
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद आशिष गजुरेलले सार्वजनिक यातायातको दयनीय अवस्था र विकास निर्माणमा देखिएका कमजोरीबारे सरकारको ध्यानाकर्षण गराएका छन् ।
सोमबार बसेको प्रतिनिधि सभा बैठकको शून्य समयमा बोल्दै सांसद गजुरेलले नेपाली यात्रुहरूले सार्वजनिक यातायातमा भोग्नुपरेको सास्तीबारे प्रश्न उठाएका छन् ।
‘गुन्द्रुक जस्तै कोचिएर सार्वजनिक यातायातमा कहिलेसम्म यात्रा गर्ने? यो प्रश्नको हामीले कहिलेसम्म सामना गर्नुपर्ने हो? उनले प्रश्न गरे ।
दैनिक ४० प्रतिशतभन्दा बढी नेपालीले सार्वजनिक यातायात प्रयोग गर्ने तथ्यांक प्रस्तुत गर्दै उनले यस क्षेत्रलाई व्यवस्थित, सुरक्षित, मर्यादित र भरपर्दो बनाउन सरकारसँग माग गरे ।
त्यस्तै, सांसद गजुरेलले स्वास्थ्य र सडक पूर्वाधारका क्षेत्रमा देखिएका समस्याहरू पनि सदनमा राखे । सिन्धुली जिल्ला अस्पतालमा एक महिनादेखि एक्स-रे मेसिन बिग्रिएर थन्किएको तर सम्बन्धित निकायले चासो नदेखाएकोमा उनले आपत्ति जनाए ।
यसैगरी, मदन भण्डारी राजमार्गको रेखाङ्कनले सिन्धुलीको पुरानो बजार ‘धुरा बजार’ विस्थापित हुने जोखिम बढेको भन्दै उनले राजमार्ग शहरको बीचबाट लैजान नहुने उनले बताए ।
राजमार्गको रेखांकनबारे पुनः अध्ययन गरी बजार जोगाउन उनले सरकारलाई आग्रह गरे ।









प्रतिक्रिया