आउटसोर्सिङ, व्यावसायिकता र नेपालको आर्थिक समृद्धिः सीए कृष्ण प्रसाद दाहालको अनुभव र दृष्टिकोण

70
Shares

म एकाउन्टेन्ट कृष्ण प्रसाद दाहाल  । म विगत २० वर्षदेखि युके (संयुक्त अधिाराज्य) मा बस्दै आएको छु  । मेरो मुख्य पेसा अडिटिङ हो । म त्यहाँको लाइसेन्सप्राप्त स्ट्याचुटरी अडिटर हुँ र पछिल्लो ११ वर्षदेखि अडिट साइनिङ गरिरहेको छु । युकेमा मेरा करिब ४-५ वटा फर्महरू छन्, जहाँ झन्डै ३५ जना स्टाफहरू कार्यरत हुनुहुन्छ । नेपालमा पनि हाम्रा दुईवटा आउटसोर्सिङ सेन्टरहरू छन्, जहाँ करिब ५० जना स्टाफहरू हुनुहुन्छ ।

मैले व्यावसायिक क्षेत्रमा विभिन्न जिम्मेवारीहरू सम्हालेको छु । म ‘द इन्स्टिच्युट अफ चार्टर्ड एकाउन्टेन्ट्स इन इङ्ल्यान्ड एन्ड वेल्स’ (आईसीएईडब्लू) को सन् २०२५-२०२९ का लागि निर्वाचित काउन्सिल मेम्बर हुँ । यसअघि म इन्डियन चार्टर्ड एकाउन्टेन्ट्सको युके च्याप्टरको प्रेसिडेन्ट र तीन वर्ष सेक्रेटरी भएँ । साथै, म १५०० भन्दा बढी सदस्य रहेको एसीसीए ह्यारो नेटवर्किङ प्यानलको चेयरम्यान र एसीसीएको ग्लोबल रिपोर्टिङ, कर्पोरेट रिपोर्टिङ र अडिट एस्योरेन्स बोर्डमा बसेर पनि काम गरें । हाल म  आईसीएईडब्लूको अडिट एश्योरेन्स बोर्डमा मेम्बर छु ।

म एक नेपाली नागरिक हुँ । नेपालको अर्थतन्त्रलाई सपोर्ट गर्ने क्रियाकलापमा म सधैं लागिरहन्छु । म २००२ मा इन्डियाबाट चार्टर्ड एकाउन्टेन्ट (सीए) भएँ । २००३ मा नेपाल चार्टर्ड एकाउन्टेन्ट संस्था (आईक्यान) को निर्वाचित काउन्सिल मेम्बर भएँ । सीए भएको एक वर्षभित्रै काउन्सिल मेम्बर हुनु निकै छिटो थियो, किनकि सामान्यतया मान्छेहरू १०-१५ वर्षको अनुभवपछि मात्र त्यहाँ पुग्छन् । त्यहाँ मैले एक्जामिनेसन र एजुकेसन कमिटीमा बसेर पहिलो नेपाली चार्टर्ड एकाउन्टेन्ट उत्पादन गर्न मद्दत गरें । त्यसपछि २००५ को अन्त्यतिर म बेलायत गएँ ।

बेलायतमा मैले सुरुमा मिड-लेभलका राम्रा अडिटिङ फर्महरूमा ५-६ वर्ष काम गरें । त्यसपछि युकेको अडिटिङ लाइसेन्स र एसीसीए को एक्जामहरू पास गरेर, पोस्ट-क्वालिफिकेसन एक्सपिरियन्स लिएर २०१३ मा आफ्नै प्राक्टिस सुरु गरें र २०१४ मा अफिस स्थापना गरें । अहिले हामी युकेमा बिजनेस विस्तार गर्दै र नेपालमा स्टाफ थप्दै अगाडि बढिरहेका छौं । म एक चार्टर्ड एकाउन्टेन्ट मात्र नभई एउटा इन्टरप्रेनर र कम्युनिटी सर्भिसमा सक्रिय व्यक्ति पनि हुँ ।

