निजी अस्पतालमा स्वास्थ्य बिमाका सेवा स्थगित, सर्वसाधारण समस्यामा

77
Shares

काठमाडौँ  । स्वास्थ्य बिमा बोर्डले निजी स्वास्थ्य संस्थाहरूबाट प्रदान गरिँदै आएको स्वास्थ्य बिमाका सेवाहरूमा कटौती गरेको छ  । 

बोर्डको पछिल्लो निर्णयअनुसार आगामी जेठ १६ गतेदेखि निजी अस्पतालहरूमा ‘आकस्मिक’ बाहेकका अन्य कुनै पनि स्वास्थ्य बिमाका सेवाहरू उपलब्ध हुने छैनन् । 

बोर्डको सोमबार बसेको बैठकले बढ्दो वित्तीय संकटलाई मध्यनजर गर्दै यस्तो निर्णय गरेको बताइएको छ  । बोर्डद्वारा जारी पत्रमा अर्को निर्णय नभएसम्मका लागि निजी स्वास्थ्य संस्थाहरूबाट प्रदान गरिने गैर-आकस्मिक सेवाहरू स्थगन गरिएको उल्लेख छ ।

स्वास्थ्य बिमा बोर्डका अनुसार कार्यक्रममा देखिएको चरम आर्थिक संकटका कारण यो कठोर कदम चाल्नु परेको हो । बोर्डले निजी अस्पतालहरूलाई भुक्तानी गर्नुपर्ने दायित्व बढ्दै गएको र सोही अनुपातमा स्रोत व्यवस्थापन हुन नसक्दा सेवा स्थगित गर्नुपरेको जनाएको छ ।

यो निर्णय लागू भएसँगै स्वास्थ्य बीमामा आबद्ध भएका बीमितहरूले अब निजी अस्पतालहरूमा ओपीडी, नियमित जाँच, शल्यक्रिया र अन्य परामर्श सेवाहरू बीमा अन्तर्गत निःशुल्क पाउने छैनन् । तर, ज्यान जोगाउनुपर्ने अवस्थाका ‘आकस्मिक सेवा’ भने सुचारु रहनेछन् ।

बिमा सुविधा लिन चाहने नागरिकले अब अनिवार्य रूपमा सरकारी अस्पतालहरूमा नै निर्भर हुनुपर्ने देखिएको छ । यसले सर्वसाधारणहरूमा मर्का पर्ने देखिन्छ ।

बोर्डकी निमित्त कार्यकारी निर्देशक शकुन्तला प्रजापतिद्वारा हस्ताक्षरित पत्रमा सबै निजी सेवा प्रदायक स्वास्थ्य संस्थाहरूलाई यो निर्णयको जानकारी गराइसकिएको उल्लेख छ । साथै, सूचना प्रविधि शाखालाई यस सम्बन्धी जानकारी वेबसाइटमा अपलोड गर्न समेत निर्देशन दिइएको छ ।

यस निर्णयले निजी क्षेत्रका अस्पतालहरूमा बिमा सुविधा लिइरहेका लाखौँ सर्वसाधारण प्रभावित हुने भएका छन् भने सरकारी अस्पतालहरूमा बिरामीको चाप थप बढ्ने अनुमान गरिएको छ  ।