
काठमाडौं । तत्कालीन दूरसञ्चार कम्पनी स्मार्ट टेलिकमको उपकरण लिलाम भएकाबारेको कागजात प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले नियन्त्रणमा लिएको छ।
त्यसक्रममा सीआईबीले लिलाम खरिद गरेको दूरसञ्चार सेवाप्रदायक कम्पनी एनसेलबाट कागजात लिएको हो ।
सीआईबी स्रोतका अनुसार स्मार्ट टेलिकमको उपकरण तथा सम्पत्ति खरिद–बिक्री प्रकरणसँग सम्बन्धित अनुसन्धानका कागजात नियन्त्रणमा लिइएको हो ।
यसअघि यही प्रकरणमा सीआईबीले नेपाल इन्भेस्टमेन्ट मेगा बैंकका प्रमुख कार्यकारी अधिकृत ज्योति प्रकाश पाण्डेसहितलाई पक्राउ गरेको थियो ।
अनुसन्धान अनुसार बैंकले स्मार्ट टेलिकमसँग असुल गर्नुपर्ने कर्जाको धितो सकार्न बोलपत्र आह्वान गरेको थियो । त्यसमा ट्रान्सगेट टेक प्रालिले ४४ करोड ५० लाख, प्रोफेसनल बिजनेस नेटवर्क प्रालिले ४२ करोड ५० लाख तथा एनसेलले ४ अर्ब ६० करोड रुपैयाँको बोलपत्र पेस गरेका थिए ।
बैंकले असुल गर्नुपर्ने ३ अर्ब ९५ करोड रुपैयाँभन्दा बढी प्रस्ताव भएकाले एनसेलको बोलपत्र स्वीकृत गरेको थियो । त्यसपछि स्मार्ट टेलिकमका उपकरण तथा संरचना ४ अर्ब ६० करोड रुपैयाँमा एनसेललाई बिक्री गरिएको थियो।
तर स्मार्ट टेलिकमले समयमै लाइसेन्स नवीकरण नगरेपछि कम्पनी सरकारको मातहतमा आएको थियो । अहिले सीआईबीले सरकारको स्वामित्वमा गइसकेको सम्पत्ति बिक्री गरिएको भन्दै खरिदकर्ता र बिक्रीकर्ताविरुद्ध अनुसन्धानलाई अघि बढाएको जनाएको छ ।









प्रतिक्रिया