इरान युद्धको राप: संसारभरि रित्तिँदै तेलका भण्डार, संकटले लिँदै भयावह रूप

सेप्टेम्बरसम्म हर्मुज नखुले संसारको भौतिक आपूर्ति प्रणाली नै ध्वस्त हुने


काठमाडौं । इरान युद्धका कारण तेलको संकट झन् झन् गहिरिँदै गएको छ । युद्ध सुरु भएदेखि संसारभरिका देशले दैनिक ४८ लाख ब्यारल तेल आफ्नो आपतकालीन भण्डारबाट खर्च गरिरहेका छन् ।

आधुनिक इतिहासको कुनै पनि संकटमा यति धेरै तेल यति छिटो रित्तिएको कहिल्यै देखिएको थिएन । युद्ध अन्त्य भई हर्मुज जलयोजक खुल्नेबित्तिकै तेलको मूल्य घट्ने धेरै मानिसलाई लागेको छ । तर, वास्तविकता यसको ठीक उल्टो छ किनभने यो जलमार्ग खुल्दासम्म संसारभरिको तेल भण्डार इतिहासकै सबैभन्दा न्यून स्तरमा पुगिसकेको हुनेछ ।

हर्मुज जलयोजक विगत दुई महिनादेखि लगभग बन्द अवस्थामा छ । संसारको कुल तेल आपूर्तिको ठूलो हिस्सा यही साँघुरो समुद्री मार्ग भएर जान्छ ।

यहाँबाट तेलको प्रवाह रोकिँदा संसारका सबै देशहरूले जोगाएर राखेको आपतकालीन तेल भण्डार चलाउन थाले । संसारमा ठूलो युद्ध वा संकट आउँदाको समयका लागि यो तेल जम्मा गरिएको थियो र अहिले त्यो संकट आएको छ ।

पाकिस्तानको तेल भण्डार अब मात्र २० दिनका लागि पुग्ने अवस्थामा झरेको छ । इन्डोनेसिया, भियतनाम र फिलिपिन्स जस्ता देशहरूका भण्डार पनि अब केही हप्तामै रित्तिने अवस्थामा छन् ।

युरोपमा हवाई जहाजमा प्रयोग हुने इन्धनको मौज्दात युद्ध सुरु भएदेखि ३३ प्रतिशतले घटिसकेको छ । विडम्बना के छ भने केही हप्तामै युरोपमा गर्मी मौसमको उडान सिजन सुरु हुँदैछ, तर विमान उडाउनका लागि पर्याप्त तेल छैन ।

विश्वको सबैभन्दा शक्तिशाली मानिने अमेरिकाको आपतकालीन तेल भण्डार पनि सन् १९८२ यताकै सबैभन्दा न्यून विन्दुमा पुगेको छ ।

यस संकटलाई टार्नका लागि अन्तर्राष्ट्रिय ऊर्जा एजेन्सीका सदस्य राष्ट्रहरूले इतिहासकै सबैभन्दा ठूलो मात्रामा तेल बजारमा पठाएका छन् ।

कुल ४० करोड ब्यारल तेल बजारमा पठाइएको छ तर यो पनि पर्याप्त भइरहेको छैन । संसारले तेल खपत गर्ने दर सरकारले बजारमा पठाएको दरभन्दा धेरै बढी भइदियो । यही बेला जापानले एउटा यस्तो बाटो रोज्यो जसले सबैलाई झस्काइदिएको छ ।

जापान तेल भण्डारणको मामिलामा संसारकै सबैभन्दा बलियो देश मानिन्छ । उससँग ४७ करोड ब्यारल तेल थियो जुन उसको २५४ दिनको खपतका लागि पर्याप्त हुन्थ्यो । विगत ४८ वर्षमा धेरैपटक तेलको संकट आएको भए पनि जापानले आफ्नो यस भण्डारलाई कहिल्यै ठूलो मात्रामा चलाएको थिएन ।

भोलि नै हर्मुज जलयोजक खुल्यो भने पनि स्थिति सामान्य हुने छैन । जलमार्ग खुल्नेबित्तिकै संसारका सबै देशहरू एकैपटक आफ्नो रित्तिएको भण्डार भर्न बजारमा दौडिनेछन् । यसले गर्दा बजारमा तेलको माग धेरै बढेर मूल्य युद्धको समयमा भन्दा पनि माथि पुग्न सक्छ

तर, मार्च १६ मा जापानले त्यो भण्डार खोल्यो र इतिहासकै सबैभन्दा ठूलो तेलको मात्रा बजारमा पुर्यायो । अझ अचम्मको कुरा त के छ भने त्यसको नौ दिनपछि जापानले आफ्नो साप्ताहिक इन्धन तथ्यांक छाप्न नै बन्द गरिदियो । पेट्रोल, डिजेल, हवाई इन्धन र मट्टितेलको भण्डार कति छ भन्ने विवरण अब सार्वजनिक गरिँदैन ।

जापान सरकारले आपूर्ति संरचना परिवर्तन भएकोले तथ्यांकको शुद्धता ग्यारेन्टी गर्न नसकिने बहाना बनाएको छ । तर, यसको सीधा अर्थ के हो भने जापानको तेल भण्डारको अवस्था निकै खराब भएका कारण सरकारले त्यो देखाउनै चाहेको छैन । मे १० सम्म आइपुग्दा जापानले आफ्नो वास्तविक अवस्था लुकाएको साढे ६ हप्ता भइसकेको छ ।

