नेपाली पानीको ब्रान्डिङ गर्ने बालेन सरकारको नीति विपरीत विदेशी पानीलाई अर्थमन्त्रीले दिए भन्सार छुट

749
Shares

काठमाडौं । ‘नेपाली पानी’को अन्तर्राष्ट्रिय स्तरमा ब्रान्डिङ गर्ने वालेन्द्र शाह (बालेन) सरकारको नीतिविपरीत आयातित पानीलाई अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले भन्सार छुट दिएका छन् ।

नेपालमा आयात हुने विदेशी पानीलाई ४० प्रतिशत भन्सार महसुल लाग्दै आएकामा अब भने १० प्रतिशतले सस्तो भएको छ ।

आगामी आर्थिक वर्ष २०८३/८४ को आर्थिक विधेयकमार्फत अर्थमन्त्री वाग्लेले विदेशी मिनरल वाटरलाई सस्तो बनाएका छन् ।

बालेन सरकारको नीति तथा कार्यक्रममा ‘हिमालयन ओरिजिन सर्टिफाइड वाटर अवधारणामार्फत नेपाली जलको ब्रान्डिङ गर्ने’ भन्ने उल्लेख छ । राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसदमा वैशाख २८ गते सार्वजनिक गरेको आगामी आर्थिक वर्ष २०८३/८४ को बालेन सरकारको नीति तथा कार्यक्रममा नेपाली पानीलाई अन्तर्राष्ट्रिय स्तरमै ब्रान्डिङ गर्ने उल्लेख छ ।

नेपाली पानीलाई अन्तर्राष्ट्रिय रूपमा पुर्‍याउन चाहने घोषणा गरेको सरकारले विदेशी पानी आयातलाई थप प्रोत्साहन दिएको छ।

पानी आयातमा ४० प्रतिशत भन्सार शुल्क हटाएर ३० प्रतिशत बनाएसँगै अब नेपालमा विदेशबाट मिनरल वाटर आयात गर्दा ४६.९ प्रतिशत कर लाग्नेछ । यसअघि ५८.२० प्रतिशत कर लाग्ने गरेको थियो।

गत आर्थिक वर्ष २०८१/८२ को एक वर्षमा नेपालमा ४० हजार ८६२ लिटर मिनरल वाटर विभिन्न देशबाट आयात भएको थियो । उक्त आयातबाट सरकारले ६९ लाख ६६ हजार रुपैयाँ भन्सार महसुल संकलन गरेको तथ्यांक छ ।

यस्तो तथ्यांकअनुसार चालु आर्थिक वर्ष २०८२/८३ को वैशाखसम्ममा नेपालमा ६८ हजार ७३५ लिटर मिनरल वाटर आयात भइसकेको छ । यसबाट सरकारले ९५ लाख रुपैयाँ भन्सार राजस्व संकलन गरेको छ ।