मैले नेपाल, इन्डिया, हङकङ, दुबई, युरोप र युकेको एकाउन्टिङ प्राक्टिस हेरेको छु । इन्डियाको तुलनामा नेपालको अवस्था उस्तै-उस्तै भए पनि इन्डिया धेरै अगाडि छ । उनीहरूको इकोनोमी डेभलप भएकोले लिस्टिङ रिक्वायरमेन्ट र ओभरसाइट बोर्डहरू विकसित छन्, जसले गर्दा प्रोफेसनलिजम बढी छ । दुबई र हङकङको लेभल पनि राम्रो छ तर युके, युरोप, अमेरिका, क्यानडा र अस्ट्रेलियाको जस्तो ‘वर्ल्ड बेस्ट प्राक्टिस’ को लेभलमा पुग्न अझै बाँकी छ ।

नेपाल र युकेको ग्याप एनालाइसिस गर्दा १० वटा जति मुख्य कमजोरीहरू देखिन सक्छन् । हामीले स्टेप-बाई-स्टेप ती मेथोलोजीहरू चेन्ज गर्दै जानुपर्छ । पढ्ने कुरा, अडिटिङ स्ट्यान्डर्ड र एकाउन्टिङ स्ट्यान्डर्ड संसारभरि एउटै हो, तर नेपालको कन्टेक्स्ट, कानुन र रेगुलेसन फलो गर्ने तरिका कमजोर भएकोले अडिट फाइलहरूमा त्यसको असर देखिन्छ ।

अडिट भनेको रेकर्डहरूको एक्जामिनेसन हो, जहाँ फाइनान्सियल स्टेटमेन्टको ‘ट्रु एन्ड फेयर भ्यु’ हेरिन्छ । नेपालमा हामी २००-३०० पानाको ‘इन्टरनल कन्ट्रोल डेफिसिएन्सी’ (आन्तरिक नियन्त्रणका कमजोरी) को प्रतिवेदन बनाउन बढी केन्द्रित हुन्छौं, जुन युके वा अमेरिकामा २-३ पानाको मात्र हुन्छ । हाम्रो मुख्य कमजोरी भनेको ब्यालेन्स सिटका एसेट वा लायबिलिटीको ‘एसर्सन बेस्ड टेस्टिङ’ र डकुमेन्टेसनको गहिराइमा नपुग्नु हो । हामीसँग अहिले त्यो लेभलको टुल र मेकानिजम छैन ।

नेपालको एनएफआरएस र आइएफआरएस एउटै लेभलमा भए पनि हाम्रो पारम्परिक शैलीका कारण ग्याप देखिएको हो । डेटा टेस्टिङ, लोन टेस्टिङ वा फिक्स्ड एसेटको टेस्टिङ जुन गहिराइमा हुनुपर्ने हो, त्यो हुन सकेको छैन । हाम्रा ह्युमन रिसोर्सेस कम्पिटेन्ट छन् (जसले गर्दा आउटसोर्सिङ सफल भएको छ), तर रुल्स, मोनिटरिङ, सफ्टवेयर र गाइडेन्स कमजोर हुँदा हामी पछाडि परेका हौं ।

नेपालको आईक्यानले सीए उत्पादन गर्छ भने एसीसीए ग्लोबल लेभलको छ । आईक्यान अलि बढी ट्रेडिसनल, हार्ड र कम्प्लेक्स छ, जहाँ पास पर्सेन्टेज निकै कम छ । कहिलेकाहीँ अननेसेसरी हार्ड गरिदिँदा विद्यार्थीको ‘सेल्फ स्टिम’ डाउन हुने समस्या छ । युकेको सीए वा एसीसीएमा ७०-८० प्रतिशत रिजल्ट आउँछ, जुन अलि फ्लेक्सिबल र डाइनामिक छ । पढ्नु मात्र ठुलो कुरा होइन, काम गर्नु र प्रब्लम सल्भ गर्नु ठुलो कुरा हो ।

अहिलेको नयाँ जेनेरेसनको इङ्लिस र आईटी स्किल मेरो पालाको भन्दा धेरै राम्रो छ । तर अब करिकुलममा आर्टिफिसियल इन्टेलिजेन्स, आईटी र साइबर सेक्युरिटी जस्ता नयाँ डाइमेन्सन कभर गर्नु जरुरी छ । इन्डियाका ८०% चार्टर्ड एकाउन्टेन्टहरू आईटी बेसमा काम गर्छन् । हामीले पनि आफूलाई ट्रेडिसनल एकाउन्टेन्टमा मात्र सीमित राख्नु हुँदैन ।

