
काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले गणतन्त्र दिवस मूल समारोहलाई सम्बोधन नगर्ने भएका छन् । त्यसका लागि प्रधानमन्त्री कार्यालयले राष्ट्रपति कार्यालयलाई औपचारिक पत्राचार गरिसकेको स्रोतले जनाएको छ ।
हरेक वर्ष जेठ १५ गते गणतन्त्र दिवसका अवसरमा सैनिक मञ्च टुँडिखेलमा विशेष समारोह आयोजना हुने गर्दछ । उक्त समारोहमा राष्ट्रपति, प्रधानमन्त्री, प्रधानन्यायाधीश, सभामुख, राष्ट्रियसभा अध्यक्षलगायत विशिष्ट व्यक्तिहरूको सहभागिता रहने परम्परा छ भने प्रधानमन्त्रीले सम्बोधन गर्ने अभ्यास रहँदै आएको छ ।
तर प्रधानमन्त्री बनेपछि सार्वजनिक समारोहमा कमै देखिएका बालेनले यस वर्षको गणतन्त्र दिवस समारोहमा पनि सम्बोधन नगर्ने निर्णय गरेका हुन् । स्रोतका अनुसार मन्त्रिपरिषद्बाटै राष्ट्रपतिलाई सम्बोधन गर्न अनुरोध गर्ने निर्णय भएको थियो । त्यसअनुसार मुख्य सचिव सुमनराज अर्यालले राष्ट्रपति कार्यालय शीतलनिवासमा पत्र पुर्याएका हुन् ।
प्रधानमन्त्री कार्यालयले गणतन्त्रको प्रतीक राष्ट्रपति नै भएकाले गणतन्त्र दिवस समारोहमा राष्ट्रपतिबाट सम्बोधन हुनु उपयुक्त हुने तर्क गर्दै अनुरोध गरेको बताइएको छ । प्रधानमन्त्री कार्यालयबाट अनौपचारिक रूपमा पनि राष्ट्रपतिलाई आग्रह भइरहेको स्रोतको भनाइ छ ।
संविधानको धारा ६६ मा राष्ट्रपतिको काम, कर्तव्य र अधिकारबारे व्यवस्था गरिएको छ । सोही धाराको उपधारा २ मा मन्त्रिपरिषद्को सिफारिस र सम्मतिमा राष्ट्रपतिले काम गर्ने उल्लेख छ । यही संवैधानिक व्यवस्था अनुसार यस वर्ष गणतन्त्र दिवस समारोहमा राष्ट्रपतिले सम्बोधन गर्ने तयारी गरिएको स्रोतले जनाएको छ ।
यसअघि पनि काठमाडौं महानगरपालिकाको मेयर रहँदा बालेनले गणतन्त्र दिवसको विशेष समारोह बहिष्कार गर्ने गरेका थिए ।









प्रतिक्रिया