
काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान)ले रोहित पौडेललाई कप्तानबाट हटाउँदै एसियन गेम्स क्वालिफायरका लागि दीपेन्द्र सिंह ऐरीलाई नयाँ कप्तान बनाएको छ ।
क्यानले मे ३१ देखि जुन ९ सम्म सिंगापुरमा हुने टी–२० फर्म्याटको प्रतियोगिताका लागि दीपेन्द्रको कप्तानीमा १४ सदस्यीय नेपाली टोली घोषणा गरेको हो ।
टोलीमा पूर्वकप्तान रोहित पौडेल पनि समावेश छन् । यस्तै, कुशल भुर्तेल, आसिफ शेख, सन्दीप जोरा, कुशल मल्ल, लोकेश बम, सोमपाल कामी, सन्दीप लामिछाने, शेर मल्ल, नन्दन यादव, आरिफ शेख, करण केसी र साहब आलम टोलीमा रहेका छन्।
प्रतियोगितामा नेपालले मे ३१ मा बिहान ७:१५ बजे चीनसँग पहिलो खेल खेल्नेछ । त्यसपछि जुन २ मा कतार र जुन ४ मा मलेसियासँग प्रतिस्पर्धा गर्ने तालिका छ ।
क्वालिफायरमा नेपाल रहेको समूहमा चीन, मलेसिया र कतार छन् । अर्को समूहमा आयोजक सिंगापुरसँगै ओमान, हङकङ र बहराइन रहेका छन् ।





प्रतिक्रिया