नेपालको इकोनोमीलाई रेमिटेन्स, एग्रिकल्चर र टुरिजमबाट अलि माथि उठाएर आईटी र आउटसोर्सिङमा लैजानुपर्छ । यस विषयमा खासगरी ३ क्षेत्रको कुरा गर्नु उचित हुन्छ ।

पहिलो इन्फरमेसन टेक्नोलोजी आउटसोर्सिङ (आईटीओ) । एप बनाउने, क्लाउड बेस्ड सर्भिस र आईटी हेल्पलाइनका लागि आईटीओ उचित हुन्छ ।

दोस्रो, बिजनेस प्रोसेस आउटसोर्सिङ (बीपीओ) । कल सेन्टर र कस्टमर सर्भिस (जस्तै एचएसबीसी वा भोडाफोनको फोन इन्डियामा उठ्छ, त्यस्तै नेपालबाट पनि गर्न सकिन्छ) का लागि बीपीओ उपयुक्त हुन्छ ।

र, तेस्रो नलेज प्रोसेस आउटसोर्सिङ (केपीओ) । केपीओको सहयोगमा फाइनान्स, एकाउन्टिङ र लिगल सर्भिसेसको काम हुन्छ।

नेपालमा अहिले पनि एकाउन्टिङको आउटसोर्सिङ राम्रोसँग भइरहेको छ । कोभिडपछि रिमोटली काम गर्ने मोडल डेभलप भएकोले नेपालजस्तो इकोनोमीलाई धेरै फाइदा भएको छ । यहाँ बसेर युके-अमेरिकाको जस्तै स्यालरी (२-५ लाख) सम्म कमाउन सक्ने अवस्था छ ।

नेपालसँग ‘पुल अफ ट्यालेन्ट’ अझै कम छ । कहिलेकाहीँ स्टाफ पुग्दैन र इन्डिया वा पाकिस्तानबाट रिक्रुट गर्नुपर्छ । हामीलाई बिग फोरमा ५-१० वर्ष काम गरेको अनुभवी म्यानपावरको खाँचो छ । नेपालमा अहिले एसोसिएटेड फर्महरू मात्र छन्, फुल मेम्बर फर्महरू आउन सकेका छैनन् किनकि त्यहाँको मेम्बरसिप फी तिर्न सक्ने इकोनोमी बनिसकेको छैन ।

मैले नेपाल सरकारको अर्थ मन्त्रालय, इन्भेस्टमेन्ट बोर्ड, ट्याक्स डाइरेक्टर जनरल र युके एम्बेसेडरसँग कन्टिन्युस डाइलग गरिरहेको छु । नेपाल र युकेबीच दोहोरो कर उन्मुक्ति सम्झौता (डीटीएए) गराउन लबिङ गरिरहेको छु । यो ट्रिटी भएमा इन्भेस्टमेन्ट ल्याउन सजिलो हुन्छ ।

अन्त्यमा, पावरफुल नेपाल बनाउनको लागि हाम्रो इकोनोमी स्ट्रङ हुनुपर्छ । प्रत्येक क्षेत्रका विज्ञले आ-आफ्नो ठाउँबाट योगदान दिनुपर्छ । हामीले गफ गर्ने र चिया खाएर समय बिताउने ‘हाकिम कल्चर’ त्यागेर ‘काम गर्ने कल्चर’ डेभलप गर्नुपर्छ । इन्डियामा ७० वर्षका सीएहरू पनि बिहान ८ देखि बेलुका ८ बजेसम्म १२ घण्टा खटेर काम गर्छन् । हामीकहाँ सार्वजनिक बिदा धेरै (५२-५३ वटा) छन्, जसले गर्दा क्वालिटी कमजोर हुन्छ ।

नेपालीको कामप्रति इथिक्स, प्रोफेसनलिजम, एटिट्युड र शैलीमा परिवर्तन ल्याउन जरुरी छ । घरघरमा चार्टर्ड एकाउन्टेन्ट हुन्, केवल बीकम मात्र गरेर नबसून् भन्ने मेरो चाहना हो । हामीले आफ्नो प्रोफेसनलिजम र क्वालिटी देखाउन सक्यौं भने मात्र विश्वसँग प्रतिस्पर्धा गर्न सक्छौं । पावरफुल फ्युचर अफ नेपालको लागि यही नै मेरो प्रतिबद्धता र मार्गचित्र हो ।

(सीए कृष्ण प्रसाद दाहालसँग क्लिकमान्डुले केही समयअघि गरेको कुराकानी ।)