भोलि नै हर्मुज जलयोजक खुल्यो भने पनि स्थिति सामान्य हुने छैन । जलमार्ग खुल्नेबित्तिकै संसारका सबै देशहरू एकैपटक आफ्नो रित्तिएको भण्डार भर्न बजारमा दौडिनेछन् । यसले गर्दा बजारमा तेलको माग धेरै बढेर मूल्य युद्धको समयमा भन्दा पनि माथि पुग्न सक्छ ।

विश्लेषकहरूका अनुसार, संसार अहिले एउटा यस्तो अवस्थामा छ जहाँबाट तीनवटा बाटा देखिन्छन् । पहिलो, आगामी जुन महिना अगावै जलमार्ग खुल्यो भने क्षति केही कम हुन सक्छ ।

दोस्रो, सेप्टेम्बरसम्म पनि बाटो खुलेन भने संसारको भौतिक आपूर्ति प्रणाली नै ध्वस्त हुनेछ । र तेस्रो, जलमार्ग खुले पनि भण्डार भर्ने होडबाजीले गर्दा मूल्य निकै उच्च रहनेछ ।

संसारभरि अहिले एउटा देशपछि अर्को देशमा संकटको ‘डोमिनो प्रभाव’ देखिएको छ । यो दिनदिनै बिग्रँदै गएको छ । आजको मितिमा विभिन्न देशको अवस्था हेर्ने हो भने डरलाग्दो चित्र देखिन्छ ।

श्रीलंकामा इन्धनका लागि क्यूआर कोड प्रणाली लागू गरिएको छ । सरकारी कार्यालय र विद्यालयहरू तेल जोगाउनका लागि बन्द जस्तै छन् । पाकिस्तानमा हप्ताको चार दिन मात्र काम गर्ने नियम लगाइएको छ र बजारहरू चाँडै बन्द गर्ने गरिएको छ ।

भारतमा जम्मा ६ देखि १० दिनलाई पुग्ने रणनीतिक तेल बाँकी छ । प्रधानमन्त्री नरेन्द्र मोदीले भारतीयहरूलाई भ्रमण रोक्न र सकेसम्म घरैमा बसेर काम गर्न अनुरोध गरेका छन् । जनतालाई सस्तो तेल दिनुपर्दा भारतका तेल कम्पनीहरूले दिनको १७०० करोड भारुको घाटा सहिरहेका छन् ।

विश्लेषकहरूका अनुसार, संसारले अहिलेसम्म त ट्रेलर मात्र देखेको हो । वास्तविक ऊर्जा संकट त अझै सुरु हुनै बाँकी छ ।
जापान जस्तो व्यवस्थित देशले तथ्यांक लुकाउनु भनेको संसारकै लागि ठूलो चेतावनी हो

दक्षिण कोरियामा जोर–बिजोर प्रणाली लागू गरिएको छ । युरोपका बेलायत, जर्मनी र फ्रान्स जस्ता देशहरूले इन्धनमा लाग्ने कर घटाएर जनतालाई राहत दिन खोजिरहेका छन् तर मूल्य अझै आकाशिरहेको छ ।

दक्षिण अफ्रिका, टर्की र ब्राजिल जस्ता देशहरूले पनि तेलको मूल्य थाम्न अनुदान र कर छुट दिएका छन् । अस्ट्रेलियामा ‘हरेक सानो प्रयासले मद्दत गर्छ’ भन्ने अभियान चलाइएको छ । त्यसअन्तर्गत ड्राइभिङ स्पीड घटाउन, कारहरूमा अतिरिक्त भार कम गर्न र सकेसम्म सार्वजनिक यातायात उपयोग गर्न लगाइँदैछ ।

अर्कोतिर चीनले भने आफ्नो तेल भण्डारको मात्रा लुकाएर राखेको छ । चीनले तेल निर्यातमा प्रतिबन्ध लगाएको छ र आफ्नो देशभित्रको मूल्य नियन्त्रण गरिरहेको छ ।

हर्मुज नाकाबन्दी भएको ७० दिन बितिसकेको छ र विश्व बजारबाट २० प्रतिशत तेल गायब भइसकेको छ । दैनिक ८० लाख ब्यारल तेलको अभाव छ । ओपेक राष्ट्रहरूले तेल उत्पादन बढाउन खासै चासो देखाएका छैनन् ।

विश्लेषकहरूका अनुसार, संसारले अहिलेसम्म त ट्रेलर मात्र देखेको हो । वास्तविक ऊर्जा संकट त अझै सुरु हुनै बाँकी छ ।
जापान जस्तो व्यवस्थित देशले तथ्यांक लुकाउनु भनेको संसारकै लागि ठूलो चेतावनी हो ।

त्यसैले इरान युद्ध पश्चिम एसियामा मात्र सीमित छैन । यसले संसारको हरेक व्यक्तिको भान्सा र यातायातलाई असर गरिसकेको छ । अबको केही हप्ता संसारका लागि निकै निर्णायक हुने देखिएको छ ।