नेपाललाई ‘ललितकलाको विश्व केन्द्र’ बनाउन महाअभियानको ९ बुँदे माग

266
Shares

काठमाडौं । ‘विश्वको उत्कृष्ट गन्तव्य नेपाल बनाउने महाअभियान’ ले नेपाललाई ललितकलाको विश्व केन्द्र बनाउन माग गर्दै सरकारको ध्यानाकर्षण गराएको छ । महाअभियानका तर्फबाट प्राज्ञ नगेनसिंह ठकुरीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेमार्फत प्रधानमन्त्रीलाई ९ बुँदे ध्यानाकर्षण पत्र बुझाएका हुन् ।

आगामी आर्थिक वर्ष २०८३/८४ को नीति तथा कार्यक्रममा समेटिनुपर्ने विषयहरू उल्लेख गरिएको उक्त पत्रमा नेपाली कलालाई विश्वभर चिनाउन अरनिकोको जस्तै ‘स्वर्ण युग’ बनाउनुपर्ने उल्लेख छ । महाअभियानले हरेक सरकारी विद्यालयमा कला गुरुको व्यवस्था, सरकारी कार्यालयमा अनिवार्य कलाकृति, कलाकृतिका आधारमा बैंक ऋणको सुविधा, ललितकला विकास बोर्ड र छुट्टै ललितकला विश्वविद्यालय स्थापना गर्नुपर्ने माग राखेको छ ।

यस्तै, विज्ञापन बोर्डमा कलाकारको प्रतिनिधित्व, अन्तर्राष्ट्रिय स्तरको कला पुरस्कार, र पत्रपत्रिकाहरूमा ललितकलाका लागि छुट्टै पृष्ठ छुट्याउनुपर्ने विषय पनि ध्यानाकर्षण पत्रमा समेटिएको छ ।

ज्ञापनपत्र बुझ्दै सभापति लामिछानेले मागहरूको अध्ययन गरी आवश्यक सम्बोधन गर्ने प्रतिबद्धता जनाए । सो अवसरमा अभियन्ता नकुल सिंह ठकुरीले लामिछानेलाई एक कलाकृति समेत हस्तान्तरण गर्नुभएको थियो भने अभियन्ता कुमार तामाङले कार्यक्रमबारे जानकारी दिए । ललितकलाको विकासले देशको सांस्कृतिक पहिचान, पर्यटन र अर्थतन्त्रमा ठूलो टेवा पुग्ने विश्वास महाअभियानले लिएको छ ।