निजी क्षेत्रमाथि सरकारको व्यवहारप्रति गगनको प्रश्न ‘जसलाई मन लाग्यो उसलाई प्रहरी लगाएर उठाइदिने?’

84
Shares

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले सरकारले निजी क्षेत्रमाथि प्रतिशोधपूर्ण र सनकको भरमा व्यवहार गरिरहेको आरोप लगाएका छन् ।

नेपाली कांग्रेस केन्द्रीय नीति तथा प्रशिक्षण प्रतिष्ठानद्वारा शनिबार पोखरामा आयोजित गण्डकी प्रदेशस्तरीय भेलालाई सम्बोधन गर्दै थापाले सरकारको यस्तो कार्यले मुलुकको जर्जर अर्थतन्त्रलाई थप संकटमा धकेल्ने चेतावनी दिए ।

पछिल्लो समय निजी क्षेत्रका उद्यमी-व्यवसायीमाथि भइरहेको धरपकडप्रति संकेत गर्दै थापाले मन्त्रीले मन लागेको भरमा प्रहरी लगाएर व्यवसायीलाई उठाउनु लोकतान्त्रिक पद्धति र कानूनी राज्यको उपहास भएको बताए ।

‘एउटा मन्त्रीजीलाई निजी क्षेत्रको मान्छेसँग कुरा गर्न मन लाग्यो भन्दैमा प्रहरी लगाएर उठाएर ल्याइदिने ? जसलाई मन लाग्यो उसलाई उठाइदिने ?’ उनले भने, ‘राज्य न्याय गर्न, विवेक राख्न र करुणा राख्न चाहिन्छ, कसैको सनक पूरा गर्न होइन।’

मुलुकको अर्थतन्त्र पहिले नै नाजुक अवस्थामा रहेको उल्लेख गर्दै थापाले निजी क्षेत्रलाई हतोत्साहित बनाउँदा त्यसको ठूलो मूल्य राज्यले चुकाउनुपर्ने बताए । ‘अहिले हाम्रो अर्थतन्त्र जर्जर छ । यस्तो बेलामा निजी क्षेत्रसँग सरकारले जुन व्यवहार गरिरहेको छ, यसले लगानीको वातावरण बिगार्छ,’ थापाले भने ।

कानूनी शासनको वकालत गर्दै थापाले गलत काम गर्ने जोकोहीलाई कानून अनुसार कारबाही हुनुपर्नेमा कांग्रेसको दुईमत नरहेको प्रस्ट पारे । ‘कानून बमोजिम दण्ड पाउनेले पाउनुपर्छ, चाहे ऊ जतिसुकै शक्तिशाली होस् वा हाम्रै पार्टीको मान्छे किन नहोस्। तर, राज्यले लहड र सनकका आधारमा कसैलाई दुःख दिनु हुँदैन,’ थापाले भने ।

कार्यक्रममा महामन्त्री थापाले प्रदेश सरकारमा रहेका आफ्ना मन्त्री र पार्टीका जिम्मेवार नेताहरूलाई जनताप्रति उत्तरदायी बन्न निर्देशन समेत दिए । संघीय सरकारमा कांग्रेस प्रतिपक्षको भूमिकामा रहे पनि प्रदेशहरूमा सत्ता साझेदार रहेको स्मरण गराउँदै उनले अबका बाँकी समय परिणाममुखी काम गर्न आग्रह गरे।

‘हामीले नेतृत्व गरेको वा सहभागी भएको प्रदेश सरकारका कामहरूले गर्दा कार्यकर्ताको शिर निहुरिनु हुन्न। शिर ठाडो पारेर चुनावमा जान सक्ने गरी काम गर्नुपर्छ,’ थापाले भने।