
काठमाडौं । प्रतिपक्षी दल राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) की प्रमुख सचेतक खुश्वु ओलीले मानव तस्करीमा संलग्न गिरोहलाई तत्काल पक्राउ गरी कारबाही गर्न सरकारसँग माग गरेकी छिन् ।
सोमबार प्रतिनिधि सभा बैठकको आकस्मिक समयमा बोल्दै उनले कुवेत लगायतका मुलुकमा नेपाली मानव तस्करहरूले १० देखि १२ लाख रुपैयाँमा नेपाली महिलालाई वैदेशिक रोजगारीको नाममा बेच्ने गरेको बताइन् ।
यस्ता गिरोहमाथि कडा निगरानी राख्न र तत्काल कानुनी दायरामा ल्याउन उनले सरकारको ध्यानाकर्षण गराइन् ।
सरकारले खाडी मुलुकमा घरेलु कामदार पठाउन प्रतिबन्ध लगाए पनि तस्करहरूले विभिन्न वैकल्पिक बाटो प्रयोग गरिरहेको उनले उल्लेख गरिन् । ‘नेपाली महिलाहरूलाई खाडीसम्म पुर्याउन एजेन्टहरूले भारत, तान्जानिया लगायतका अफ्रिकी मुलुकलाई ट्रान्जिट बनाउने गरेका छन्,’ ओलीले भनिन्, ‘एजेन्टहरू जता पनि नेपाली नै छन्, त्यसैले यस्तो सञ्जाल ध्वस्त पार्न जरुरी छ ।’
उनले कुवेतमा रहेकी शर्मिला दर्जीको तत्काल खोजी र उद्धार गर्न सरकारसँग आग्रह गरिन् । सन् २०१७ देखि घरेलु कामदारमा लगाइएको प्रतिबन्धले महिलाहरूलाई सुरक्षा दिनुको सट्टा झन् जोखिममा पारेको उनले जिकिर गरिन् । प्रमुख सचेतक ओलीले वैदेशिक रोजगारीका क्रममा पीडामा परेका नागरिकको उद्धारमा ढिलाइ नगर्न समेत सरकारलाई सचेत गराइन् ।









प्रतिक्रिया