रास्वपा सांसदको प्रश्नः न्यायाधीशको सम्पत्ति विवरण किन गोप्य राखिन्छ ?

0
Shares

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद यज्ञमणि न्यौपानेले न्यायाधीशहरूको सम्पत्ति विवरण सार्वजनिक गर्नुपर्ने माग अघि सारेका छन् । प्रतिनिधिसभाअन्तर्गतको कानुन, न्याय तथा मानवअधिकार समितिको बैठकमा बोल्दै सांसद न्यौपानेले न्यायपालिकामा पारदर्शिता र जवाफदेहिता सुनिश्चित गर्न न्यायाधीशहरूको सम्पत्ति विवरण गोप्य राख्ने वर्तमान व्यवस्था पुनरावलोकन गर्नुपर्ने बताएका हुन् ।

सांसद न्यौपानेले हालको नियमावलीमा न्यायाधीशहरूको सम्पत्ति विवरण गोप्य रहने प्रावधान रहेको भन्दै त्यसले पारदर्शितामाथि गम्भीर प्रश्न उठाएको तर्क गरे । उनले न्यायाधीशहरूको सम्पत्ति विवरण अनिवार्य रूपमा सम्बन्धित निकायको वेबसाइटमा राख्नुपर्ने र त्यसको छानबिन हुनुपर्नेमा जोड दिए ।

बैठकमा उनले भने, ‘न्यायाधीशका सम्पत्ति गोप्य राखिनेछ भन्ने नियमावलीमा भएकाले पारदर्शिता छैन । अविलम्ब न्यायाधीशको सम्पत्ति वेबसाइटमा रहने व्यवस्था गर्नुपर्‍यो र त्यसको छानबिन पनि हुनुपर्‍यो ।’

सम्पत्ति विवरणको विषयका साथै सांसद न्यौपानेले स्थानीय तहमा अदालतको व्यवस्थापन र न्याय प्रणालीको सुधारका बारेमा पनि चासो व्यक्त गरे । संविधानमा स्थानीय अदालतको व्यवस्था भए तापनि त्यसअनुसार आवश्यक कानुन निर्माण हुन नसकेको तर्फ उनले सरकारको ध्यानाकर्षण गराए ।

स्थानीय स्तरमा अदालत गठन गरी जिल्ला अदालतको क्षेत्राधिकार विस्तार गर्न सके सर्वोच्च अदालतमा रहेको मुद्दाको चाप उल्लेख्य रूपमा कम हुने न्यौपानेको बुझाइ छ । ‘न्याय प्रणालीलाई प्रभावकारी बनाउन स्थानीय तहदेखि नै न्यायिक संरचना बलियो बनाउन आवश्यक छ। स्थानीय अदालत गठन र जिल्ला अदालतको अधिकार क्षेत्र विस्तारले सर्वसाधारणलाई छिटो छरितो न्याय दिलाउन मद्दत पुग्छ,’ उनले भने ।