सरकारको ध्यान आत्मविश्वास बढाउने भन्दा पनि पैसा बढाउनेतिर छ: प्रधानमन्त्री

105
Shares

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहले वर्तमान सरकारको मुख्य ध्यान देशको आम्दानी बढाउने र उत्पादनलाई निर्यातमुखी बनाउनेमा केन्द्रित रहेको बताएका छन् ।

आइतबार प्रतिनिधिसभा बैठकमा सांसदहरूले उठाएका प्रश्नको जवाफ दिने क्रममा उनले यस्तो धारणा राखेका हुन् ।

प्रधानमन्त्री शाहले अहिले देशलाई केवल आत्मविश्वासको कुराले मात्र नपुग्ने भन्दै ठोस आर्थिक उपार्जनको आवश्यकता रहेको उल्लेख गरे । ‘अहिले देशमा आत्मविश्वास बढाउने भन्दा पनि देशलाई पैसा चाहिएको छ, हाम्रो ध्यान पैसा बढाउनेतिर गएको छ,’ उनले भने ।

प्रतिनिधिसभा बैठकमा विपक्षी दल नेकपाका सांसद प्रमेश हमालले नेपाललाई विकासशील देशका रूपमा स्तरोन्नति गर्नेबारे सरकारको धारणा मागेका थिए । जवाफमा प्रधानमन्त्री शाहले राजनीतिक विचारधारा र व्यवहारिक कार्यान्वयनबीच ठूलो खाडल रहेको टिप्पणी गरे ।

उनले समाजवाद र साम्यवादका कुरा भाषण गर्नका लागि आकर्षक भए पनि व्यवहारमा उतार्न चुनौतीपूर्ण रहेको बताए । ‘गरिब विपन्नको कुरामा साम्यवाद र समाजवाद भाषण दिन मजा हुन्छ, तर व्यवहारमा कठिन नै हुन्छ,’ शाहले भने ।

आफ्नो कार्यशैलीको बचाउ गर्दै उनले आफू काठमाडौं महानगरपालिकाको मेयर हुँदा विपन्न परिवारका विद्यार्थीका लागि १० प्रतिशत निःशुल्क शिक्षाको व्यवस्था गरेको स्मरण गरे ।