तरण गर्न र देशभर कतै जग्गा नहुनेहरूका लागि भूमि व्यवस्थापन गर्न आग्रह गरेको थिएँ ।’
दशकौँदेखिको जटिल समस्यालाई तत्कालै समाधान गर्न कठिन हुने भन्दै उनले भने ‘३५ वर्षमा नभएको काम ३५ मिनेटमै खोजेर हुँदैन । केही समय लाग्छ, तर काम ठोस रूपमा अघि बढ्छ ।’
सोही क्रममा प्रधानमन्त्री शाहले अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले बजेटमार्फत नै यसै आर्थिक वर्षभित्र सुकुमवासी व्यवस्थापन गर्ने घोषणा गरेको स्मरण गराए ।





प्रतिक्रिया