
काठमाडौं । प्रतिनिधिसभाको बैठकमा सत्तापक्ष र प्रतिपक्षबीचको विवादले उग्र रूप लिएपछि बैठक १५ मिनेटका लागि स्थगित गरिएको छ ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद जगदीश खरेलले विपक्षी दलहरूको विरोधलाई ‘तमासा’ को संज्ञा दिएपछि सदनमा तनाव उत्पन्न भएको हो ।
प्रधानमन्त्रीको जवाफदेहिता र उपस्थितिको माग गर्दै विपक्षी दलहरूले गरिरहेको नाराबाजीका बीच कार्यसूची अगाडि बढिरहेको थियो। पर्यटन विधेयकमाथिको सैद्धान्तिक छलफलमा भाग लिन रोस्टम पुगेका सांसद खरेलले विषयवस्तुभन्दा बाहिर गएर विपक्षीमाथि कटाक्ष गरेपछि स्थिति बिग्रिएको थियो ।
खरेलले विपक्षीतिर औंला ठड्याउँदै भने, ‘२०७२ मा संविधान बनेदेखि जति ऐन बन्नुपर्ने थियो, ती किन बन्न सकेनन् भन्ने कुरा यो तमासाले देखाइरहेको छ।’
उनको सो अभिव्यक्तिपछि नेपाली कांग्रेसका सांसद नरेन्द्रकुमार केरूङ आक्रोशित हुँदै रोस्ट्रमको दिशामा अघि बढ्न खोजेका थिए, जसलाई कांग्रेस प्रमुख सचेतक वासना थापाले रोकेकी थिइन्।





प्रतिक्रिया